देबी देवताको कसम खुवाएर भोट माग्दै
मुगु : मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारले आफ्नो पक्षका मतदाताहरूलाई बिपक्षी दलका उम्मेदवारहरूलाई मतदान गर्नबाट रोक्न प्रत्येक बस्तीमा खसीबोका काटी, रगतमा औंला चोपाइ, टीका लगाइ देवी देवताको कसम खुवाउने गरेको खुलेको छ।
निर्वाचन आचारसंहिता विपरित गठबन्धनका नेता तथा उम्मेदवारले गठबन्धन सर्मथकका मतदाताहरूले अन्य दलका उम्मेदवारलाई मतदान नगरोस् भन्ने हेतुले गठबन्धनका उम्मेदवार तथा नेताले देवी देवताको कसम खुवाउने गरेको खुलेको हो।
मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट ऐनबहादुर शाही, कर्णाली प्रदेश (क)मा एकीकृत समाजवादीका गोपालबहादुर बम र (ख) माओवादीका मंगलबहादुर शाही रहेका छन्। त्यस्तै नेकपा एमालेबाट प्रतिनधिसभा सदस्यमा राजबहादुर कार्की र (क)मा जित बहादुर मल्ल र (ख)मा कर्णबहादुर मल्ल प्रतिस्पर्धामा रहेका छन्।
एमालेका सचिव डवल रोकायाले गठबन्धनका उम्मेदवारले यस्ता कार्य गर्दै आएको आरोप लगाए। उनले निर्वाचन आचारसंहिता विपरित यस्ता कार्य गरेकाले सम्बन्धित निकायलाई जानकारी गराएको बताए। कांग्रेसका सचिव लोकेन्द्र मल्लले यस्ता कार्य नगर्न नेता-कार्यकर्तालाई सचेत गराएको बताए।
'निर्वाचनमा भाग लिएका उम्मेदवारले आचारसंहिता विपरित कुनै गतिविधि गर्न पाउँदैनन्। यस्ता कार्य गरेको भेटिए वा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा आवश्यक कारबाही हुने अनुगमन समितिका संयोजक लक्ष्मीकृष्णा हमालले बताए।
प्रतिक्रिया दिनुहोस !