समिट एयरबाट डोल्पा जान बोर्डिङपास लिएका यात्रु नेपाल एयरलाइन्सबाट मुगु पुगेपछि...
मुगु : नेपाल एयरलाइन्सको लापरवाहीका कारण डोल्पा जाने यात्रु मुगु पुगेका छन्। डोल्पाको जुफाल विमानस्थलमा जान लागेका डोल्पाको ठूलो भेरी नगरपालिका-५ की राजकुमारी बुढा र उनको दुधे बालक मुगु पुगेका हुन्।
उनी समिट एयरलाइन्सबाट जानका लागि बोर्डिङ पास लिएर बसेका थिए। बिहान ६ बजे नेपालगंजबाट रारा विमानस्थलमा उडेको नेपाल एयरलाइन्सको ७ सय ३४ नम्बरको उडानमा डोल्पाको जुफाल विमानस्थलका लागि समिट एयरमा जाने यात्रुका आमाछोरालाई नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुर्याएको हो।
सोही समयमा मुगुको रारा विमानस्थलका लागि उडानको तयारी भएको नेपाल एयरलाइन्समा जान लागेका उनीहरू समिट एयरलाइन्समा चढ्न पुगेका थिए।
नेपाल एयरलाइन्सले रारा र समिट एयरलाइन्सले डोल्पा उडान गर्ने समय एउटै थियो। एकै समयमा उडान भर्न लागेका विमानमा जाँदै गरेका यात्रु झुक्किएर अर्को विमानमा चढ्न पुगेका थिए।
यसमा कर्मचारीले हेर्नुपर्नेमा राम्रोसँग नहेरेका कारण सो गल्ती हुन पुगेको हो। एक जना यात्रु नपुगेको भनेर समिट एयरलाइन्सका कर्मचारीले समेत सोधीखोजी गर्नुपर्ने हो।
दुवै एयरलाइन्सको कमजोरी भएको नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका इन्चार्ज हेमराज सिंहले जानकारी दिए।
एयरलाइन्सका बोर्डिङ्ग पास चेक गर्ने र काउन्टर चेक गर्ने दुवै कर्मचारीलाई सचेतताका लागि पत्र लेखिएको उनले जानकारी दिए। मुगुको रारा विमानस्थल पुगेका दुवैलाई तारा एयरमार्फत नेपालगञ्ज ल्याइएको छ।
बुढा अहिले आफ्नो छोरासहित बेखर्ची भई नेपालगञ्जको राँझा विमानस्थलमा बसेका उनका आफन्तले जानकारी दिएका छन्।