बारा ४ का स्वतन्त्र उम्मेदवार वाग्लेलाई मत माग्दै प्रभु साह
सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको फेटामा सम्पन्न चुनावी सभामा पूर्वमन्त्री प्रभु साह सहभागी भएका छन् ।
वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न पूर्वमन्त्री साह बारा आएका हुन् ।
नेपाली कांग्रेसका अगुवा नेता वाग्लेले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि बारा ४ को चुनावी रौनक बढ्दो छ । कांग्रेसको बलियो जनमत रहेको क्षेत्रमा एकीकृत समाजवादीका किसान श्रेष्ठले टिकट पाएपछि असन्तुष्ट हुँदै वाग्लेले उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रचारलाई तीव्र पारेका वाग्लेको सभामा उपस्थित भएर पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे । साहले वाग्लेको जितपछि बारा ४ को विकासका लागि आफूले पनि सहयोग गर्ने बताए ।
होटल तथा पर्यटन व्यवसायमार्फत यस क्षेत्रको विकासका लागि वाग्लेको योगदान अहम रहेको भन्दै साहले वाग्लेको जित यस क्षेत्रको विकासका लागि अति आवश्यक रहेको बताए ।
सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए ।
गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए।
जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरु चुनावको समयमा गठबन्धन गर्दै सत्तामा पुग्ने फोहोरी खेल खेलेको वाग्लेको भनाइ थियो । अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरेका छन् ।
वाग्लेले नीजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि नीजि क्षेत्रको लगानी बढाएर बारा क्षेत्र नं. ४ संगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।