हतार भएछ
सुक्दैछ खोलो भनि जान्नु पर्थ्यो।
यो साँघु तेर्सिन हतार भएछ।
विकासको मूल फुट्यो भनेर।
खुसी भयौं सब पुतली बनेर।।
मख्खै पर्यौँ जागिरमा भुलेर।
चिप्लो घस्यौँ मालिक सम्झिएर।।
दुहुनु गाई भनि सम्झिएर।
भुसा कुँडो घाँस हरू दिएर।।
पाल्यौं मजाले दुध सम्झिएर।
हिँड्दैछ पानी सहितै लिएर।।
सुख्खा हुनेछन सब खेतबारी।
बस्छौँ घरैमा अब बातमारी।।
हिउँदै तमासा अब क्यै हुँदैन।
बाझिँन्छ बारी अब जोतिंदैन।।
असारलागे पछि मूल फुट्छ।
वैरिन्छ पानी अनि बाँध टुट्छ।।
खुसी बनौँला अनि त्यतिखेर।
विकासको मूल फुटो भनेर।।
(जलविद्युत विकास नीतिमा नदी, खोलाको न्युनतम मासिक औसत बहावको कम्तीमा १० प्रतिशत वा वातावरणीय प्रभाव मूल्याकंन अध्ययन प्रतिवेदनबाट देखिएको न्यनतम आवश्यक मात्राको पानी नदी, खोलामा छोड्ने व्यवस्था मिलाइने उल्लेख हुन्छ तर रामेछाप- ओखलढुंगाको सीमानामा रहेको लिखु जलविद्युत आयोजना-३, (स्वेत गंगा हाइड्रोपावर)ले कूल जलको कम्तीमा १० प्रतिशत पानी नदीमा बग्न नदिएपछि सुख्खा बनेको लिखु नदीलाई केन्द्रित गरेर रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका-२ सैपुका ध्रुवकुमार पौडेलले लेखेको कविता ।)