दुप्चेश्वरमा सन्तान माग्दै भक्तजन
नुवाकोट : दोस्रो पशुपतिनाथको उपनामले प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्यपूर्णिमाका अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दूधको धारा चढाएका छन्। निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकीय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनहरूले सहभागिता जनाएका छन्।
दुप्चेश्वरमा यस वर्ष मेलाका अवसरमा तीन लाखभन्दा बढीले मेला भरेको निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
साताव्यापी रुपमा लागेको मेलामा हजारौं निःसन्तान दम्पत्तिले सन्तान प्राप्तिको माग गरेका छन्। मेलामा देश–विदेशबाट समेत तीर्थालुहरूको सहभागिता रहेको थियो।
सदरमुकाम बिदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका–६ (साविकको राउतबेशी गाविस–८)स्थित तादी खोलाको पूर्वी पहरोमा रहेको दुप्चेश्वरमा यस वर्षको मेला दुप्चेश्वरलाई दूधको धारा चढाउँदै बिहीबार सम्पन्न भएको छ।
यो वर्ष भक्तजनको संख्या गत वर्षभन्दा २५ प्रतिशत बढेको मेला आयोजक समितिले जनाएको छ। मेलामा दुई सातासम्म ३ लाख १० हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर गापाका अध्यक्ष शंकरबहादुर थापाले बताए। दुप्चेश्वर क्षेत्र विकास कोषका सदस्य किशोर आचार्यले मेलामा देशविदेशबाट समेत तीर्थालु आएको जनाए।
धान्यपूर्णिमाका अवसरमा नुवाकोटको दुप्चेश्वरमा लागेको मेला ।