कायम रहला ओलीको किल्ला ?

कायम रहला ओलीको किल्ला ?

झापा : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि झापा ५ बाट चुनावी मैदानमा छन्। झापाबाट उनको यो सातौं चुनावी प्रतिस्पर्धा हो। एमालेले भावी प्रधानमन्त्रीका रूपमा हेरेका उनले यो क्षेत्रबाट लगातार ५ पटक चुनाव जिते। २०७२ र २०७४ सालमा प्रधानमन्त्री पनि बने। पटक–पटक मन्त्री पनि भए। २०५१ सालमा गृहमन्त्री र २०६३ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए।

पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दीका बेला भारतसँग कडा रूपमा प्रस्तुत बनेका थिए। यसले उनलाई थप उचाइ प्रदान गर्‍यो। २०७४ सालमा दोस्रो प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेर वाइवाही पनि कमाए। पृथकतावादी आन्दोलन गरिरहेको सिके राउत र सशस्त्र संघर्ष गरेको नेत्रविक्रम चन्द (विप्लप)लाई मूलधारको राजनीतिमा ल्याएर हिंसात्मक गतिविधि रोक्ने काम पनि उनकै पालामा भए। 

रेल र पानी जहाजको सपना पनि बाँडे। धेरै आयोजनाको उद्घाटन शिलान्यास पनि गरे। यसलाई कतिपयले आलोचनाको विषयमा पनि बनाए। तर, काम धेरै भए। भ्रष्टाचार काण्डहरू छानबिन थाले। दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपे पनि त्यो कदम सकारात्मक थियो भन्नेमा अडिग रहे। ओलीलाई चुनौती दिन नसक्ने उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनले उनीहरूलाई ओलीको प्रतिस्पर्धामा उठाएको नेपाली कांग्रेसकै झापाका नेताहरू बताउँछन्। ओलीको प्रतिस्पर्धी सत्तारुढ गठबन्धनले डा.खगेन्द्र अधिकारीलाई बनाएको छ। 

२०७४ सालको निर्वाचनमा पनि अधिकारी नै प्रतिस्पर्धामा थिए। उनलाई ओलीले भारी मतान्तरबाट पराजित गरेका थिए। नेपाली कांग्रेसका उम्मेदवार अधिकारीको भन्दा दोब्बर बढी मत ल्याए। अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउँदा ओलीको पक्षमा ५७ हजार १ सय ३९ मत आएको थियो।

अधिकारी अघिल्लो पटकभन्दा आफू धेरै जनताको माझ भिजेको दाबी गर्छन्। अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा आफूले यो पटक ओलीलाई हराउने दाबी पनि गरे। भने, ‘अघिल्लो पटक म यो क्षेत्रमा भिजेको थिइन् र त २८ हजार मत ल्याए। यो पटक त मलाई सबै यो क्षेत्रवासीले चिन्छन्। राम्रोसँग भिजेको छु। ओलीलाई हराउँछु।’ अघिल्लो निर्वाचन टिकट पाएपछि उनी प्राध्यापन पेसा छोडेर ओलीविरुद्ध चुनावमा होमिएका थिए। यो क्षेत्रमा ओलीका प्रतिस्पर्धी कांग्रेसका अधिकारीसहित १३ जना दलगत र १२ स्वतन्त्र गरी २५ जना उम्मेदवार छन्। 

त्यसो भनिरहँदा उनकै छिमेकी उम्मेदवार नै नचिनेको भन्दै घरमा नै आइपुगेका थिए। उता एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार होमराज थापाले भारी मतले जितेर ओली देशको प्रधानमन्त्री हुने बताए। ओली स्वयम् पनि यो पटकले आफ्नो क्षेत्रमा चुनावी प्रचार गरेर देशव्यापी दौडाहामा लागे। बुधबार मात्रै उनी सुनसरी र मोरङका सभा सकेर झापा पुगेका छन्। 

२०४८ सालदेखि लगातार जितिरहेका ओलीको विजय अभियान २०६४ मा आएर रोकियो। २०४८ सालमा पहिलोपटक आमनिर्वाचनमा उम्मेदवार भएका ओलीले कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गरे। ०५१ मा निर्वाचन क्षेत्र नं ५ मा ओलीसँग प्रतिस्पर्धा गरेका केशवकुमार बुढाथोकी पराजित भए। २०५१ सालको मनमोहन अधिकारीको सरकारमा ओली गृहमन्त्री भए। अधिकारी नेतृत्व सरकार अहिलेसम्मकै सबैभन्दा लोकप्रिय सरकारको रूपमा चिनिन्छ। 

  •     ओलीले २०२५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ सुरु गरेका थिए 
  •     सत्ताारुढ गठबन्धनले डा. खगेन्द्र अधिकारीलाई अहिलेको निर्वाचनमा ओलीको प्रतिस्पर्धी बनाएको छ 
  •     पटक–पटकको निर्वाचनमा राम्रो मत ल्याएर झापाबाट निर्वाचित हुँदै आएका छन्
  •     २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेकपाको शक्तिशाली अध्यक्ष बने 

०५६ को चुनावमा ओली झापा २ र ५ बाट उठेका थिए। क्षेत्र नम्बर २ म गिरिराजकुमारी प्रसार्इंलाई १७ मतले पराजित गरेका थिए। त्यही क्षेत्रमा नेकपा मालेका महासचिव सीपी मैनाली पनि लडेका थिए। एमालेलाई फुटाएर माले बनाएपछि मैनालीलाई हराउन नै ओली क्षेत्रमा लडेका थिए। आफ्नो क्षेत्र नम्बर ५ बाट काशीराज ताजपुरियालाई हराए। ताजपुरियाले आत्माहत्या गरिसकेका छन्। 

२०६४ सालमा भने ओलीको विजययात्रा रोकियो। माओवादी शान्ति प्रक्रियामा आएपछि उसको लहर नै चलेको थियो। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा ओली तत्कालीन माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग १ हजार मतले पराजित भए। लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीको पक्षमा १४ हजार ९ सय ५९ मत आयो। ओली हराउने लिङ्देन माओवादी छोडेर कांग्रेस भइसकेका छन्। 

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने ओली पुनः यही क्षेत्रबाट निर्वाचित भए। ओलीले कांग्रेसका सुरेश सुब्बालाई हराए। यी क्षेत्रबाट माओवादीका गोपाल किराँती पनि ओलीलाई हराउँछु भन्दै उठेका थिए। उनी प्रतिस्पर्धामा पनि आएनन्। ब्रेक लागेको विजययात्रा फेरि सुरुवात गरे। २०४८ सालयता नै ओलीका प्रतिस्पर्धी चुनावपिच्छे नै फेरिरहेका थिए तर यो पटक २०७४ मा ओलीसँग लडेका डा. अधिकारीलाई नै सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ। ओलीलाई पराजित गर्ने लिङ्देन पनि गुमनाम जस्तै छन्। 

ओलीले २०२५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ सुरु गरेका हुन्। २०२८ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय भए। १४ वर्ष लामो जेल जीवन बिताए। त्यसपछि पनि पटक–पटक जेल जीवन बिताएका छन्। तत्कालीन नेकपा मालेको लुम्बिनी प्रमुख २०४६ हुँदै प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष २०४७ भए। २०४७ मा नेकपा एमालेको स्थायी समिति सदस्य भए। २०७१ मा पार्टीमा १५ वर्ष लामो महासचिव रहेका माधवकुमार नेपाललाई हराएर पहिलो पटक पार्टी अध्यक्ष भए।

२०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली अध्यक्ष भए। २०७८ सालमा भएको १०औं महाधिवेशन पुनः एमाले अध्यक्ष भए। यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगन्ज गाउँपालिका र कमल गाउँपालिकाका गरी २९ वडा पर्छन्। गौरादह नगरपालिकाका वडा नम्बरहरू १, २, ३, ४, ५, ६, ७, ८, गौरीगन्ज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५ र ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन्। जसमा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ।

गौरादह नगरपालिकामा एमाले मेयर उपमेयरसहित ६ वटा वडा जितेको छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो। यो नगरपालिकामा एमाले सातवटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ।

गौरीगन्ज गाउँपालिकामा अध्यक्षसहित २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित तीनवटा वडामा एमाले र एउटा वडामा माओवादीले जितेको छ भने कमल गाउँपालिका कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित अन्य पाँचवटा वडा जितेको छ। यी दुवै गाउँपालिकामा एमालेले धेरै वडा जितेको छ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.