मुस्ताङमा ९ हजार ६०३ मेट्रिक टन आलु उत्पादन
![मुस्ताङमा ९ हजार ६०३ मेट्रिक टन आलु उत्पादन](https://annapurnapost.prixacdn.net/media/albums/Potato_Mustang1_20221212184448_MHmKhs1pTi.jpg)
जोमसोम: मुस्ताङमा चालु आर्थिक वर्षमा ९ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएको छ। ३१२ हेक्टर क्षेत्रफलमा यो आलु उत्पादन भएको कृषि ज्ञानकेन्द्र मुस्ताङले जनाएको छ।
केन्द्रका अनुसार उत्पादित आलु मध्ये ७० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ। २० प्रतिशत बिउका लागि खपत हुन्छ भने १० प्रतिशत जिल्लामै खपत हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। मुस्ताङमा प्रति हेक्टर औसत ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। चालु आर्थिक वर्षमा कुल उत्पादनको ७० प्रतिशत अर्थात ६ हजार ७२२ मेट्रिक टन आलु जिल्ला बाहिर निर्यात हुँदा करिव ३३ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका कृषि प्राविधिक, स्थानीय तह र सम्बन्धित किसानका बारीमा पुगेर तथ्यांक संकलन गरिएको बस्ताकोटीले बताए ।
हिमाली क्षेत्र, चिसो हावापानीमा उत्पादित मुस्ताङी आलुको विशेष माग छ। पातलो बोक्रा र छिटो पाक्ने मुस्ताङी आलु स्वादिलो हुन्छ। अहिले मुस्ताङमा आलु प्रतिपाथी १५० रुपैयाँदेखि २१० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। प्रति पाथीमा ३ केजी र १ मुरी आलुमा सरदर ६० केजी तौल हुन्छ।
मुस्ताङमा सडक यातायात सहज भएसँगै आलुको दरभाउ पनि बढ्न थालेको स्थानीय किसान अजित थकालीले बताए । उनले वर्षेनी आलुको दाम १० प्रतिशतले बढ्दै गएको बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)