स्पेनलाई पहिलो खेलमै डर

स्पेनलाई पहिलो खेलमै डर

दोहा : विश्व फुटबलको महाकुम्भमा स्पेनको नाममा एउटा खराब कीर्तिमान छ। सन् २०१० को विश्व विजेता स्पेनले जति कुनै पनि टोलीले विश्वकपको पहिलो खेलमा पराजय भोगेका छैनन्। हालसम्म सात पटक हारबाट विश्वकप सुरु गरेको स्पेन यसपटक सजक देखिएको छ।

सन् २०१० मा आफ्नो पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–० को नतिजामा पराजित हुँदै विश्वकपको सुरुवात गरेको स्पेनले सोही संस्करणमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।
सन् २०१४ मा साविक विजेताका रुपमा ब्राजिल पुगेको स्पेनले पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५–१ को फराकिलो पराजय भोगेको थियो। दोस्रो खेलमा चिलीसँग पनि पराजित भएपछि समूह चरण पार गर्न असफल भएको थियो। सन् २०१८ मा रुसमा पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको नाटकीय बराबरीसँगै विश्वकप यात्रा सुरु गरेको स्पेन अन्तिम १६ को खेलमा आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यस पटक सुधारिएको प्रदर्शन गर्ने अपेक्षासहित स्पेन मध्यपूर्व आइपुगेको छ।

समूह ‘ई’अन्तर्गत बुधबार राति सेन्ट्रल अमेरिकी मुलुक कोस्टारिकाविरुद्ध खेल्दै स्पेनले विश्वकपको सुरुनात गर्नेछ। सन् २००८ देखि २०१२ को बीचमा दुई युरोपियन च्याम्पिनसिप र एक विश्वकप जितेको स्पेन त्यसयता ठूला प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। तर, युवाले भरिएको नयाँ पुस्ताको स्पेनिस टोली फेरि खुसीको क्षण फर्काउने अभियानमा छ। पेड्री र अन्सु फातीजस्ता युवा स्टार स्पेनको नयाँ आसका आधार हुन्।

मुख्य प्रशिक्षक लुइस इनरिकेले सन् १९९४ र २००२ को बीचमा स्पेनबाट विश्वकपमा १२ खेल खेलेका थिए। तर, खेलाडीका रुपमा उनले क्वार्टरफाइनल कहिल्यै पार गर्न सकेनन्। तर, प्रशिक्षकका रुपमा इनरिके क्वार्टरफाइनलबाट अघि बढ्न चाहन्छन्। स्पेनको प्रमुख लक्ष्य कतारमा सात खेल खेल्ने उनी बताउँछन्। ‘कतारमा सात खेल खेल्ने प्रमुख लक्ष्य हो’, इनरिके भन्छन्। इनरिकेको टिमका मार्र्को एसेन्सियो प्रमुख खेलाडी हुन्। जोडर्नविरुद्धको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका एसेन्सियोको इनरिकेले खुलेर बयान गरेका थिए। ‘उनले छुट्टै स्तरको खेल खेले। जुन उत्कृष्ट थियो’, इनरिकेले भने, ‘त्यो एटिच्युड र त्यो स्तर लिएर उनी जहाँ जसरी पनि खेल्न सक्छन्।’

बुधबार स्पेनको प्रतिद्वन्द्वीका रुपमा मैदानमा उत्रिने कोस्टारिकाले हालसम्म विश्वकपमा पाँच खेल मात्रै जितेको छ। तर, तीमध्ये तीन खेल विश्वकपको पहिलो खेल थिए। पाँचौं पटक विश्वकपमा छनोट भएको कोस्टारिकाले सन् २०१४ मा क्वार्टरफाइनल यात्रा तय गरेको थियो। त्यो कोस्टारिकाले विश्वकपमा तय गरेको सबैभन्दा लामो यात्रा मात्रै थिएन, अविश्वसनीय पनि थियो। उरुग्वे, इटाली र इङ्ल्यान्डसँग समूह ‘डी’मा परेको कोस्टारिका समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो।

पहिलो खेलमा उरुग्वेलाई ३–१ ले पराजित गरेको ब्रायन रुइजको टोलीले दोस्रो खेलमा इटालीलाई १–० ले स्तब्ध पारेको थियो। तेस्रो खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरीसहित अपराजित रहँदै प्रिक्वार्टरफाइनलमा पुगेको थियो। अन्तिम १६ मा ग्रिसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा पहिलो पटक पुगेको थियो। निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म गोल गर्नबाट रोकेको नेदरल्यान्ड्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु परेको थियो। सन् २०१८ समूह ‘ई’मा परेको कोस्टारिका जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। 

कोस्टारिकाका मुख्य प्रशिक्षक लुइस फर्नान्डो स्वारेजले स्पेनको खेल शैलीको खुलेर प्रशंसा गरेका छन्। तर, स्पेनलाई कठिन चुनौती दिन तयार रहेको पनि उनले बताएका छन्। ‘इनरिके उत्कृष्ट प्रशिक्षक हुन्’, स्वारेजले भने, ‘जुनसुकै अवस्थामा पनि स्पेनले संधै एउटै तरिकाले फुटबल खेल्छ।’ लामो समयदेखि विश्वकप खेल्दै आएकाले समूह चरण पार गर्न जुनसुकै रणनीतिक अवलम्वन गर्नु परे पनि अपनाउने उनले बताए। ‘हामी लामो समयदेखि विश्वकपमा छौं’, उनले भने, ‘हाम्रो समूह पनि एकदमै राम्रो छ। हामी अगाडि बढ्न आफ्नो सबैथोक लगाउने छौं।’

प्रभाव पार्न सक्ने खेलाडी

पेड्री (स्पेन)

इनरिकेको टिमबाट एक जना सर्वोत्कृष्ट खेलाडीका नाम लिनै कठिन छ। ५२ वर्षीय प्रशिक्षक पनि आफ्नो टिम यस्तै चाहन्छन्। उनका लागि टिम नै स्टार हो। तर, कोही एक खेलाडी जसले सुरुवाती ११ मा निर्विरोध स्थान बनाउने छ भने ती मिडफिल्डर पेड्री नै हुन्।

भर्खर १९ वर्ष पुगेका पेड्रीले बार्सिलोनाबाट करिब एक सय खेल खेलिसकेका छन्। त्यसबाहेक गत वर्ष युरोपियन च्याम्पियनसिपमा उनले देखाएको जादूले पनि उनलाई स्पेनको टिममा स्थापित मात्रै गरेको छैन, अपेक्षासमेत थपेको छ। यदि कसैको क्षमताको कुरा गर्ने हो भने ती खेलाडी पेड्री हुनुपर्ने बार्सिलोनाका प्रशिक्षक जाभी बताउँछन्।

सन् २०२१ मा ‘गोल्डेन ब्याय’ पुरस्कारबाट परस्कृत पेड्रीकै प्रदर्शनमा स्पेनको भविष्य अडिएको छ। उनले कस्तो प्रदर्शन गर्छन्, त्यसमै स्पेन अगाडि बढ्छ कि चाँडै घर फर्किन्छ भन्ने निर्भर रहन्छ। फुटबल विश्लेषक स्टु होल्डेन पेड्रीको उमेरमा भन्दा पनि उनको खेलमा बढी ध्यान दिनुपर्नेमा जोड दिन्छन्। ‘उसको उमेरमा ध्यान नदिऔं। उनले सानो उमेरमा पनि कस्तो राम्रो फुटबल खेल्छन्, त्यो हेरौं’, उनी भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.