'हामीप्रति जनताको भरोसा छ’

'हामीप्रति जनताको भरोसा छ’

प्रहरी सेवाबाट अवकाश पछि एमाले प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए । यसपटक गठबन्धनका उम्मेदवार उदय शमशेर राणासँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता सिलवालसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानी ।

 
घरदैलो कार्यक्रममा हुनुहुन्छ । जनताबाट के कस्ता प्रतिक्रिया पाउनुभएको छ ?

निकै उत्साहपूर्ण ढंगमा टोलटोलबाट निस्किएर उहाँहरूले हामीलाई सहयोग गरिरहनुभएको छ । पाँच वर्ष मैले जुन काम गरें, विकास र सम्वृद्धिको जुन आधार निर्माण गरें, त्यसप्रति उहाँहरूको भरोसा र विश्वास छ । फेरि त्यही जगमाथि हामीले थप निर्माण गर्नुपर्नेछ । युवा र महिलालाई रोजगारीसँग जोड्नुपर्नेछ ।

प्रहरी सेवामा रहेर काम गरेपछि राजनीतिमा प्रवेश गर्नुभयो । यी दुई क्षेत्रमा काम गर्दाको अनुभव कस्तो पाउनुभयो ?

हिजो पनि मैले जनतालाई सामाजिक न्याय दिने हिसाबमै काम गरेको हुँ । आज पनि कानुन बनाउने र त्यसको कार्यान्वयन गरी मुलकको समग्र विकास र सम्वृद्धिमा काम गरें । हिजोभन्दा आजको क्षेत्र अलि विशाल छ । तर म एउटै हिसाबले जनता र समाजकै सेवामा समर्पित छु । मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जनताको भरोसा र विश्वास पाएको छु । मैले गरेका कामका मुल्यांकन भएका छन् । हिजो र आजको अनुभव मिलाएर भन्नुपर्दा म एकदमै खुसी छु । 

यसपटक तपाईंका चुनावी एजेन्डाहरू के के छन् ?

यसपटक हामीले दुई चारवटा ल्याण्डमार्क योजनाहरू अघि सारेका छौं । भट्टेडाँडामा आन्तरिक विमानस्थल बनाउनुपर्ने माग राखेका छौं ।  ललितपुरको चापागाउँ क्षेत्र लिच्छविकालिन सहर हो । लिच्छविकालिन संस्कृति, सभ्यता, जात्रा, पर्व, फाल्चा, पोखरी, मन्दिर सबैलाई संरक्षण गरेर यसलाई ऐतिहासिक सहरको रूपमा स्थापना गर्ने योजना छ । बज्रबाराही मन्दिर वरपर रहेका बनलाई बगैचा बनाउने र चापागाउँ, लेले, गोदावरी, फुलचोकी क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न डीपीआर तयार गरिसकिएको छ । लेले चन्दनपुर सडकलाई लेले चन्दनपुर, ठूला दुरलुङ, फापरबारी हुँदै धरान चतारासम्म जोड्ने एउटा राजमार्गका रूपमा विकास गर्ने छौं । गोदावरीबाट काभ्रेको माने भन्ज्याङसम्म जोड्ने एउटा सुरुङ निर्माण गर्ने अभियानको पनि डीपीआर पुरा भइसकेको छ । दलचोकी, माझखण्ड, कालेश्वर र बैतरणी धाम लगायतका ठाउँलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने योजना छ । तत्कालिन रुपमा आर्थिक सामाजिक रुपमान्तरणका लागि युवा र महिलालाई रोजगारीसँग जोड्ने सोच छ । घरघरमा रोजगारी सिर्जना गरी उद्यमशीलता विकास गर्ने अभियान अगाडि बढाएका छौं । हरेक गाउँपालिकामा एउटा उद्योगग्राम बनाउने हाम्रै सरकारको पालामा गरेको निर्णय कार्यान्वयन गराउन काम गर्छौं । कृषि, सेवा क्षेत्र, पर्यटन र उद्योगमा व्यापक रूपमा रोजगारी सिर्जना गरेर हामी ललितपुर क्षेत्र नम्बर १ लाई आर्थिक रूपमा सवल बनाउनेछौं । 

राजनीतिमा प्रवेश गर्दा किन एमाले नै रोज्नुभयो ? 

एमाले जनताको पार्टी हो । यसले सामाजिक न्यायसहितको सम्वृद्धिको कुरा गरेको छ । असल लोकतन्त्रको कुरा गरेको छ । सामाजिक न्यायसहितको सम्वृद्धि हासिल गरी कसरी समाजवादसम्म जाने भन्ने बहुदलिय जनवादको लोकप्रिय नारा र विचार लिएको छ । त्यो विचारले मजदुर, किसान, उत्पीडित र पछाडि परेका वर्गहरूलाई समेटेर अगाडि बढ्न प्रेरित गर्छ । एमाले नै एउटा यस्तो पार्टी हो जसले मुलुकको रुपान्तरणमा सहयोग पुर्‍याउँछ । त्यसैले एमाले नै रोजेको हुँ । 

अघिल्लो कार्यकालमा तपाईं गृहमन्त्री हुने हल्ला चलेको थियो । चुनाव पछि एमाले नेतृत्वको सरकार बने, मन्त्री हुने रहर छ कि ? 
पार्टी र जनताले चाहेको अवस्थामा आवश्यकता अनुसार म जुनसुकै जिम्मेवारी लिन तयार छु । गृह मन्त्रालयलगायत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने अनुभव र क्षमता राख्छु । र म त्यो जिम्मेवारी लिन उत्सुक छु । लिएपछि उत्कृष्ट ढंगले काम गर्न सक्ने व्यक्ति पनि हुँ । 

निर्वाचनमा नयाँ पुस्ता र स्वतन्त्रको बढ्दो लहरलाई कसरी हेर्नुहुन्छ ?

अहिलेको नयाँ पुस्ता भनेकै हामी हौं । युवा भनेको हामी नै हौं । म राजनीतिमा आएको पनि यसलाई सुधार्न हो । राजनीतिमा रहेका विकृतिलाई अन्त्य गरेर अगाडि बढ्नु पर्छ भनेर हो । नयाँ पुस्ताको जिम्मेवारी पनि हामी नै लिन्छौं । जनताका मुर्जाएका सपनालाई ब्युझाउने काम हामीले गरिरहेका छौं । ती सपनालाई साकार बनाउने अभियानमा हामी लाग्नेछौं । 

प्रहरी सेवामा रहँदा अन्त्यतिर तपाईंको पदमाथि नै राजनीतिकरण भयो । राजनीतिमा लाग्दा यस भित्रका गलत प्रवृति हटाउन सकिन्छ भनेर पो रोज्नुभएको हो कि ?

यसलाई सम्पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ । किनभने न्यायमुलक ढंगले सबैभन्दा सिनियर र उत्कृष्ट मान्छेलाई नबनाएर शेरबहादुर देउवाहरूले ममाथि राजनीति गर्नुभयो । त्यसलाई चिर्नुपर्छ । तपाईंहरू सर्वेसर्वा होइन, मनपरी गर्न पाउनुहुन्न भन्ने आवाज पनि हो मेरो । संस्थाहरूलाई राजनीतिकरण गर्ने पुरानो शासन शैलीलाई चिर्ने र कानुन बमोजिम स्वतन्त्र ढंगले चल्ने प्रणालीको विकास गरेर जाँदा जनतामा सेवा प्रवाह पनि हुन्छ । यसले भ्रष्टाचारी, घुसखोरी, काममा ढिलासुस्ती जस्ता समस्यालाई हटाउन सकिन्छ । देउवाको कुरा गर्नुहुन्छ भने त्यतिखेर मलाई नदिने मात्र होइन, थुन्ने र रेड कर्नर नोटिस जारी गर्ने गरे । जिन्दगीभर जेलमा सडाउन यी तमाम नक्कली मुद्धा खडा गर्न लागी परेकै हुन् । अब उनको समय सकिएको छ । उनीजस्ता व्यक्तिलाई विदा गरेर नयाँ सोच, दृष्टिकोण र युवा पुस्ताले सोचेअनुरुप राजनीतिमा निर्मलीकरण गरेर जानुपर्नेछ । त्यसमा मेरो पनि योगदान हुनेछ । 

जितको सम्भावना कत्तिको देख्नुभएको छ ?

हामी सतप्रतिशत जित्छौं । जनताको भरोसा छ हामीसँग ।  नेकपा एमाले र नवराज सिलवालको पक्षमा जनता घरघर, टोलटोल ,गाउँगाउँ र बस्तीबस्तीबाट उठेका छन् । । मैले पाँच वर्ष निस्वार्थ ढंगमा विकास निर्माणका जुन काम गरें,  मेरो जनप्रतिनिधि भनेर जनताले गौरव गर्ने हिसावले गरें । यो सामान्य चुनाव होइन । यो राष्ट्रियता जोगाउने चुनाव हो । अत्याचार र निष्ठाबीचको, भ्रष्टाचार र सुशानबीचको चुनाव हो । हामी न्याय, सुशासन र सम्वृद्धिको पक्षमा छौं । जनताको पक्षमा छौं । त्यसैले जनताको साथले गठबन्धनका उमेदवारप्रति विजय प्राप्त गर्ने मैले विश्वास गरेको छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.