जोगिएला देउवाको गढ ?

जोगिएला देउवाको गढ ?

डडेलधुरा : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सातौंपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको डडेलधुरामा अहिले जित, हारभन्दा मतान्तरको चर्चा छ। ७७ वर्षीय देउवाले डडेलधुराबाट निर्वाचनमा छैटौंपटक विजय हासिल गरिसकेका छन्। उनलाई राजनीतिक जीवनको उत्तराद्र्धमा हालसम्मको सर्वाधिक मतान्तरले विजयी बनाउन कार्यकर्ता दौडधुपमा छन्। पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा छन्। 

हेभिवेटमा गनिने देउवासँगै यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको पनि चर्चा छ। सत्ता गठबन्धन दलका चुनावी आमसभामा समेत समय दिनु परेकाले प्रधानमन्त्री देउवा बुधबार साँझ मात्रै डडेलधुरा आउँदैछन्। ढकाल भने मतदाताको घरदैलोमा व्यस्त छन्। 

३१ वर्षीय युवादेखि ८४ वर्षीयसम्म प्रतिस्पर्धी 

३१ वर्षीय ढकाल स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा छन्। उनीसँगै ३४ वर्षीय लालबहादुर कठायतले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४२ वर्षीय गोविन्द खडायत पनि प्रचार–प्रसारमा तल्लीन छन्। जनता समाजवादी पार्टीबाट ४३ वर्षीय श्याम सिनाल चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ४८ वर्षीय कर्णबहादुर मल्ल, ५० वर्षीय विक्रमबहादुर शाही चुनावी मैदानमा देखा परेका छन्।  

८४ वर्षीयकर्ण सिंह रावलले पनि स्वतन्त्र रूपमा चुनावमा उत्रिएका छन्। प्रधानमन्त्री देउवाका साथै प्रतिनिधिसभाको उम्मेदवारका रूपमा प्रधानमन्त्री देउवाका साथै सागर ढकाल, कर्ण सिंह रावल, विक्रमबहादुर शाही, लालबहादुर कठायत, गोविन्द खडायत (राप्रपा), कर्णबहादुर मल्ल (कांग्रेस बिपी ) र श्याम सिनाल  (जनता समाजवादी पार्टी) का उम्मेदवार चुनावी मैदानमा छन्। 

गुल्मी, मध्यति गाउँपालिका ६, पीपलनेटाका सागर ढकालको क्रेज युवामाझ देखिएको छ। अक्सफोर्डबाट अध्ययन गरी फर्केका ढकालको उम्मेदवारीको प्रस्तावकमा डडेलधुराकै पर्शुराम नगरपालिका ६ का नवीन धामी र समर्थकमा सुरेन्द्र धामी छन्। ढकाल  हाइड्रोमेकानिकल इन्जिनियर हुन्। उनी पनि गाउँगाउँमा मत मागिरहेका छन्। क्याम्पस प्रमुख उप्रेतीका अनुसार ढकालको पक्षमा मतदाता सूचीमा नामसमेत नभएका युवाहरूको सहभागिता देखिएको छ।

‘युवा माझ बढी चर्चा पाइरहेका छन्। जिल्लामा भन्दा बढी काठमाडौं लगायतका सहरहरूमा ढकालको चर्चा भइरहेको छ।’ उप्रेतीले भने, ‘पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्तिले गर्न नसकेको काम भर्खर आएका ढकालले के गर्न सक्लान् र ? भन्ने सोंच मतदातामा छ।’ 

प्रधानमन्त्री देउवाका स्वकीय सचिवसमेत भइसकेका कर्णबहादुर मल्लको पनि चर्चा छ। उनी कांग्रेसका पूर्वजिल्ला सभापति तथा नेपाली कांग्रेस जिल्ला सभापति भइसकेका छन्। नेपाली कांग्रेस बिपीका उपसभापति मल्ल स्थानीय तहमा परिचित छन्। 

देउवाको मत कति ?

कांग्रेसका कार्यकर्तासँगै अन्य दल र स्वतन्त्र उम्मेदवार पनि मतदाताको घरदैलोमा व्यस्त देखिन्छन्। न्यु–महेश्वरी होटल एन्ड लजका तेज दियालका अनुसार, अहिले उम्मेदवारहरू गाउँका घरदैलोमै रहेकाले अमरगढी बजारमा चहलपहल खासै छैन। ‘चुनावी प्रचार–प्रसार रोकिएपछि बजार क्षेत्रमा चहलपहल बढ्छ, दियाल भन्छन्, ‘आज प्रधानमन्त्री देउवा आउने चर्चा छ। त्यसपछि अलि चहलपहल बढ्छ।’

प्रधानमन्त्री देउवा २०४८, २०५१ २०५६, २०६४, २०७० र २०७४ मा भएको निर्वाचनमा विजयी भइसकेका छन्। २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ बाट  पनि निर्वाचित भएका थिए। त्यस्तै २०४८ सालमा गृहमन्त्री भएका देउवा २०५२, २०५९, २०६१, २०७४ र २०७८ मा गरी पाँचपटक प्रधानमन्त्री भइसकेका छन्। 

  •   पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा छन्
  •     हेभिवेटमा गनिने देउवासँगै यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको पनि चर्चा छ
  •     देशव्यापी चुनावी दौडाहामा व्यस्त रहनुपर्दा देउवाले चुनावी क्षेत्रमा घरदैलो गर्न भ्याएका छैनन् 
  •     गठबन्धनको बलियो साथले देउवा आफ्नो साख जोगिनेमा ढुक्क देखिन्छन्

प्रधानमन्त्री देउवासँग तीनपटक चुनावी प्रतिस्पर्धा गरिसकेका नेकपा माओवादीका खगराज भट्ट प्रदेशसभाका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन्। प्रतिनिधिसभाको निर्वाचनका लागि प्रधानमन्त्री देउवाले गत असोजमा डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेस केन्द्रीय सदस्य एवं पत्नी आरजु राणा देउवाले वारेसनामामार्फत मनोनयन दर्ता गराएका थिए। 

देशव्यापी चुनावी दौडाहामा व्यस्त रहनुपर्दा प्रधानमन्त्री देउवाले चुनावी क्षेत्रमा घरदैलो गर्न भ्याएका छैनन्। तै पनि उनका कार्यकर्ता खटिएका देखिन्छन्। २०१५ सालको निर्वाचनमा प्रतिनिधिसभामा कुल १ सय ९ सिटमा कांग्रेसले दुईतिहाइ सिट जितेको थियो। त्यसयता कांग्रेसले कहिल्यै पनि दुईतिहाइ बहुमत पाएको छैन। २०७४ को आमनिर्वाचनमा एमालेको नेतृत्वमा दुईतिहाइभन्दा बढी बहुमतको वाम सरकार बन्दा कांग्रेस विपक्षीमा सीमित हुन पुगेको थियो।  

२०५१ को मध्यावधि चुनावबाहेक कुनै पनि राष्ट्रिय चुनावमा एमालेभन्दा कांग्रेसको अवस्था कमजोर थिएन। तर, २०७४ को चुनावमा कांग्रेसको हैसियत खस्कियो। मुलुकका प्रमुख पदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षलगायतका प्रदेश संसद्को सबै प्रमुखहरू कांग्रेसविहीन भएपछि देउवाको पार्टी भित्रसमेत आलोचना भएको थियो। तर, नेकपा माओवादी र नेकपा समाजवादीलाई मिलाएर सत्ता गठबन्धनको नेतृत्व गरेका देउवाले संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पार्टीको अवस्था सुदृढ गराउन व्यस्त रहँदा आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नसमेत भ्याएका छैनन्। 

डडेलधुरा बहुमुखी क्याम्पसका प्रमुख गंगादत्त उप्रेतीका अनुसार, प्रधानमन्त्री देउवाको हालसम्मकै सर्वाधिक मतान्तरको फरकले विजयी हुने आकलन गरिएको बताउँछन्। ‘पाँचपटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तित्व छ। त्यसमाथि गठबन्धनको बलियो साथ छ,’ उप्रेती भन्छन्, ‘स्थानीय निर्वाचनमा पाएको मतलाई समेत आधारका रूपमा लिन सकिन्छ। अर्कोतर्फ प्रतिस्पर्धी अन्य उम्मेदवारहरूको राजनीतिक उचाइ देउवाको जस्तो अग्लो छैन।’

पहिलोपटक प्रतिस्पर्धा गरेको निर्वाचनको प्रचारका लागि देउवाले डडेलधुराका प्रायः गाउँमा पैदल हिँडेर घरदैलो गरेका थिए। त्यो बेला डडेलधुरामा बाटोघाटो केही थिएन। उहाँ पैदल हिँडेरै डडेलधुराका प्रायःजसो गाउँका घरघरै जानुभएको थियो उनका समकक्षी बताउँछन्। 

त्यसपछिका निर्वाचनबाट भने प्रधानमन्त्री देउवाले घरदैलो अभियान गरेर मतदातासँग मत माग्न जान भने छाडेका छन्। २०५१ को आमनिर्वाचनमा बहालवाला गृहमन्त्री भएका कारण २०४८ को निर्वाचनमा जस्तो घरदैलोमा जान नभ्याएको कांग्रेस कार्यकर्ता बताउँछन्। 

- दिनेश गौतम/शिवराज भट्ट/धनबहादुर भण्डारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.