अस्ताए बुद्ध एयरका संस्थापक

अस्ताए बुद्ध एयरका संस्थापक

काठमाडौं  : बुद्ध एयर नेपालको निजी विमानसेवा कम्पनीमध्ये सबैभन्दा लामो समय नेपाली आकाशमा उडान भर्ने नेपाली विमान कम्पनी हो। सुरक्षित र भरपर्दो सेवाका लागि पहिलो रोजाइ नै बुद्ध एयर बनेको छ। बुद्ध एयरलाई यो अवस्थामा पुर्‍याउनका लागि  सुरेन्द्रबहादुर बस्नेतको महत्त्वपूर्ण योगदान रहेको कम्पनीका मानव संसाधन विभाग प्रमुख खगेन्द्र बस्नेत सम्झिन्छन्। 

वि.सं. १९८४ मा जन्मिएका बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको छ। उनै बस्नेतले ७० वर्षको उमेरमा निजी क्षेत्रको उड्डयन कम्पनीको रूपमा बुद्ध एयर स्थापना गरेका हुन्। सन् १९९७ मा स्थापना भएको बुद्ध एयरले २५ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको छ। 

बुद्ध एयरको आन्तरिक उड्डयन क्षेत्रमा करिब ६५ प्रतिशत बजार हिस्सा छ। करिब १२ गन्तव्यमा कम्पनीले दैनिक ७५ उडान गर्दै आएको छ। बुद्ध एयरसँग १६ विमान छन्। ११ वटा ७२ सिट क्षमताका, ३ वटा ४७ सिट क्षमताका र २ वटा १९ सिट क्षमताका विमान छन्। कम्पनीले चालू आर्थिक वर्षमा करिब १४ अर्ब आम्दानीको लक्ष्य छ। ७२ सिटे थप तीन विमान ल्याउन तयारी भइरहेको कम्पनीका मानव संसाधन विभाग प्रमुख खगेन्द्र बस्नेत बताउँछन्। 

सरकारी सेवाबाट अवकाश पाएपछि स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतले उड्डयन क्षेत्रमा लाग्ने निधो गरेका हन्। कारण थियो, बस्नेतका कान्छा छोरा शिवेन्द्रबहादुर बस्नेत सन् १९९४ मा हेलिकप्टर पाइलटको तालिम पूरा गरेर युक्रेनबाट फर्किएका थिए। त्यसपछि बाबु–छोरा त्रिकुटले पहाडी देशमा हवाई यातायातको आवश्यकता र बढ्दो मागलाई सम्बोधन गर्न सके ठूलो परिवर्तन गर्ने कुरा महसुस गरे। चाँडै नै उनीहरूले सन् १९९७ मा एकपटक र सदाको लागि औपचारिक रूपमा बुद्ध एयरको स्थापना गरे। 

घर सल्लाह हुँदा नेपालमा एउटा हेलिकप्टर कम्पनी खोल्ने सल्लाह भएबमोजिम बुद्ध एयर दर्ता भएको थियो। केही पार्टनरसँगको सहकार्यमा नै कम्पनी दर्ता भएको थियो। पछि समय परिस्थितिले हेलिकप्टर होइन, एयरक्राफ्ट नै ल्याउनुपर्छ भन्ने छलफल भएको मानव संसाधन प्रमुख बस्नेत सुनाउँछन्। 

बस्नेतले सन् १९९७ मा नयाँ एयरक्राफ्ट किनेका थिए। उनले अमेरिकामा निर्मित बीच १९०० डी नामक महँगो जहाजबाट पहिलो उडान सुरु गराएका थिए। त्यतिबेलामा उड्डयन क्षेत्रका जानकारसँगको छलफलपछि सुरेन्द्र बस्नेतले बीच १९०० डी भिœयाउने निर्णय लिएका थिए। सरकारी नेपाल वायु सेवा निगम र निजी क्षेत्रको निकोन एयरसँग प्रतिस्पर्धा गर्ने गरी बुद्धले नयाँ जहाज किनेको थियो। 

११ अक्टोबर १९९७ मा क्याप्टेन आरके शर्मा र अमेरिकी पाइलट क्याप्टेन केभिन सेन्ट जर्मेनले १६ यात्रुहरूको पहिलो समूहलाई लिएर उडान भरेको थियो। काठमाडौं एयरपोर्टबाट माउन्टेन फ्लाइट गर्ने गरी सगरमाथासम्म र त्यहाँबाट काठमाडौं एयरपोर्टसम्मको लामो उडान भरेको थियो। यो उपलब्धि कुनै एयरलाइन्सले आफ्नो पहिलो उडानमा गरेका थिएन। यसले बुद्ध एयरलाई विश्वास स्थापित गर्न मद्दत गर्यो। 

‘त्यतिबेला मान्छेहरूले बस्नेतले किन यसो गरेको हो। चार जहाज किन्न पुग्ने पैसाले एउटा जहाज किनेको छ, यत्रो महँगो जहाज किनेको छ, सम्पत्ति डुबाउने भयो भन्ने हल्ला चलाएका थिए,’ खगेन्द्र बस्नेत भन्छन्, सबैको आलोचनाको बाबजुद गुणस्तरीय हवाई सेवा दिनुपर्छ भन्ने सोचले बुद्ध एयर सञ्चालन गरिएको थियो।’

निकोन एयर इतिहास बनिसक्यो भने निगममा चरम राजनीतिका कारण जहाज संख्यासँगै गन्तव्य पनि खुम्चिएको छ। बुद्ध एयरलाई अहिलेको स्थानसम्म पुर्‍याउनका लागि बस्नेतले नियम, कानुनलाई अक्षरशः पालना गरेका थिए। नियामक निकायको मापदण्ड मानेर अनुशासित भएर कम्पनी सञ्चालन गर्नुपर्छ भन्ने सोच राख्थे। कर्मचारी राख्दा पनि जागिर आवश्यक भएका मानिसलाई दिनुपर्छ त्यसपछि मात्र उनीहरूले मेहनतका साथ काम गर्छन् भन्ने गरेको खगेन्द्र बस्नेत सम्झिन्छन्। स्वर्गीय बस्नेतले कहिल्यै पक्षपात गर्दैनथे।

जीवनको उत्तरार्धमा उड्डयन क्षेत्रमा लागेका बस्नेतले भारतस्थित बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरेका थिए। नेपाल सरकारको उच्च ओहोदामा रहेर काम गरेको लामो अनुभव पनि उनीसँग थियो। तत्कालीन राजा महेन्द्रसँग नजिक भएर काम गरेको अनुभव पनि उनीसँग थियो। स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत पूर्वमन्त्री पनि हुन्। 

यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसिर १ गतेको मन्त्रिमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) भएका थिए। नेपालको सबैभन्दा कान्छो सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत बनेका थिए। सुरेन्द्र कार्यकारी अध्यक्षकै जिम्मेवारीमा रहे पनि हाल बुद्ध एयर उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.