जनसंख्या लाभांशको उपयोग
दसैं, तिहारलाई महँगीले डस्यो। बजारले विगतका वर्षमा जस्तो हर्ष ल्याउन सकेन। दसैंमा मीठो मसिनो खानैपर्ने संस्कार बोकेका सर्वसाधारण नेपालीले दुब्लोपातलो खल्ती टक्टक्याएर परम्परा धाने। असन भोटाहिटीमा दसैं, तिहारको पूर्वसन्ध्यामा देखिने भीडभाडपूर्ण रौनक पातलियो। साधारणमात्र होइन, हुनेखाने पसलेहरूले समेत पहिलेको जस्तो बिक्रीबट्टा नभएर निन्याउरो मुख लाउनु पर्यो। दसैं, तिहारको कुरा मात्र होइन, अघिपछि पनि अकासिँदो मूल्यवृद्धिले आमनागरिकलाई पार्नुसम्म पीर पार्यो। बजार अनुगमनको निरन्तरतामा ब्रेक लागेपछि मूल्य बढाएर बिक्री गर्नेहरूले राम्रो अवसर पाए।
के यो मूल्यवृद्धि कृत्रिम हो वा बाध्यात्मक ? यो प्रश्नको सोझो जवाफ छैन। तर बाध्यात्मक अवस्थाको साथै कृत्रिम रूपमा पनि बजार भाउ बढ्छ भन्ने जानकारी सबै उपभोक्तालाई छ। उपभोक्ता भने बाध्य छन् महँगो सामान खरिदगर्न। खरिददारीको आयतन र आकार कम गर्नु बाहेक अर्को विकल्प उनीहरूसँग थिएन। सबैलाई थाहा छ–महँगी बढ्नुको एउटा कारण नेपाली मुद्राको क्रयशक्ति घट्नु पनि हो।
रुस–युक्रेन युद्धले ल्याएको समस्या वैश्विक समुदायले आर्थिक घाटाको रूपमा बाध्य भएर भोग्नु परिरहेको रूपमा अर्थशास्त्रीहरूले अथ्र्याएका छन्। उनीहरूका अनुसार मुद्रास्फीतिको यो समस्या नेपालले मात्र भोग्नु परेको होइन, दुनियाँले भोगिरहेको छ। यसको मतलव दुनियाँले भोगिरहेकाले हामीले पनि भोग्नुपर्छ भन्नु हो। परन्तु कुनै पनि लोककल्याणकारी राज्यले आफ्नो सरहदभित्र आउन सक्ने सम्भावित आर्थिक वा अन्य समस्याको पूर्वआकलन गर्दै देशको अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ व्यवहारमा लाग्नु पथ्र्यो। नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले सहयोग पुर्याएकाले मात्र राहतको सास फेर्न पाइएका हो। अन्यथा यस्तै हुन्छ भन्न सकिन्न। जब आयातमा लाग्ने भन्सारले राजस्वमा अपेक्षाकृत बढी योगदान गर्ने अवस्था आउँछ, त्यहाँको अर्थतन्त्र रुग्ण भएको मान्नुपर्ने हुन्छ। निर्यात वृद्धिबाट राजस्व बढाएर स्वस्थ अर्थतन्त्रको परिचय बनाउनुपर्नेमानिर्यातजन्य उत्पादनको अभावमा व्यापार असन्तुलन थेग्नै गाह्रो पर्नेगरी बढ्नुलाई अर्थतन्त्र ज्यादै कमजोर भएको अर्थमा बुझ्नुपर्ने हुन्छ।
अहिले नेपालमा उद्योगधन्दाहरू क्रमशः बन्द हुँदै गएका छन्। उत्पादनमूलक उद्योगहरूको संख्या हातको औंलामा भाँचेर गन्न सकिन्छ। यी उद्योगहरू पनि कुन दिन बन्द हुनेहुन् भन्न सकिन्न। अब त यस्तो लाग्दै छ– नेपालको अर्थतन्त्रले ‘ब्ल्याक स्वान’ (कालो हाँस) सिन्ड्रम देखाइरहेको छ। कुन बेला यो अर्थतन्त्र सम्हाल्नै नसकिने मोडतिर पुग्ने होअनुमानगर्न सकिन्न। यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने हो त्यतातिर राज्यले कस्तो ठोस योजना अगाडि ल्याएको छ? आमनागरिकले थाहा पाएका छैनन्।
जनसंख्या लाभांश
नेपालको अर्थतन्त्रले ‘ब्ल्याक स्वान’ (कालो हाँस) सिन्ड्रम देखाइरहेको छ। कुन बेला यो अर्थतन्त्र सम्हाल्नै नसकिने मोडतिर पुग्ने हो अनुमान गर्न सकिन्न।
नेपालको कुन जनसंख्यामध्ये १६ देखि ४० वर्षको उमेरसमूहका नेपालीको संख्या ४०.६८ प्रतिशत छ। यस अर्थमा यो युवा उमेर त्यस्तो समूह हो, जसको क्षमता, बुद्धि र वर्कतले मुलुकलाई ह्वात्तै माथि उठाउन सक्छ। राज्यको सोच र शक्तिलाई युवा जनशक्तिको अधिकतम सदुपयोग गर्नेतर्फ यथार्थपरक भएर लगाउन सकेको भए, सम्भवतः मुलुकले आर्थिक र सामाजिक अप्ठेराहरूलाई सहजै पार लगाउन सक्ने थियो।
विदेशी श्रम बजारमा न्यून दक्ष र अदक्ष श्रमिकहरूको साटो दक्ष र उच्च दक्ष युवालाई पठाउन सकेको भए त्यसबाट समाज र मुलुकले राम्रो प्रतिफल पाउने थियो।जनसंख्या–लाभांश वितरण हुने थियो।४०.६८ प्रतिशतको युवा जनशक्ति रहनुको अर्थ हो, जनसांख्यिक लाभांश प्राप्त हुनु। अर्थात् यो सक्रिय जनसंख्या हो। यदि यसको सट्टा बढी उमेर भएको संख्या धेरै हुने हो भने बाहिरबाट युवालाई आमन्त्रण गर्नुपर्ने अवस्था आउने थियो। युरोप र अमेरिकाका केही देशका साथै एसियाका उन्नत देशहरूले समेत यो समस्यासँग जुधिरहेका छन्। यस अर्थमा नेपालको युवाशक्ति नेपालको बलियो सम्पत्ति हो। यो शक्तिको परिणाममुखी परिचालनका लािग तत्कालै गर्नुपर्ने काम केहो ? त्यसबारेमा संवेदनशील भएर राज्य लागिपर्ने हो भने मुलुक र जनताका लागि धेरै गर्न सकिने थियो।
युवा जनशक्तिबाट परिणाममुखीप्रतिफल प्राप्त गर्न दुईटा पक्षउपर विशेष ध्यानपुर्याउनु पर्छ– शिक्षा र सिकाइ। ठूला समस्यालाई तत्कालै समाधान गर्न नसकिएला। तर हेक्का राख्नुपर्छ, वर्तमानको समस्यासँग जुध्ने अल्पकालीन योजना र कार्यक्रमलाई अगाडि ल्याएर कार्यान्वयन गर्न सकिन्छ भने मध्यकालीन र दीर्घकालीन रूपमा शिक्षाका साथै सिकाइको पक्षलाई जोड दिएर भावीसमस्यालाई हल गर्न सकिन्छ।
शिक्षा र सिकाइ
भारतको हिजोको शिक्षा प्रणाली बेलायती शिक्षा प्रणालीबाट प्रभावित थियो।नेपालले पनि त्यही प्रणालीलाई अपनायो। उक्त शिक्षाले विद्यार्थीलाई ‘क्लर्क’ र ‘बाबुजी’ मात्र बन्न बनाउन सिकायो। उच्च प्रविधिले राज्य गरेकोआजकोशताब्दीमा हिजोको शिक्षा प्रणाली व्यावहारिक छैन। आजको शिक्षाले विश्वको डिजिटल प्रविधिसँग प्रतिस्पर्धागर्न सक्षम भएको देखाउनुपर्छ। प्रत्येक विद्याथर्ािलाई नयाँ उत्साह, नयाँ सोच र नयाँ प्रविधिदिन सक्नुपर्छ। विश्वविद्यालयले गर्ने दीक्षान्त समारोहमा दिइने प्रमाणपत्रलाई शिक्षाको उपलब्धि मानेर बस्ने जुन सोच आममानिसमा छ, त्यसले सिकाइको पक्षलाई कमजोर बनाएको छ। शैक्षिक प्रमाणपत्रले एउटा विद्यार्थीको किताबी ज्ञानलाई दर्शाउला तर उसको सिर्जनशीलतालाई परिभाषित गर्न सक्दैन। सिर्जनशीलता विद्यार्थीको भित्री ट्यालेन्ट हो। जुन ट्यालेन्ट उसभित्र लुकेर बसेको हुन्छ। लुकेको क्षमतालाई उसको सिर्जनशीलतासँग जोड्ने काम शिक्षाले गर्नुपर्छ। तर हाम्रो शिक्षा प्रणाली घोकन्ते शिक्षामा रूपान्तरण भएर गएको छ।
जसले जति घोक्न सक्यो, जति कण्ठ पार्न सक्यो, उसले उति धेरै नम्बर ल्याउँछ भन्ने विश्वासले विद्यार्थीमा ‘आउट अफ द बक्स’ गएर सोच्ने, विश्लेषण गर्ने र तर्क गर्ने क्षमताको विकास हुन सकेको छैन।
सिकाइसिर्जनासँग गाँसिएको हुन्छ, आजन्म सिक्ने सिकाउने प्रक्रियासँग जोडिएको हुन्छ। के, किन, कसरी, कहाँ र किनजस्ता प्रश्न उठाएर त्यसको उत्तर खोज्न लगाउँछ। सिकाइले समाज र देशको सकारात्मक पक्षसँग जोडिएका संस्कार, मूल्य र मान्यतालाई प्रयोगमा ल्याउन लगाउँछ। सिकाइले देशभक्तिको भावनालाई जागृत गराउँछ। आमा–बुबा र अग्रजको सम्मान गर्न लगाउँछ। मुलुकप्रतिको नागरिक कर्तव्यबारे बोध गराउँछ।
केही वर्षयता‘भ्यालेन्टाइन्स डे’ र ‘गुड फ्राइडे’लाई उल्लास र उत्साहपूर्वक मनाउँदै जाने संस्कार बढ्दै गएको छ। फलतःयसबाटआफ्नै देशको रीति, थिति र परम्पराविस्तारै लोप हुने अवस्था आउनसक्छ। विभिन्न समुदायका चाडपर्वले सामाजिक सद्भाव, एकता र सहिष्णुता वृद्धिमा बल पुर्याएका छन् र पुर्याउन सक्छन् भन्ने यथार्थ बिर्सनु हुँदैन। हामीले हेक्का राख्नुपर्छ– जुन क्षणबाट विभिन्न समुदायले मनाउने, चाडपर्व र परम्परालाई जीवित राख्ने सवालमा मुलुक गम्भीर बन्दैन, त्यही समयदेखि समुदाय–समुदायको बीचमा द्वन्द्व सिर्जना हुन जान्छ। विविधताको व्यवस्थापन (डाइभर्सिटि म्यानेजमेन्ट) गर्न सकेमा मात्र बाह्य संस्कार र संस्कृतिको आक्रमणबाट समुदाय जोगिन सक्छ र द्वन्द्व हुनबाट बच्न सकिन्छ।
यस अर्थमा मुलुकको अर्थतन्त्र र सामाजिक–सांस्कृतिक उत्थानका लागि शिक्षा र सिकाइलाई मुख्य आधार बनाउनुपर्छ। किताबी ज्ञानका साथै व्यावसायिक सीप र ज्ञान उपलब्ध गराउने गरी सानै कक्षादेखि पाठ्यक्रम र सोअनुसारको सीप सिकाउने शिक्षा प्रणाली लागू गर्नु जरुरी छ। शिक्षामा कला, विज्ञान, व्यवस्थापन र कानुन संकाय भनेर पढ्ने विषयलाई विभिन्न संकायमा बाँड्नुभन्दा विद्यार्थीको यदि इच्छा छ भने इतिहास पढ्नेले भौतिकशास्त्र र जीव–विज्ञान, अन्तर्राष्ट्रिय कानुन र व्यापारशास्त्र सँगसँगै पढ्न किन नपाउने ? यो प्रश्न छलफलको विषय बन्नुपर्छ। अब हरेक सरकारी विद्यालयमा वा निजी क्षेत्रको लगानीमा व्यावसायिक शिक्षालय खोली सीप र प्रविधिमूलक पढाइ सुरु गर्नैपर्छ। यसबाट युवालाई स्वरोजगारी र ज्याला रोजगारीमा जान सजिलो हुनेछ। स्वदेशी वा विदेशी श्रम बजारमा दक्ष जनशक्तिको आपूर्ति हुन गई राज्यको आर्थिक क्रियाकलापमा सहयोग पुग्नेछ।
यसैगरी उच्च दक्ष जनशक्ति उत्पादन गर्नु अपरिहार्य भइसकेको सन्दर्भमा प्राविधिक विश्वविद्यालयको संख्या बढाएर इच्छुक विद्यार्थीलाई स्वदेशभित्रै पढ्ने वातावरण सरकारले बनाइदिनै पर्छ। होइन भने ब्रेन ड्रेन बढ्ने र शिक्षाको नाममा विदेशी मुद्रा बाहिरिने क्रमलाई रोक्न सकिने छैन।
नेतृत्व विकास
युवाहरूको नेतृत्व विकासको निम्ति उपयुक्त वातावरण बनाइदिने काम विद्यालय स्तरदेखि नै शुरु हुनुपर्छ। नेतृत्व विकासलाई सिकाइको उत्पादनको रूपमा लिएर आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रका सकारात्मक परिवर्तनका वाहक युवा नै हुन् भन्ने विश्वासको स्थापना गर्नु जरुरी छ। हुनत, यहाँको रानजनीतिक–सामाजिक अवस्थालाई केलाउने हो भने प्रवृत्ति र नियतले अहम् भूमिका निर्वाह गरेका छन्। राजनीतिक दलहरूभित्रयुवालाई नेतृत्व दिने सवालमा कञ्जुस्याइ छ। युवाले नेतृत्व लिनै सकेनन् भन्ने सोच राजनीतिमा वलवान् छ। राजनीतिक नेतृत्वमा राजनीतिक अर्थव्यवस्थाको गहिरो ज्ञान नभएको वा विज्ञहरूबाट पनि सिक्न नखोज्ने कमजोरीका कारणले मुलुकको समग्र विकास कसरीगर्ने भन्नेमा अन्योल छ। यदि यस्तो नहुँदो हो त नीतिको वाष्पीकरण हुने थिएन। युवालाई नेतृत्व दिने सवालमा कन्जुस्याईं देखिने थिएन।
यथार्थ केहो भने जबसम्म नेतृत्वको अवसर पाउँदैनन्, तबसम्म युवाले काम गरेर देखाउन सक्दैनन्। उनीहरूलाई वैचारिक र व्यावहारिक रूपमा अनुशिक्षण दिँदै भोलिको नेतृत्व लिन सक्ने क्षमताको विकास गराउने परिपाटीको स्थापना नभएकाले पुस्तान्तरणमा समस्या देखिएको हो। त्यहाँ विश्वासको कमी उब्जिएको हो।
वर्तमानको युवा पुस्ताको आफ्नै गनगन छ। अग्रजले नेतृत्व दिनै चाहँदैनन् भनेर युवाले गनगन गर्नु भन्दा क्षमताको विकास गर्नेतिर लाग्नु उपयुक्त हुन्छ। सिर्जनात्मक सिकाइलाई कसरी व्यवहारमा देखाउने र अरूले भन्दा प्रभावकारी कार्य कसरी गर्ने भन्नेमा युवास्पष्ट हुनैपर्छ। आफ्नै क्षमता र दक्षताले मात्र जीवनपर्यन्त हिँड्न सकिन्छ। अरूको बैसाखी टेकेर केहीबेर हिँड्न सकिएला तर सधैंभरि हिँड्न सकिन्न।