को होला प्रदेश १ को मुख्यमन्त्री ?

को होला प्रदेश १ को मुख्यमन्त्री ?

विराटनगर: केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेश-१ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) ले औपचारिक दाबी प्रस्तुत गरेको छ।

माओवादी केन्द्र प्रदेश १ समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेको हो। प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले जारी गरेको विज्ञप्तिमा प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्ने उल्लेख छ। विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट ३ सदस्यीय वार्ता समिति समेत गठन गरिएको जनाएको छ। 

पार्टीका अनुसार केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा ईन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्बाङ सदस्य रहेको वार्ता समिति निर्माण गरिएको हो। माओवादी केन्द्रका प्रदेश अध्यक्ष नेम्बाङले भने, ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबी सहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरुसँगको छलफलका निम्त्ति वार्ता समिति गठन गरेका छौं।’

प्रदेश १ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ गरी कुल ९३ जना सांसद छन्। जसमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ। जसअनुसार केन्द्रमा फेरिएको सत्ता समीकरणले गर्दा प्रदेश १ मा पनि एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमत भएकाले मुख्यमन्त्री पनि यी दुई दलबाट कुनै एकले पाउने देखिन्छ। माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री पदका दाबेदार छन् भने एमालेबाट हिक्मत कार्कीले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। आङ्बो प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री हुन् भने कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्।

ठुलो दलको हैसियतले प्रदेश १ को मुख्यमन्त्री एमालेले पाउनुपर्ने जिकिर पार्टीका स्थायी कमिटी सदस्य समेत हिक्मत कार्की गर्छन्। निर्वाचनमा सहकार्य गरेर आएको राप्रपा र जसपाको बहुमतसँगै नयाँ समीकरणको गठबन्धनले ६० सिट पुग्ने उनी बताउँछन्। उनी भन्छन, ‘केन्द्रको सत्ता बाँडफाँड सही ढङ्गले भए प्रदेश १ मा एमाले नेतृत्वको सरकार निर्माण निश्चित छ।’

आईतबारदेखि केन्द्रको सत्ता समीकरण फेरिएसँगै स्वभाविक रुपमा त्यसको प्रत्यक्ष प्रभाव प्रदेश १ मा पनि परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले छ भने, माओवादी केन्द्र तेस्रो स्थानमा छ। यसअघिको गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले प्रदेश १ को नेतृत्वमा दाबी गर्दै आएको थियो। तर, एमाले र माओवादी पुनः एक भएपछि नेपाली कांग्रेस प्रदेश १ को मुख्यमन्त्रीको रेसबाट आउट भएको छ।

माओवादी केन्द्रले प्रदेशको मुख्यमन्त्रीका लागि केन्द्रमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई प्रस्ताव गरेको छ। प्रदेश १ मा यसअघि पनि एमालेले नेतृत्व पाएको हुनाले अब माओवादीलाई चान्स दिनुपर्ने पार्टीका प्रदेश सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ बताउँछन्। ‘यसअघिको सरकारमा माओवादी केन्द्रले ७ मध्ये २ प्रदेशमा मुख्यमन्त्री पाएको थियो। त्यो पनि कर्णाली र सुदुरपश्चिममा,’ उनी भन्छन, ‘अब त्यसो हुँदैन्। सधैं पश्चिमतिरको मुख्यमन्त्री दिएर हुँदैन्। यसपटक प्रदेश १ को नेतृत्व माओवादी केन्द्रले गर्न पाउनुपर्छ। यसमा हाम्रो सशक्त दाबी छ।’

दोस्रो पटक प्रदेश सभा सदस्य पदको निर्वाचन जितेका आङ्बोले एक कार्यकालमा दुईपटकसम्म अर्थमन्त्रीको कार्यभार सम्हालिसकेका छन्। अनुभवको आधारमा पनि आफुले मुख्यमन्त्री पाउनुपर्ने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.