स्वास्थ्य संस्थामा सुत्केरी हुँदा मातृमृत्यु र बाल मृत्युदर घट्यो
मुगु : मुगुमा स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरेर सुत्केरी हुने बढेपछि मातृमृत्यु र बालमृत्यु घटेको छ।
आर्थिक वर्ष ०७७/७८ मा एक हजार ४५ जना संस्थागत सुत्केरी भएको थियो। २३ जना महिला मात्र घरमा सुत्केरी भएका थिए। जुन कुल सुत्केरीमध्ये २.२० प्रतिशत घरमा सुत्केरी भएका हुन्।
यो एक वर्षमा १० जना नवजात शिशुको मृत्यु भएको थियो। जुन कूल जन्मेका शिशुमध्ये झन्डै एक प्रतिशत (०.९५ प्रतिशत)को मृत्यु भएको हो।
आर्थिक वर्ष ०७८।७९ मा जिल्लाका चारवटै स्थानीय तहमा गर्भवती महिलाहरूले नियमिति चेकजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुनेका संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।
यो साल जिल्लामा एक हजार २१६ जना महिलास्वास्थ्य संस्थामा सुत्केरी भएका थिए। सात जना महिला मात्रै घरमै सुत्केरी भएका थिए। जुन जिल्लाको कुल सुत्केरी महिलाको १.८९ प्रतिशत मात्र घरमा सुत्केरी भएका थिए।
यो वर्ष ६ जना नवजात शिशुको मृत्यु भएको थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा आधा कम अर्थात् ०.४९ प्रतिशत शिशुको मात्र मृत्यु भएको देखिन्छ।
छ जना गर्भवती महिलालाई जिल्लामा सुत्केरी गराउन जटिल भएपछि राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकार पशुराम नेपालीले बताए।
चालू आर्थिक वर्षमा एक जना पनि सुत्केरी र नवजात शिशुको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा एक अस्पातल एक प्रथामिक स्वास्थ्य केन्द्र र ३२ प्रसूति केन्द्र छन्।
यी सबै स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति हुनुका साथै नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने गर्भवती महिलाहरूलाई यातायात खर्चबापत ३ हजार ८०० रुपैयाँ रकम उपलब्ध गराउँदै आएकाले र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र शिशु दुवैको स्वास्थ्य अवस्थामा स्वास्थ्यकर्मीबाट हेरविचार हुने भएकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवति महिलाको संख्यामा
वृद्धि हुन पुगेको हो।
अहिले जिल्लामा मातृ मृत्युदर पनि शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए। पहिले–पहिले आफूलाई पायक पर्ने स्थानमा प्रसूति केन्द्र थिएनन्।
अहिले प्रत्येक वडामा स्वास्थ्य संस्था र प्रसुति केन्द्र छन्। सबै ठाउँमा तालिम प्राप्त जनशक्ति पनि छन्। अहिले सुत्केरी हुनुअघि अनिवार्य रुपमा नियमित चार पटक गर्भवती चेकजाँच हुन्छ। स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउँदा यातायात खर्च र आमा शिशु दुवैलाई न्यानो कपडा पाइन्छ।
घरमा सुत्केरी हुँदा आमा शिशु दुबैको ज्यानमा खतरा हुने भएकाले पनि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन महिला तथा घरपरिवारमा चेतना विकास भएकाले सबै गर्भवती महिला स्वास्थ्य संस्थामा पुग्ने गरेको जिल्ला अस्पातलमा सुत्केरी भएकी सदरमुकाम गमगढी बस्दै आएकी जुम्ला सिंजाकी सरिता बुढाले बताइन। उनले भनिन्, ‘स्वास्थ्य संस्थामा सुत्केरी हुँदा शिशु र आमा दुबैको स्वास्थ्य अवस्थालाई
ख्याल गरिन्छ।
जोखिमपूर्ण भए राम्रा अस्पतालमा रिफर हुन्छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा प्रोत्साहन स्वरुप पैसा पाउँदा तत्काल सुत्केरीलाई पोषिलो खाना खाने पैसा आउँछ।’