सुपरस्टार बन्लान् वेलिङ्घम ?

सुपरस्टार बन्लान् वेलिङ्घम ?

दोहा : वाइन रुनी १८ वर्ष अगाडि आफूलाई सम्झिँदै भन्छन्, ‘म विश्वकै उत्कृष्ट खेलाडी थिएँ। म जत्तिको कोही पनि थिएनन्।’ १८ वर्षका रुनीले अमाजन प्राइमको एक डकुमेन्ट्रीमा भनेका छन्, ‘म यसमा विश्वस्त थिएँ। पेले, डियगो म्याराडोना वा जर्ज बेस्ट पनि थिए। तर, त्यसको मतलब थिएन।’

त्यसबेलाका इङ्लिस प्रशिक्षक स्भेन गोरन एरिक्सन पनि रुनीकै कुरामा समर्थन जनाउँछन्। ‘हामीले पछिल्लो पटक युवा खेलाडीले विश्वकपमा ठूलो प्रभाव पारेको देखेको सन् १९५८ विश्वकपमा हो’, एरिक्सन भन्छन्, ‘त्यसपछि विश्वकपमा ठूलो प्रभाव पार्ने १८ वर्षका कोही पनि खेलाडी देखेको छैन। एरिक्सनको यो अभिव्यक्ति असामान्य लागे पनि सन् १९५८ मा १७ वर्षीय पेलेले मच्चाएजस्तो सनसनी कुनै पनि किशोरले विश्वकपमा मच्चाउन सकेका छैनन्। पेलेले चार खेलमा ६ गोल गरेका थिए। तीमध्ये दुई गोल उनले फाइनलमा गरेका थिए। त्यो विश्वकपमा पेलेको प्रभाव साँच्चै अविश्वसनीय थियो।

यसैगरी सीमित खेलाडीले मात्रै विश्वकप वा युरोपियन च्याम्पियनसिपमा रुनीले पोर्चुगलमा गरेकोजस्तो प्रदर्शन गरेका छन्। रुनीको पेलेसँग कुनै तुलना नै हुँदैन। त्यसैले जबजब युवा खेलाडीको चर्चा हुन्छ, पेलेकै कुरा हुन्छ। अहिलेसम्म १९ वर्षमुनिका तीन किशोरले मात्रै विश्वकपको फाइनल खेलेका छन्। सन् १९५८ मा ब्राजिलका पेले (१७ वर्ष), सन् १९८२ मा इटालीका डिफेन्डर ग्विस्पे बर्गोनी (१८ वर्ष) र सन् २०१८ मा फ्रेन्च फरवार्ड काइलिन एमबाप्पे (१९ वर्ष) छन्। चार वर्षअघि फ्रेन्च फरवार्डले सनसनी मच्चाउँदा पेलेसँगै जोडेर उनको प्रशंसा भएको थियो। फ्रान्सलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पे कतारमा पनि त्यही प्रदर्शन दोहोर्‍याइरहेका छन्। 

सन् १९९८ को विश्वकपमा १८ वर्षीय माइकल ओवेनले सनसनी मच्चाएका थिए। तर, अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआटमा स्तब्ध भएपछि उनीसँगै इङ्ल्यान्डको यात्रा पनि समाप्त भएको थियो। सन् २००४ को युरोकपपछि प्रमुख प्रतियोगितामा ठूलो प्रभाव पार्ने पछिल्ला इङ्लिस युवा खेलाडी जुड वेलिङ्घम हुन्। कतारमा जारी विश्वकपमा उनको प्रभाव साँच्चै असाधारण छ। विश्वकपमा भने १९९८ मा ओवेनपछि उनको प्रभाव सबैभन्दा उत्कृष्ट छ।

समूह चरणका पहिलो खेलमा इरानविरुद्ध वेलिङ्घमले अलराउन्ड प्रदर्शनको नमुना प्रस्तुत गरिरहेका छन्। वेलिङ्घमले नै जारी विश्वकपमा इङ्ल्यान्डका लागि पहिलो गोल गरेका थिए। इरानविरुद्धकै खेलमा उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए। अन्तिम १६ अन्तर्गत सेनेगलविरुद्ध गारेथ साउथगेटको टिम डेडलक तोड्न संघर्षरत थियो। मिडफिल्डबाट फाइनल थर्डमा बल पुर्‍याउन संघर्षरत इङ्ल्यान्डले ३९औं मिनेटमा पहिलो गोल गरेको थियो। वेलिङ्घमकै पासमा जोर्डन हेन्डरसनले गोल गर्दै खाता खोलेका थिए।

वेलिङ्घमले पेनाल्टी एरिया नजिक बल खोसेर फिल फोडेनलाई दिएका थिए। फोडेनले गरेको क्रसलाई कप्तान हेरी केनले गोलमा परिणत गर्दै अग्रता दोब्बर पारेका थिए। अर्कारित गाभी, पेड्री र जमल मुसियाला भए पनि वेलिङ्घम जारी विश्वकपमा सन् १९९८ मा ओवेन र सन् २००४ मा रुनीकाझैं प्रभाव देखाइरहेका छन्। वेलिङ्घम धेरै युवा भएकाले उनका सहकर्मी फोडेनले धेरै तारिफ गर्न चाहेनन्। तर, सेनेगलविरुद्धको खेलपछि उनी ‘विश्वकै उत्कृष्ट मिडफिल्डर बन्ने’ बताए। 

जारी विश्वकपमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरिरहेका वेलिङ्घम युरोपेली फुटबलका ‘हट प्रोपर्टी’ बनिसकेका छन्। आगामी सरुवा बजारमा उनलाई भित्र्याउन ठूला क्लबहरू लागिपर्ने छन्। इङ्ल्यान्डले समय–समयमा विश्वस्तरीय मिडफिल्डर जन्माइरहेको छ। स्टेभन जेरार्ड र फ्रान्क लाम्पार्ड त्यसका उदाहरण हुन्। तर, व्यवसायिक फुटबलका सफल खेलाडी भए पनि अन्तर्राष्ट्रिय स्तरमा सफल हुन नसक्दा उनीहरूलाई इङ्ल्यान्डभित्रै खासै महत्व दिइँदैन। व्यवसायिक पक्षबाट जेरार्ड–लाम्पार्ड हाराहारी पुग्न वेलिङ्घमले धेरै यात्रा गर्नुपर्नेछ। तर, उनीहरूलाई उछिन्ने मौका उनीसँग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.