२१ करोडमा बनेको फाप्लु अस्पतालको भवन चार महिनामै चर्कियो
सोलुखम्बु: सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको नयाँ भवन उद्घाटनको चार महिनामै चर्किएको छ।
सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्मित भवन गत असार २५ गते मात्रै उद्घाटन गरिएको थियो। उद्घाटनको चार महिना नबित्दै नयाँ भवन चर्किएको हो।
भवनको अगाडी पट्टि उत्तरतर्फको भागबाट चिरा पर्न थालेको छ। निर्माण सम्पन्न भएको चार महिनामै भवन चर्किन थालेपछि निर्माण कम्पनीको गुणस्तरियतामै प्रश्न उठेको छ।
३० शैय्याको सुविधा सम्पन्न भवन ०७६ साल पुस २७ गतेदेखि निर्माण कम्पनी विकोई रौता जेभिले निर्माण गरी गत असार २५ गते अस्पताललाई हस्तान्तरण गरेको थियो ।
सगरमाथामा आरोही सर एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये नवनिर्मित भवन ७ रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ।