पर्सा ३ मा एमालेका गुप्ता १५१ मतले विजयी
वीरगन्ज : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएका छन्।
मतगणना सुरु भएदेखि नै नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका गुप्ताबीच निकै प्रतिस्पर्धा देखिएको पर्सा ३ मा गुप्ता विजयी भएका हुन्।
एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार गुप्ता पाँच दलीय गठबनधनका उम्मेदवार चौधरीलाई १ सय ५१ मतको अन्तरले पराजित गर्दै जित हात पारेका हुन्।
गुप्ताले २४ हजार २ सय ६० .मतका साथ विजयी हुँदा चौधरीले भने २४ हजार १ सय ९ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राज कुमार यादवले भने १ हजार ४२ .मत पाएका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुप्ता , २०७० को निर्वाचनमा यहि क्षेत्रबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा भने १० हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा सीमित भएका थिए। त्यस बेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट हरिनारायण रौनीयार १५ हजार १ सय ६१ मतका साथ विजयी भएका थिए। दोस्रो स्थानमा रहेका कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत पाएका थिए।