सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरीको ह्याट्रिक
सप्तरी : सप्तरीको प्रतिनिधिसभा ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको नतिजा अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जनाए । जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत प्राप्त गरे । जसपाका विद्रोही उम्मेदवार कासिम मियाँ १ हजार ७१७ मत ल्याई पाँचौ स्थानमा रहे ।
गत निर्वाचनमा एक्लै लडेको कांग्रेसका चौधरीको २४ हजार ११३ मत आएको थियो । उनका निकटतम् प्रतिस्पर्धी राजपाका मृगेन्द्रकुमार सिंह यादवको १४ हजार ८८६ र एमालेका मो. इस्लामको १४ हजार ३०५ मत आएको थियो ।
२०७० सालको दोस्रो संविधान सभामा समेत निर्वाचित चौधरी २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस २, जनमत र जसपा एक/एक स्थानमा विजयी भएको छ । प्रदेश सभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक/एक सदस्यमा जित हासिल गरेको छ ।