पर्सामा कांग्रेसले खाता खोल्यो, प्रदेशसभा सदस्यमा श्याम पटेल निर्वाचित
वीरगन्ज : पर्सामा नेपाली कांग्रेसले पहिलो जितको खाता खोलेको छ । पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार श्याम पटेल निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै पटेल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत पाएका हुन् । जसा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित पटेल , नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सचिव पनि हुन् । कांग्रेसको जिल्ला अधिवेशनमा उनी जिल्ला सभापतिका प्रत्यासी समेत थिए । पटेल , कांग्रेसमा नेता शेखर कोइराला समूह निकट मानिन्छन्।
पर्सामा ४ वटा प्रतिनिधिसभा सदस्य र बाँकी ७ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।