हात्तीले पाँच घर भत्कायो
![हात्तीले पाँच घर भत्कायो](https://annapurnapost.prixacdn.net/media/albums/Elephant1_20221211180317_Kf7sthQzs2.png)
राजविराज : सप्तरीको कञ्चनरुपमा हात्तीले वितण्डा मच्चाउन थालेको छ। शनिबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले कञ्चनरुप नगरपालिका–१२ मा पाँच घर भत्काएको छ। सँगै किसानको धानबाली समेत नष्ट गरेको छ।
कञ्चनरुप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई ओटा घर, सन्जु मण्डलको दुईवटा घर र कैलीरामको एउटा घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गर्दा करिब चार लाख रुपियाँ बराबरको क्षति भएको कञ्चनरुप नगरपालिका–१२ का वडा सदस्य मियाँले जानकारी दिए।
हात्तीले घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत खाइदिएको छ। जङ्गली हात्ती वडा नम्बर १२ को बस्तिपुर, श्रवणपुर, सीतापुर, चर्खिया लगायतका गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली र अन्नबाली समेत खाएर, कुल्चिएर नोक्सान पुर्याएको स्थानियले बताएका छन्।
‘मध्यरात परे पछि जंगलबाट आएर घर भत्काउन थाल्यो’ स्थानीय दलुलाल मण्डलले भने, ‘हात्तीको आएको थाहा पाएर आफ्नो र बालबच्चाको जिउ जोगाउन सक्यौं।’ उनको घरसँगै रहेका अन्य तीन घर पनि हात्तीले भत्काएको छ।
हात्ती गाउँमा पसेपछि गाउँलेहरू रातभरी डरत्रासमा जाग्राम बसेका छन्। सालैपिच्छे यस भेगमा हात्तीले आतंक मच्चाउनुका साथै मानिसको ज्यान समेत लिने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)