मौद्रिक नीतिका कारण मुद्रास्फीतिमा कमी

मौद्रिक नीतिका कारण मुद्रास्फीतिमा कमी

काठमाडौं : दैनिक महँगीको मार खेपेका आमउपभोक्ता अझै मूल्यवृद्धि दोहोरो अंकमा बढ्ने अनुमान गर्छन्। अहिलेको भोगाइलाई आधार मानेर आगामी वर्र्ष झन् मूल्यवृद्धि बढ्न सक्ने आकलन उनीहरूको छ। केन्द्रीय बैंकले मुद्रास्फीतिबारे गरेको यो छैटौं सर्वेक्षण हो।

तर, पछिल्लो समय कसिलो मौद्रिक नीतिका कारण अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ। राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९-८० (२०२२-२३) को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले यस्तो देखाएको हो। 

केन्द्रीय बैंकका अनुसार उक्त सर्वेक्षण २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। प्रस्तुत परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन्। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८ सय ९९ थप व्यक्तिहरू थपिएको र यसरी धेरै जनाबाट महँगीको वास्तविक चित्रण आउन सक्ने केन्द्रीय बैंकले बताएको छ। 

‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ अनुसार तीन महिनापछिको मध्य र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको अध्ययनले पनि देखाएको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। 

सार्वजनिक नतिजाअनुसार ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ। 

यसैगरी, खाद्य र खाद्यवस्तु, गैर–खाद्यवस्तु तथा सेवा, घरजग्गा (आवास) लगायतमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ। खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ। 

कार्यकारी निर्देशक डा. श्रेष्ठ हामीले कसिलो मौद्रिक नीति लिएकाले हिजोको तुलनामा मूल्यवृद्धि तत्काललाई बढ्दैन भन्ने अपेक्षा सर्वेक्षणबाट देखिएको बताए। ‘यो उत्तरदाताहरूको अपेक्षा हो। भोलिको दिनमा महँगी बढ्न सक्छ वा सक्दैन भन्न सकिँदैन। तर आजको दिनमा भएको तथ्यांकमा रहेर आंकलन मात्रै गरेको हो। हामीले ३ महिना, १ वर्षपछि कति होला भनेर सोधेका छौं। अब हामीले पुसमा फेरि सर्वेक्षण गर्छौं,’ उनले भने। 

उनको अनुसार हामीले मूल्यवृद्धि घट्नुपर्छ भनेर मौद्रिक नीति तय गरिएको थियो। सर्वेक्षणले यो प्रभावकारी भएको उनको भनाइ छ। ‘सर्वेक्षणमा धेरैले गरेको अनुमान मेल खाने गरेको छ। यसले अबको महँगीको संकेत गर्ने र आगामी दिनमा सजग बनाउन मद्दत गर्नेछ,’ उनले भने। यद्यपि नेपाल राष्ट्र बैंकले हरेक महिना चामल, साग, दाललगायतका उपभोग्य वस्तु आदि गरेर ४ सय ९६ वस्तुको बजारमूल्यमा रहेर मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गर्ने गर्दछ। 

चालू आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतको सीमामा राख्ने भनिएको छ। तर केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आवको असोजसम्ममा समग्र मुद्रास्फीति साढे ८ प्रतिशत पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.