नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने सहमति
![नेपाल-भारत सीमा ७२ घण्टा सिल गर्ने सहमति](https://annapurnapost.prixacdn.net/media/albums/Raxaulmeeting1_20221101194405_knFj67klVA.jpg)
वीरगन्ज : आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा ७२ घण्टाका लागि सिल गरिने भएको छ।
भारत बिहारको रक्सौलमा मंगलबार बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले निर्वाचनका लागि मंसिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो।
भारतको बिहारसँग जोडिएका पर्सा, बारा, चितवन र नवलपरासी जिल्लाका सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।
उनका अनुसार दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू सम्मिलित बैठकमा नेपालमा मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण र सफलता पूर्वक सम्पन्न गराउनका लागि दुवै देशका सुरक्षा अधिकारीहरूले सक्दो सहयोग गर्ने सहमति पनि भएको छ।
यस्तै बैठकमा सीमा वारपार हुने जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, आपराधिक गतिविधि र नेपालबाट भारतको बिहारमा हुने मदिराको तस्करी नियन्त्रणका लागि पनि एक अर्काले सहयोग गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
बैठकमा नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादु्र कटुवाल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतको सहभागीता थियो।
यस्तै बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी चम्पारण जिल्ला अधिकारी कपिल अशोक, मोतिहारीका पुलिस अधीक्षक डाक्टर कुमार आशीष, मोतिहारीका उपविकास आयुक्त समीर सौरभ, मोतिहारीकै अनुमंडल पदाधिकारी श्रेष्ठ अनुपम, रक्सौलका एसडीपीओ चन्द्र प्रकाश, बेतियाका पुलिस अधीक्षक उपेन्द्रनाथ बर्मा, बगहाका पुलिस अधीक्षक किरण कुमार गोरख लगायतको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)