बदर मत घटाउन नमूना मतदान
नुवाकोट : नुवाकोटमा बुधबार नमूना मतदान गरिएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको तयारी स्वरूप नमूना मतदान गरिएको हो।
पहिलो चरणमा विदुर नगरपालिकाको गेर्खुटारमा गरिएको नमूना मतदानमा ९० मत खसेकोमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच मत बदर भएको थियो।
नुवाकोटमा गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा नौ प्रतिशत मत बदर भएको थियो। नुवाकोटमा बदर मत न्यूनीकरण गर्न नमूना मतदान कार्य सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।
मतदानमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मदनबहादुर धामी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रहरी नायव उपरीक्षक रूपक खड्का, जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतम, शिक्षक, सर्वसाधारण, जनप्रतिनिधि तथा पूर्व प्रशासकहरूको सहभागिता रहेको थियो।
मतदानमा मतदान प्रक्रिया, सुरक्षा अवस्था, प्रत्यक्ष तथा समानुपातिक मतदान प्रक्रियाका बारेमा जानकारी गराइएको थियो। नमूना मतदान आगामी मंसिर १ गतेसम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए।
निर्वाचन शान्त, प्रभावकारी र निष्पक्ष रूपमा सम्पन्न गर्न नमूना मतदान प्रभावकारी हुने नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।