कारको ठक्करबाट रुपन्देहीमा एक महिने शिशुसहित तीन जनाको मृत्यु, दुई घाइते
भैरहवा : रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। सोमबार बिहान घरबाट नजिकैको छठ घाटमा जाने क्रममा सवारी दुर्घटना भएको हो।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डोगो कारले ठक्कर दिँदा रुपन्देही ओमसतिया–४ पननीको एक महिने शिशुसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीया सीमा कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए। त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र ३५ वर्षीया मन्जु कुर्मी घाइते भएका छन्।
घाइतेहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको डीएसपी अर्यालले बताए। ठक्कर दिएर फरार भएको कार र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा परेका व्यक्तिहरुमध्ये ४ जना एकै परिवारका हुन् भने एक जना सोही परिवारको आफन्त हुन्।