भोट हाल्न गाउँ हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु
मुगु : मुगुमा भोट हाल्न गाउँ हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको छाँयानाथ रारा नगरपालिका-२ बागबजारमा बस्दै आएका खत्याड गाउँपालिका-३ का ६७ वर्षीय जोखे परियारको खत्याड गाउँपालिका-२ सेरी भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो।
उनी सोही वडाका ६५ वर्षीय कल्से नेपालीसँग सदरमुकाम गमगढीको बागबजारमा बस्दै आएका थिए। कल्से अपाङ्गता भएका व्यक्ति हुन।
जोखेले कल्सेलाई डोराएर मतदान गर्न सदरमुकामबाट आफ्नो गाउँ लैजादै थिए। आफ्नो गाउँ पुग्न एक घण्टा बाँकी रहँदा शनिबार साँझ ६ बजे लडेर परियारको मृत्यु भएको हो।
परिवारसहित सदरमुकाम गमगढीमा बस्दै आएका कल्से नेपालीसँग बसेका दुवै जना बुधबार मतदान गर्नका लागि सदरमुकामबाट हिँडेका थिए।
अगाडि डोराउँदै हिँडेका जोखेको मृत्यु भएको भएपनी कल्सेलाई केही नभएकाले आज उनले मतदान केन्द्रमा मतदान गर्न आएको खत्याड गाउँपालिका-३ का कुसल शाहीले बताएका छन।
भिरालो स्थानबाट लडेर मृत्यु भएको भन्ने कुनै खाले जानकारी आफूलाई नआएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शुभाष हमाले बताएका छन्।