५२ मतदानस्थल अति संवेदनशील
नुवाकोट : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा मतदान स्थलको वर्गीकरण गरिएको छ। मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको छ।
दुई प्रतिनिधि सभा चार प्रदेश सभा क्षेत्र रहेको पहाडी संरचना रहेको नुवाकोटका एकसय ३२ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशीलमा परेका छन्। सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो।
जिल्ला सुरक्षा समिति नुवाकोटले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। नुवाकोटमा १३२ मतदानस्थलमा २८८ मतदान केन्द्र कायम गरिएका छन्।
नुवाकोटमा ५७ मतदानस्थललाई संवेदनशील र २३ मतदानस्थललाई सामान्यमा राखिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।
उनका अनुसार अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ।
नुवाकोटमा कुल १३२ मतदानस्थल छन्। जसमा २८८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए।
गौतमका अनुसार नुवाकोटभर कुल दुई लाख ३९ हजार ७२६ मतदाता रहेका छन्। मतदातामध्ये महिला एक लाख १५ हजार ७२२ जना रहेका छन्।
क्षेत्र नं. १ मा एक लाख २० हजार ७५२ र क्षेत्र नं. २ मा एक लाख १८ हजार ९७४ जना मतदाता रहेका छन्। यो गत वैशाख ३० गतेको निर्वाचनका मतदाताभन्दा दुई हजार २५० जना बढी मतदाता संख्या हो।