आठौंपटक चुनावी मैदानमा केसी

आठौंपटक चुनावी मैदानमा केसी

 नुवाकोट : जीवनको अधिकांश समय राजनीतिमा बिताएका अर्जुननरसिंह केसी नेपालको राजनीतिमा चार युगका साक्षी हुन्। ७६ वर्षीय केसीले विद्यार्थी कालदेखि नै राजनीति सुरु गरेका थिए। उनले सानै उमेरमा नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्य जितेर २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री भए। 

उनी देशमा प्रजातन्त्र स्थापनापछि शिक्षा, स्वास्थ्य र सहरी विकासमन्त्री भइसकेका छन्। सानै उमेरमा मन्त्री भएका केसीले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजय व्यहोरे। उनलाई त्यसबेला जितसिंह खड्काले पराजित गरे। जनताको नीतिलाई बुझेका केसीले तत्काल मनस्थिति र परिस्थिति दुवै परिवर्तन गरी २०४४ सालमा राजधानीबाट जिल्ला पञ्चायत नुवाकोटको चुनावमा विदुर फर्किएर भाग लिए। राज्यमन्त्री भइसकेका केसी जिल्ला पञ्चायतको सभापतिमा विजयी भए। जितसिंह खड्का पनि नुवाकोटको प्रतिनिधित्व गर्दै आफ्नो जीवनमा सामान्य प्रशासनमन्त्री भएर नेपालको राजनीतिको केन्द्रमा पुगे। 

केसीसँगै त्यसबेला जिल्ला पञ्चायतको उपसभापतिमा विजयी भएका थिए बेलकोटका रामप्रसाद ढुंगाना। दुवै जनाले त्यसबेला ३ वर्ष एकसाथ जिल्ला पञ्चायत नुवाकोट चलाए। समयको मागअनुसार देशमा २०४६ सालमा बहुदलका लागि जनताको साथ लिएर दलहरूको आन्दोलन सुरु भयो। केसी त्यसबेलाको सरकारले गठन गरेको जिल्ला आन्दोलन प्रतिकार समितिको संयोजक तथा ढुंगाना उपसंयोजक समेत भए। जनताले आन्दोलन गरे, पञ्चायत ढल्यो। आन्दोलन सफल भयो। देशमा बहुदल आयो। कांग्रेस, एमालेलगायतका दलहरूको पक्षमा जनलहर उचालियो। समयको चक्रसँगै सूर्यबहादुर थापाले विश्वास गरेर केसीलाई राप्रपा थापाको महामन्त्री पद थमाए। तर, समयलाई बुझेका केसीले त्यसबेला सो पद नसम्हाल्दै आफ्नो राजनीतिक जीवनमा युटर्न गरे। अनि कांग्रेस प्रवेश गरे। 

उनका उपसभापति ढुंगाना भने पृथ्वी घुमेझै एक फन्को घुमे अनि भए पञ्चबाट सोझै कम्युनिष्ट अगुवा। हाल भने माओवादीका पुराना र पाका नेतामा गनिने ७० वर्षीय ढुंगाना यतिखेर सत्ता गठवन्धनबाट नुवाकोट २ को १ मा प्रदेशसभा उम्मेदवार छन्। ढुंगानाको प्रतिस्पर्धीमा एमालेका बागमती प्रदेश अध्यक्ष तथा बागमतीका पूर्वकानुनमन्त्री केशवराज पाण्डे छन्। पाण्डे आफू युवा पुस्ता तथा विकास तथा परिवर्तनप्रेमी जनताको साथ पाएको बताउँछन्। 

यता, नेता केसी भने प्रतिनिधिसभामा सत्ता गठवन्धनबाट नुवाकोट २ मा आठौंपटक उम्मेदवार भएका छन् । उनले आफ्नो जीवनमा चारपटक विजयी र चारपटक पराजय भोगेका हुन्। केसीले २०३८ मा विजय पाउँदा २०४३ सालमा पराजय व्यहोरेका थिए। पराजय भएपछि जिल्ला पञ्चायतको सभापति भएर काम गरेका केसी देशमा २०४७ कात्तिक २३ गते जारी भएको नयाँ संविधानअनुसार २०४८, २०५१ को निर्वाचन नुवाकोट ३ वाट जिते भने २०५६ को निर्वाचनमा एमालेका महेन्द्रबहादुर पाण्डेसँग पराजित भए। 

क्षेत्र परिवर्तन गरेर नुवाकोट १ मा पुगेका केसी अन्तरिम संविधानअनुसार भएको २०६४ को पहिलो संविधानसभामा माओवादीकी विमला सुवेदीसँग पराजित भए भने २०७० को दोस्रो संविधानसभामा उनै सुवेदीलाई पराजित गरेर सहरी विकासमन्त्रीसमेत भए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडासँग पराजित भएका केसी आफ्नो चुनाव अन्तिम भएको बताउँदै पूर्वसहकर्मीहरूसँग मत माग्दै यतिखेर जनताको घरदैलोमा पुगिरहेका छन्। उनी यत्तिखेर आफू सभापति हुँदाका पूर्वसहकर्मी अर्थात् तत्कालीन जिल्ला पञ्चायतका उपसभापति रामप्रसाद ढुंगानासँगै मत माग्दै एकसाथ हिँडिरहेका छन्। अझै रोचक विषय, केसीलाई पराजित गरेकी र उनले पराजित गरेका विमला सुवेदी पनि उनीहरू सँगसँगै मतदातालाई  भेटिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.