डोटीका भूकम्पपीडितको अवस्था दयनीय बन्दै, चिसोमा त्रिपालमुनि बास

डोटीका भूकम्पपीडितको अवस्था दयनीय बन्दै, चिसोमा त्रिपालमुनि बास

डोटी : डोटीका भूकम्प पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ। लेकाली ठाउँ त्यसमा पनि हिउँदको समय अनि त्रिपालमै रात काट्नुपर्ने बाध्यताले उनीहरूको अवस्था दयनीय बन्दै गएको हो।

भूकम्प गएको तीन साता बितिसकेको छ। पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका भूकम्प पीडितहरू अस्थायी रूपमै भएपनि टहरा निर्माणका लागि गुहारी रहेका छन्। 

तत्काल राहातका लागि भनेर विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, न्यानो लुगा, भाँडाकुँडा लगायतका सामग्रीहरू वितरण गरे पनि अस्थायी बासका तथा स्थायी पुनर्निर्माणका लागि कसैले चासो देखाएको छैन।

स्थायी पुनर्निर्माणका लागि प्रदेश सरकार, संघीय सरकार लगायत विभिन्न निकायहरूसँग समन्वय भइरहेको भएपनि कसले बनाउने भन्ने हालसम्म कुनै टुंगो नलागेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। 

केही दिनमै स्थलगत अनुगमनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली आउने अध्यक्ष उपाध्यायले बताए।

भूकम्प प्रभावितका लागि पूर्वीचौकी गाउँपालिकाले काठ र टिनका अस्थायी टहरा निर्माण गर्ने अध्यक्ष उपाध्यायले बताए।

भूकम्पका कारण सबैभन्दा प्रभावित क्षेत्र गैरागाउँ लगायत आसपासका गाउँका एक सय २० घरहरू पूर्ण क्षति भएको थियो भने एक हजार ११ घर बस्न नमिल्ने गरी भत्किएका थिए।

त्यसैगरी तीन हजार ३७ घरपरिवारहरू विस्थापित भएका अध्यक्ष उपाध्यायले जानकारी दिए। गाउँपालिकाले पहिलो चरणमा एक सय २० वटा अस्थायी टहरा एक महिना भित्रै निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

भूकम्प पीडितहरूले बस्नलाई घर निर्माण गरिदिन सबैलाई आग्रह गरेका छन्। भूकम्पबाट घरपरिवारका तीन सदस्य गुमाएका पदम सिंह बोहराले पहिलो आवश्यकता घर भएको बताए। 

‘लुगाकपडा, खाद्यान्न विभिन्न संघ संस्था तथा गाउँपालिकाले दिइरहेको छ’, बोहराले भने, ‘चिसोका कारण त्रिपालको बसाइ दयनीय बन्दै गएको छ, कहिले घर बन्ला र घरमा बसौंला।’ 

लेकाली ठाउँ भएकाले केही समयपछि हिउ समेत पर्ने उनले बताए। कात्तिक २२ गते गएको भूकम्पमा पदमले श्रीमती, एक छोरा र एक छोरी गुमाएका थिए। हाल उनीसँग ६६ वर्षकी आमा र ११ वर्षकी छोरी छन्।

भूकम्प पीडितलाई लाउने खानेको चिन्ता छैन। चिन्ता छ त केवल हिउँदको चिसोको। 

‘कठ्याङ्ग्रिने चिसोमा बाँचिन्छ कि मरिन्छ त्रिपालको बसाइमा’, ६४ बर्षिय भगु देवी बोहराले आँसु झार्दै भनिन्, ‘यस्तो दुःख झेल्नुभन्दा भूकम्पमै गइदिएको भए हुन्थ्यो। पेट पाल्नभन्दा रात काट्न मुस्किल भइरहेको छ।'

प्राधिकरणको प्राविधिक टोली डोटी आउने

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने बताइएको छ। 
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आम निर्वाचनका कारण केही ढिला भएपनि केही दिनमै प्राधिकरणको टोली डोटी पुग्ने बताए।

प्राविधिक टोलीले स्थलगत निरीक्षणपश्चात् मात्र के कति घरमा क्षति पुगेको छ, सम्पूर्ण रूपमा अध्ययन गरी, स्टमेट तयार हुन्छ’ भट्टराईले भने, ‘कति घर पुनर्निर्माण गर्नुपर्छ, कति बजेट आवश्यक हुन्छ, सोही अनुसार पुनर्स्थापनाका लागि समय कति लाग्छ भन्न सकिन्छ।’ 

बझाङ र अछाममा समेत केही क्षति भएकाले सबै ठाउँमा गएर निरीक्षण गरी रिपोर्ट तयार गरुन्जेल करिब दुई महिना लाग्ने र त्यसपछि मात्रै पुनर्निर्माणका लागि पहल सुरु हुने उनले बताए।

२०७९ कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका- ३, गैरागाउँका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.