छुटेको पढाइ सुधार्न ‘रिमेडियल’ कक्षा
काठमाडौं : कोभिड महामारीका कारण कक्षाकोठाको पढाइ र सिकाइमा असर परेपछि काठमाडौं शंखरापूर–८ स्थित श्री उग्रतारा सेकेन्डरी स्कुलको कक्षा ७ की सदिक्षा थिङले रिमेडियल कक्षामा भाग लिइन्। उनी यस्तो कक्षामा सहभागि भएर छुटेका विषयमा सिकाइ उपलब्धि हासिल गरेको बताउँछिन्। थिङ भन्छिन्, ‘यो कक्षामा छुटेको कुरा पढ्नदेखि अनुशासन सिक्न र आत्मविश्वास बढाउन सहयोग पुगेको छ। कक्षाले धेरै साथीलाई परिवर्तन गरेको छ।’ पहिला भन्दा अहिले साथीहरूको व्यवहार, अनुशासनमा विकास भएको उनले बताइन।
गणित र अंग्रेजीमा कमजोर भएका विद्यार्थीलाई केही हदसम्म सहयोग पुगेको थिङ सुनाउँछिन्। अध्ययनसँगै अतिरिक्त क्रियाकलापले गर्दा आत्मविश्वास विकास र पढाइमा रुचि बढेको उनको अनुभव छ। ‘धेरै साथीहरूको बोलीचालीमा सुधार भएको छ। ढुक्क भएर आफ्नो कुरा राख्न सक्छौं। यो सुधार आफ्नो मात्रै नभइ सहभागी सबैमा देखिएको छ।’ उनले भनिन्।
उनी मात्रै होइन यस्तो कक्षाबाट मुलुकभरका ८ हजार ६ सय ९९ विद्यार्थीले लाभ लिएका छन्। यसमा ४ हजार ५ सय ४२ छात्रा र ४ हजार १ सय ५२ छात्रले अंग्रेजी र गणित विषयको लाभ लिएका छन्। सहभागी बालबालिकाले सो विषयमा उपलब्धि हासिल गरेको अर्थात सुधार गरेको अध्ययनले निचोड निकालेको छ। विद्यालयको सिकाइ उपलब्धिलाई भरणपोषण गर्न एक्सन एड नेपालले बाजुरा, बर्दिया, पाल्पा, तेह्रथुम, संखुवासभा, डोटी, सिराहा, पर्सा, काठमाडौं तथा भक्तपूरलगायतका १० जिल्लाका ५६ ओटा विद्यालयमा रिमेडियल कक्षा चलाएको थियो। हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेट्ने गरी विशेष गरेर सिमान्तकृत समुदायलाई समेटेको छ। पटक–पटक विभिन्न वहानामा विद्यालय बन्द हँुदा विद्यार्थीको सिकाइ स्तर प्रभावित हुने गरेको छ। यसको पछिल्लो उदाहरण कोभिड महामारी पनि हो। कोभिडकालमा कतिपयले अनलाइन कक्षा चलाए। तर, सबै सामुदायिक विद्यालयमा सम्भव पनि भएन। कोभिडले विद्यालयमा अवरोध पुर्याएपछि सिकाइ उपलब्धि सुधार गर्न रिमेडियल कक्षा सञ्चालन गरिएको हो।
यस्तै कक्षा सञ्चालन गरेकी वग्नास्थली गाउँपालिका–७ पाल्पास्थित श्री खानीगाउँ मावीकी शिक्षिका सृजना गैरे भन्छिन्, ‘कोभिडले २ वर्षको शिक्षालाई अवरोध पुर्याएको थियो। विद्यार्थीलाई रिमेडियल कक्षाले धेरै राहत मिलेको अनुभव गरेकी छु।’ कोभिडबाट अवरोध पुगेको शिक्षालाई केही परिपूर्ती गर्न विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले पाल्पाका करिब १५ वटा विद्यालयमा रिमेडियल कक्षा सञ्चालन गरेको उनी बताउँछिन्।
३ महिनासम्म हरेक शनिबार दिउँसो १–२ घण्टा पढाउँदा कक्षामा शिक्षकभन्दा बढी साथी भएर गएकाले बालबालिकाले खुलेर आफ्ना कुराहरू राख्ने गरेको उनले बताइन्। ‘अरुसँग भन्न नसकेका कुरा पनि सेयर गर्थें,’ उनी भन्छिन्, ‘१ कक्षादेखि ७ कक्षासम्म तल्लो तहको कक्षामा कसरी अध्यापन भइरहेको छ भन्नेमा कसैको चासो छैन। तर, १० कक्षामा पुगेपछि भने विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई राम्रो नतिजा चाहिन्छ। सानो कक्षामा पढाउनुपर्ने कुरा छुटाउँदै लगेपछि ठूलो कक्षमा ए प्लस खोज्नु मुर्खता हो।’
लकडाउन अवधिमा प्रभावित भएको सिकाइको खाडललाई भर्नका लागि एक्सन एड नेपालले नेपालका ५६ वटा सामुदायिक विद्यालयमा रिमेडियल कक्षा सञ्चालनमा ल्याएको थियो। यस्तो कक्षा देशव्यापी हुन जरुरी भएको सरोकारवालाहरू बताउँछन्।
शिक्षाविद् विष्णु कार्की कोभिडका कारण मात्र नभइ सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर प्रायः कमजोर देखिएको तर्क गर्छन्। अधिकांश सामुदायिक विद्यालयमा ठूलो पानी परे विदा हुने, कसैको विवाह भए विदा हुने, प्राकृतिक प्रकोप मात्र नभइ अन्य कारणले पनि विद्यालय बन्द हुने गरेकाले शैक्षिक गुणस्तर कमजोर भएको बताउँछन्।
कार्कीका अनुसार अहिलेको तालले विद्यार्थीको पढाइ माथि जान सक्दैन, अध्ययनले पनि धेरै विदा हुनेमा नेपालका विद्यालयहरू देखिन्छन्। जति विद्यालय बन्द भयो त्यति पढाइमा घाटा हुन्छ। कार्की भन्छन्, ‘सन् २०१५को भुकम्पले कतिपय विद्यालय ध्वस्त भए, यसबाट पनि सिकाइ प्रभावित बन्यो, यसपछि कोभिडले असर पार्यो। अब अतिरिक्त पढाइ नगरे विद्यार्थीको सिकाइ माथि जान सक्दैन। यसमा गैरसरकारी संस्थाको सहयोग जरुरी छ।’ यद्यपि अहिले शिक्षा मन्त्रालयले पनि कोभिडबाट सिकाइमा परेको प्रभावलाई महसुस गरेर सिकाइ स्तर बढाउन रिमेडियल कक्षा जस्तै अतिरिक्त कक्षाको अवधारणा ल्याएको उनले जानकारी दिए।
करीब ३ महिनासम्म हरेक साता सञ्चालन गरेको रिमेडियल कक्षामा विशेष गरेर छात्राहरूको सिकाइमा सुधार आएको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ता तथा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्रका प्राध्यापक डा. ईन्द्रमणी राईले प्रतिवेदन प्रस्तुत गर्दैे यो कक्षाले विद्यार्थीहरूको अंग्रेजीमा सुधार आएको तर अझै अपेक्षा बमोजिम नभएको बताउँछन्।
सो कक्षा सञ्चालनपछि भएको अध्ययन अनुसार ५ कक्षाका ५४.६९ प्रतिशत छात्रा र ५४.१० प्रतिशत छात्रले गणितमा सुधार गरेका छन्। यस्तै अंग्रेजीमा २८.८८ प्रतिशत छात्राको सिकाइ सुधार हुँदा २७.६० प्रतिशत छात्रको सिकाइ माथि उठेको छ। यस्तै, ७ कक्षामा ५५.३९ प्रतिशत छात्राले गणितमा सुधार गर्दा ५०.८३ प्रतिशतको सिकाइ उपलब्धि बढेको छ। यस्तै अंग्रेजीमा ५०.८३ प्रतिशतको सिकाइ स्तर बढ्दा ४८.७३ प्रतिशत छात्रको सिकाइ बढेको छ। जिल्लागत रुपमा सिराहा, पर्सा, काठमाडौं, पाल्पामा ६० प्रतिशतदेखि ७० प्रतिशतसम्म सिकाइ उपलब्धिमा परिणत भएको छ। तर, संखुवासभामा अंग्रेजीमा ५० प्रतिशतले उपलब्धि घटेको परीक्षामा देखियो। यस्तै ८ कक्षाको अंग्रेजी र गणित विषयमा डोटीमा २०–७३ प्रतिशत सुधार भएको अध्ययनमा उल्लेख छ। यसैगरी, पाल्पा, भक्तपूर, सिराहामा पनि राम्रो उपलब्धि देखियो।
अध्ययनले अब स्थानीय सरकारलाई विद्यालयको गुणस्तर उकास्न बढी उत्तरदायी बनाउनु पर्ने औंल्याएको छ। रिमेडियल कक्षाका लागि बजेट व्यवस्था गर्नुपर्छ। सिकाइ उपलब्धिका लागि आवश्यक गतिविधिलाई बढाएर प्याडागोजीकल अभ्यासलाई व्यवहारमा ल्याउन आवश्यक छ। अब विद्यालयहरूले पढाउने शैली बदल्नु पर्छ। किनभने शिक्षकले लेक्चर मात्रै दिने, प्रश्नको उत्तर मात्रै लिने परीक्षामुखी जस्ता परम्परागत शैलीबाट सिफ्ट हुन अध्ययनले सुझाव दिएको छ।
अनुसन्धानकर्ता डा. राई भन्छन्, ‘पेण्डामिक अवधिमा आईसीटीलगायतका कक्षामा पहुँच नहुने भएकाले यसलाई पहिचान गरेर यस्ता कक्षा पुग्न आवश्यक छ। समग्रमा यस्तो कक्षा दिएर मात्रै हुँदैन, यसबाट कस्तो नतिजा आयो भन्ने पनि अर्थ राख्छ।’
शिक्षाविद् मनप्रसाद वाग्ले सरकार तथा सम्बद्ध निकाय शिक्षाको गुणस्तरमा चुकेको टिप्पणी गर्छन्। उनका अनुसार शिक्षामा लगानी प्रभावकारी नभएको र सरकारले सबै कुरा विकास साझेदार संस्थाबाट मात्रै आशा गर्न मिल्दैन। शिक्षामा जति लगानी गरे पनि प्रभावकारी नदेखिएको टिप्पणी गर्दै उनले भने, ‘प्रत्येक वर्ष शिक्षा मन्त्रालयले पनि शैक्षिक गुणस्तर सुधार गर्न पैसा खन्याउने गर्छ तर नतिजामा तलै रहेको छ। यसमा अब गम्भीर हुन जरुरी छ।’
देशभर सामुदायिक विद्यालयको अवस्था यसै पनि खस्केको छ। नेपाल नागरिक शिक्षा प्रतिवेदन तयार पारेका त्रिभुवन विश्वविद्यालयका डा. प्रमोद भट्ट समग्रमा सामूदायिक विद्यालयको स्थिती करिब उस्तै रहेको बताउँछन्।