दर्जन बैंकको घट्यो नाफा

दर्जन बैंकको घट्यो नाफा

काठमाडौं : वाणिज्य बैंकको नाफा सामान्य मात्रै बढेको छ। चालू आवको पहिलो त्रैमासमा २६ वाणिज्य बैंकको नाफा वृद्धि ५.९४ प्रतिशत छ। जबकि गत वर्ष सोही अवधिमा नाफा २४ प्रतिशतले वृद्धि भएको थियो। वित्तीय प्रतिवेदनअनुसार बैंकले १८ अर्ब ७५ करोड ६८ लाख १७ हजार रुपैयाँ कमाएका छन्। 

यसैबीच २६ वाणिज्य बैंकमध्ये १४ वटाले नाफा बढाएका छन्। दर्जनभन्दा बढी बैंकको नाफा वृद्धि भने घटेको छ। जबकि गत आवको पहिलो त्रैमासमा ४ वटा बैंकको मात्रै नाफा वृद्धि घटेको थियो। यसपटक नाफा बढाउनेभन्दा घटाउनेको संख्या बढेकाले समग्रमा बैंकको नाफा वृद्धि सामान्य मात्रै देखिएको हो। 

कुल नाफा बढी हुनेमा एनआईसी एसिया, नबिल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट र कुमारी बैंक छन्। यी प्रत्येक बैंकको एक अर्ब रुपैयाँ माथि छ। गत आवमा इन्भेस्टमेन्ट बैंकबाहेकका सो बैंक अग्रपंक्तिमा थिए। सबैभन्दा बढी नाफा एनआईसी एसियाले कमाएको छ। असोजसम्म १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ हाराहारी नाफा गर्न सफल भएको छ। 

गत वर्षको तुलनामा ४८.७९ प्रतिशतले बैंकको नाफा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ हाराहारी नाफा कमाएको थियो। कर्जा प्रवाह र निक्षेप संकलनमा आक्रामक भएर लागेअनुसार नाफा पनि गर्न सफल भएको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँको भनाइ छ। उनका अनुसार ठूला ऋणीभन्दा साना ऋणी बढी भएको र समयमै ब्याज तथा किस्ता तिरेकाले धेरै नाफा कमाउन सफल भएको हो। 

यसैगरी, दोस्रो बढी नाफा गरेको नबिलले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ कमाएको छ।  अघिल्लो आवको असोजसम्म १ अर्ब ११ करोड २२ लाख ३५ हजार रुपैयाँ कमाएको थियो। यस आवमा बैंकको नाफा वृद्धि ४१.३० प्रतिशत छ। 

  •     नाफामा दबाब, कुल नाफावृद्धि ६ प्रतिशत
  •     अधिकांश बैंकको निष्क्रिय कर्जा बढ्यो
  •     बढी नाफा गर्नेमा : एनआईसी एसिया, नबिल, ग्लोबल
  •     बढी नाफा वृद्धि गर्नेमा कुमारी अगाडि

यसैगरी, ग्लोबल आईएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ। गत आवमा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ कमाएको थियो। गत वर्षको तुलनामा ६.९५ प्रतिशत वृद्धि गरेको छ। यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड नाफा कमाएको छ। गत आवमा १ अर्ब ५ करोड कमाएको थियो। यो गत वर्षभन्दा १८.६६ प्रतिशतले बढेको हो। यस्तै नेपाल इन्भेस्टमेन्टको नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको छ। गत आवमा ९२ करोड हाराहारीमा थियो। यसपछि कुमारी बैंकले १ अर्ब १४ लाख कमाएको छ। गत वर्षको भन्दा ८५.०७ प्रतिशतले बढी हो। गत वर्ष ५४ करोड नाफा गरेको कुमारी बैंकले यस वर्ष नाफावृद्धिमा छलाङ मारेको छ। यो बैंकले असोज मसान्तसम्ममा सबैभन्दा बढी नाफा वृद्धि गर्न सफल भएको तथ्यांकले देखाएको छ।  

गत आवको सो अवधिमा अर्ब बढी नाफा गरेको एनएमबी बैंक यस पटक भने ९० करोड ४१ लाख रुपैयाँ नाफामा खुम्चिनु परेको छ। सो बैंकको नाफा वृद्धि १३.४३ प्रतिशतले घटेको छ। प्रवाह भएको प्रायः कर्जाको प्रोभिजनिङ बढाएकाले पहिलो त्रैमासमा बैंकको नाफा घटेको एनएमबीका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बताए। निष्क्रिय कर्जा बढेको भन्दा पनि भोलिको दिनमा कर्जा बिग्रिन सक्ने भएकाले त्यसलाई प्रोभिजनमा बढाएर बैंक कन्जरभेटिभ भएको उनको तर्क छ। ‘बजारमा तरलता कसिलो छ।  भोलिको दिनमा अवस्था गाह्रो हुन सक्ने भएकाले बैंक कन्जरभेटिभ भएर कर्जाको प्रोभिजनिङ बढाएर राखेकाले नाफा वृद्धिमा दबाब परेर घटेको हो,’ उनले अन्नपूर्णसँग भने। 

यससँगै अन्य बैंकले पनि अर्बभन्दा कम नाफा गरेका छन्। प्राइम बैंकले ८७ करोड, सिद्धार्थले ४९ करोड, मेगा बैंकले ५० करोड रूपैयाँ नाफा गरेका छन्। नेपाल बैंकले ६० करोड ४० लाखबराबरको नाफा गर्न सफल भएको छ। यो बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.९७ प्रतिशतले घटेको छ। 

यसैगरी सिटिजन्स इन्टरनेसनलले ५० करोड, प्रभुले ७० करोड, एभरेस्टले ८६ करोड, सानिमाले ५४ करोड नाफा गरेको छ। यसैगरी, माछापुच्छ«ेले ४५ करोड,  लक्ष्मीले ५० करोड, नेपाल क्रेडिट एन्ड कमर्सले ५१ करोड कमाएका छन्। कृषि विकास बैंकले २२ करोड, स्ट्यान्डर्ड चार्टर्डले ८१ करोड, हिमालयनले ५३ करोड, सनराइजले १६ करोड, नेपाल एसबीआईले ६२ करोड,  सिभिलले ४१ करोड, सेन्चुरी बैंकले ३१ करोड र बैंक अफ काठमाडौंले  २८ करोड नाफा गरेका छन्।

समग्रमा बैंकको नाफा सामान्य भए पनि १२ वटा वाणिज्य बैंकको भने गत वर्षको तुलनामा वृद्धिदर घटेको छ। गत वर्ष ४३ करोड नाफा गरेको सनराइजले यस पटक १६ करोड मात्रै नाफा गरेको छ। गत वर्षको तुलनामा साढे ६१ प्रतिशत घटेको तथ्यांकमा उल्लेख छ। यसबाहेक कृषि विकास, मेगा, सिटिजन्स, माछापुच्छ«ेलगायतका दर्जन बैंकको नाफा वृद्धिमा संकुचन आएको छ। 

यस पटक अधिकांश बैंकको निष्क्रिय कर्जा बढेका कारण पनि नाफा वृद्धि प्रभावित भएको देखिन्छ । किनभने यस अवधिमा तीन बैंक बाहेकको निष्क्रिय कर्जा बढेको छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको यस्तो कर्जा घटेको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा सनराइजको २.९४ प्रतिशत छ। यो गत गत आवभन्दा १.८१ प्रतिशत बिन्दु बढी हो। यस्तो निष्क्रिय कर्जा बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज २२ करोड ७० लाख रुपैयाँबाट बढेर ६९ करोड ७६ लाख रुपैयाँ पुगेको देखिन्छ। जसले गर्दा बैंकको कुल नाफा  घटेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.