रसुवामा बस दुर्घटना : ९ यात्रु घाइते
नुवाकोट : रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ। कालिका गाउँपालिका-३ मा कालिकास्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।
घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौंमा उपचार भइरहेको छ। गम्भीर घाइतेको काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सडकमार्गमा अनियन्त्रित भई कान्तिपुर यातायातको बा ३ ख ६०३५ नं. को यात्रुबस कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ। बसमा तिहार मनाएर नुवाकोट र काठमाडौं जांदै गरेका यात्रु रहेको बताइएको छ।
प्रहरीले बसका सहचालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दको भनाई छ। घाइतेहरूलाई दुर्घटनापछि उद्धार गरि स्थानीय मेडिकल, त्रिशूली अस्पताल तथा काठमाडौं पठाएर उपचार भइरहेको बताइएको छ।
बसका चालक भने दुर्घटनापछि फरार रहेका छन्। ४ जना घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको छ। घाइतेहरुको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ। सामान्य घाइतेहरु उपचारपछि घर फर्किएका छन्।