फ्रान्सलाई चोटको चिन्ता

फ्रान्सलाई चोटको चिन्ता

दोहा : सन् २०१८ मा सहज रुपमा विश्वकप उपाधि जितेको फ्रान्स यो संस्करणको पनि बलियो दाबेदार हो। तुलनात्मक रुपमा चार वर्ष अगाडिभन्दा बलियो देखिएको फ्रान्सलाई चोटले भने ग्रस्त पारेको छ । मिडफिल्डर पल पोग्बा र एन’गोलो कान्टे सन् २०१८ मा डिडियर डेसच्याम्प्सको प्रमुख खेलाडी थिए। चोटका कारण दुवै खेलाडी कतारमा अनुपस्थित हुनेछन्। त्यसबाहेक दुई ‘हाई प्रोफाइल’ खेलाडी फ्रेन्च टिमबाट बाहिरिएका छन्।

२०२२ मा युरोपेली शीर्ष पाँच लिगमा ४८ गोलमा प्रत्यक्ष संलग्न क्रिस्टोफर एनकुन्कुलाई अन्तिम समयमा गुमाउनु डेसच्याम्प्सका लागि ठूलो घाटा थियो। यस वर्ष ३७ गोलसँगै ११ असिस्ट गरेका एनकुन्कु फ्रान्सकै काइलियन एमबाप्पेभन्दा मात्रै पछि छन्। एम्बाप्पेले ४३ गोल र १४ असिस्ट गरेका छन्। चोटले घायल भएको फ्रेन्च टिम बालन डी’ओर विजेता करिम बेन्जमा चोटकै कारण बाहिरिएपछि झन् विक्षिप्त बनेको छ। बेन्जमाले २०२१–२०२२ सिजनमा ४६ खेलमा ४४ गोल गर्दै रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको विजेता बनाएका थिए।

यति ठूलो पीडा सहेर पनि निडरतापूर्वक कुनै टिम मैदानमा उत्रिन सक्छ भने त्यो फ्रान्स नै हो। मंगलबार राति अस्ट्रेलियाविरुद्धको खेलमा सुरुवाती रोजाईको कुरा गर्ने हो भने सन् २०१८ को विश्वकप विजेता ‘फ्रन्ट थ्री’ ले पुनरागमन गर्ने सम्भावना प्रवल छ। चार वर्षअघि रुसमा एमबाप्पेसँगै ओलिभर जिरुड र एन्टोइन ग्रिजम्यानले फ्रान्सको अग्रपंक्ति सम्हालेका थिए। थिएरी अनरीले फ्रान्सको राष्ट्रिय जर्सीबाट सर्वाधिक ५१ गोल गरेका थिए। उनीभन्दा तीन गोलमात्रै पछाडि रहेका जिरुडले बेन्जमाको कमी हुन नदिने कोसिस गर्नेछन्।

‘पक्कै पनि मलाई यो स्वर्णिम अवसर मिलेको छ। थियरी अनरीलाई पछि पार्दै राष्ट्रका लागि सर्वाधिक गोलकर्ता बन्नु चानचुने कुरा होइन। मेरो दिमागमा पनि यो उपलब्धि हासिल गर्ने लालसा छ’, एसी मिलानका स्ट्राइकर जिरुडले भने, ‘तर टोलीको मुख्य लक्ष्य भनेको विश्वकप हो। विश्वकपमा उत्कृष्ट नतिजा ल्याउन हामी प्रतिबद्ध छौं।’

फ्रान्सले नेसन्स लिगको आफ्नो खराब लयलाई सुधार्न आवश्यक छ। डेसच्याम्प्सको टोलीले जुन र सेप्टेम्बरमा भएको नेसन्स लिगअन्तर्गतको ६ मध्ये एक खेलमा मात्रै जित निकालेको थियो। फ्रान्सले विश्वकपमा आफ्नो दौड मंगलबार अस्ट्रेलियाविरुद्धको खेलबाट सुरु गर्दैछ। अस्ट्रेलियाले प्लेअफमा पेरुलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको टिकट काट्न सफल भएको थियो। त्यो दिन एन्ड्रयु रेडमाइन नायक भएका थिए। तर, विश्वकपमा अस्ट्रेलियाको विगत बदल्न ग्राहम आर्नोल्डलाई नयाँ उत्साहको आवश्यकता पर्नेछ।

अस्ट्रेलिया पछिल्ला ६ विश्वकपमध्ये पाँच पटक समूह चरणबाटै बाहिरिएको छ। सन् २००६ मा मात्रै अस्ट्रेलियाले समूह चरण पार गरेको थियो। त्यो बेला आर्नोल्ड मुख्य प्रशिक्षक गुस हिड्निकका सहायक थिए। अस्ट्रेलियाले विश्वकपमा १३ प्रतिशत मात्रै खेल जितेको छ। विश्वकपमा खेलेका १६ मध्ये दुई खेलमा मात्रै जित निकालेको अस्ट्रेलियाको १० भन्दा धेरै विश्वकप खेल्ने राष्ट्रमध्ये दोस्रो खराब नतिजा हो। १० पटकभन्दा धेरै विश्वकप खेलेको बुल्गेरियाको मात्रै अस्ट्रेलियाको भन्दा खराब जित प्रतिशत (१२) छ। 

अस्ट्रेलिया पनि चोटले थलिएको टिम हो। मार्टिन बोयलले घुँडाको चोट बोकेपछि २८ वर्षीय विङ्गर आर्नोल्डको टिममा हुने छैनन्। उनको स्थानमा मेलबर्न सिटीका विङ्गर मार्को टिलियोलाई आर्नोल्डले चुनेका छन्। ‘मार्कोले विश्वकपका लागि तयार हुन भेका सबै परीक्षा पूरा गरेका छन्’, प्रशिक्षक आर्नोल्डले भने, ‘उनी सन् २०२० मा टोकियो ओलम्पिकमा टोलीका महत्वपूर्ण सदस्य थिए। उनले ‘ए’ लिगमा राम्रो प्रदर्शन गरिरहेका छन् र राष्ट्रिय टोलीसँग पनि परिचित छन्। उनले टोलीमा युवा जोस ल्याउने छन् भन्नेमा म
विश्वस्त छु।’

प्रभाव पार्न सक्ने खेलाडी

काइलिन एमबाप्पे (फ्रान्स)
विश्व फुटबलको सबैभन्दा तीव्र गतिका स्ट्राइकरमा गनिन्छन्, फ्रान्सका काइलिन एमबाप्पे। करिम बेन्जमा, पल पोग्बा र एनकुन्कुजस्ता खेलाडी गुमाएको फ्रान्सको सबैभन्दा ठूलो हतियार नै एमबाप्पे हुन्। सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाउन एमबाप्पेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चार वर्षअघि रुसमा भएको उक्त विश्वकपमा उनले सात खेलमा चार गोल गर्दै अविष्मरणीय छाप छाडेका थिए।

रुस विश्वकपमा एमबाप्पे फ्रान्सका लागि गोल गर्ने कान्छा खेलाडी मात्रै बनेनन्, विश्वकप फाइनलमा गोल गर्ने दोस्रो कान्छो खेलाडी (१९ वर्ष १८३ दिन) पनि बने। यसअघि सन् १९५८ मा विश्वकप फुटबलको फाइनलमा ब्राजिलका दिग्गज खेलाडी पेलेले सानो उमेरमा गोल गर्दै कीर्तिमान बनाएका थिए। 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा उत्कृष्ट प्रदर्शन गर्दै आएका एमबाप्पेले यस सिजन लिग वानको २० खेलमा १९ गोल गरेका छन्। त्यसैले चार वर्षअघिको जस्तै प्रभावशाली प्रदर्शन यस पटक पनि दोहोर्‍याउनेमा प्रशिक्षक डिडियस डेसच्याम्प्स आशावादी छन्। सन् १९५८ र १९६२ मा ब्राजिलले विश्वकपको उपाधि जितेयता कुनै पनि राष्ट्रले लगातार दुई पटक ट्रफी उचाल्न सकेका छैनन्। फ्रान्स लगातार विश्वकप ट्रफी उचाल्ने अभियानमा छ। यो अभियानमा डेसच्याम्प्सका सबैभन्दा भरपर्दा हतियार हुन्, एमबाप्पे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.