मन्दिरमा चिच्याएर आर्शिवाद माग्ने अनौठो चलन
तानसेन: तपाइँ मन्दिरमा कतिको जानु हुन्छ ? जाँदा केही वर माग्नुभएको छ ? वा भक्तजनले मागेको वर सुन्नुभएको छ? सायदै छैन । किनभने भक्तजनले प्राय: मन्दिरमा गएर आफूले मान्ने भगवानसँग मनमनै वरदान माग्ने गरेका हुन्छन् ।
तर पाल्पामा एक यस्तो मन्दिर छ जहाँ भक्तजनले मनमनै होइन चिच्याएर वरदान माग्छन् । तिनाउँ गाउँपालिका वडा नं ४ सत्यवती बज्यैसँग परम्परादेखि नै भक्तजनले चिच्चाएर वर माग्दै आएका छन ।
सत्यवती बज्यै कानले नसुन्ने भएकोले भक्तजनले चिच्याएर वर माग्नु पर्ने प्रचलन छ । सत्यवती बज्यैसँग सन्तान नभएका दम्पत्ती छोरा छोरी माग्न, युवा युवती राम्रो जीवनसाथी माग्न, रोगीले रोग निको होस भन्ने वर माग्न मन्दिर परिसर पुग्छन् । त्यहाँ वर माग्न चिच्याउनेको आवाजले मन्दिर गुञ्जयमान हुने गरेको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
सत्यवती बज्यै कानले नसुन्ने भएकोले भक्तजनले चिच्याएर वर माग्नु पर्ने चलन चल्ती रहदै आएको मन्दिरका पुजारी सुनवीर गाँहाले बताए ।

यो वर्ष कार्तिक १८ देखि २२ गतेसम्म सत्यवती बज्यैको मन्दिरमा चिच्चाएर वर माग्ने साईत जुरेपछि भक्तजन एकादशीदेखि नै मन्दिरमा पुगेक थिए । विगतका २ वर्ष कोरोना संक्रमणले भक्तजनमा कमी देखिए पनि यो वर्ष सत्यवती बज्यैको दर्शन तथा पूजा गर्न ३ लाख बढी भक्तजनहरु मन्दिर पुगेका छन् ।
भाकल गरेपछि आफ्ना माग पूरा भएपछि प्रत्येक वर्ष कार्तिके पुर्णीमामा सत्यवती बज्यैको दर्शन गर्न आउने गरेको तानसेन ८ मदनपोखराकी सरस्वती नेपालले बताईन।
विगतका वर्षमा कार्तिक चर्तुरदशीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा बास बस्ने, पूजा गर्ने बिहान चिच्याएर वर मागेर फर्कने गरेका छन् । तर अहिले केही फेरिएको छ । अहिले शुक्लपक्षको कार्तिक एकादशीदेखि पुर्णीमासम्म रातदिन सत्यवती बज्यैको पूजा गरी चिच्याएर वर माग्ने चलन छ ।
सत्यवती बज्यैको दर्शन र पूजा गर्दा परिवारमा राम्रो भएकाले फेरी दर्शन गर्न आएको दर्शनार्थी सीता बुढा क्षेत्रीले बताईन ।
सत्यवती बज्यैप्रतिको आस्था बढेसँगै दर्शनार्थी आउनेक्रम बढेपछि सत्यवती कोल्डाँडा क्षेत्रका स्थानीयको आम्दानी पनि बढेको छ ।
सत्यवती वडा कार्यालय तथा मन्दिर व्यवस्थापन समितिले प्रत्येक वर्ष मन्दिरमा संकलन हुदै आएको रकम ताल संरक्षण र मन्दिरको व्यवस्थापनदेखि गाउँपालिकालाई सहयोग गर्दै आएको मन्दिरका संरक्षक दानबहादुर गाहाले बताए ।

प्रतिक्रिया दिनुहोस !