उहिले गिद्ध रम्थे, अहिले जहाज बस्छन्

उहिले गिद्ध रम्थे, अहिले जहाज बस्छन्

विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरेको ४७ वर्षपछि आइतबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदैछ। यो विमानस्थलका लागि पहिलो पटक २०३२ सालमा ३१ सय रोपनी जमिन अधिग्रहण गरेर काम सुरु गरिएको थियो।

त्यसअघि यहाँ स्थानीयका घरबस्ती, पहेले धान झुल्ने खेत र हरियाली तरकारी बारी थियो। पटकपटक गरी अधिग्रहण गरिएको ३ हजार ८ सय ९९ रोपनी जमिनमा अहिलेको विमानस्थल बनेको हो, त्यो पनि अन्तर्राष्ट्रिय। विमानस्थललाई कति जमिन आवश्यक पर्ने हो ? त्यसैअनुसार एकै पटक मुआब्जा दिएर जमिन अधिग्रहण गर्नुपर्ने थियो। तर त्यसो नगरी पटकपटक अधिग्रहण गर्दा केही परिवारले त तीन पटकसम्म घर बनाउने र भत्काएर अर्को ठाउँमा सार्नेसम्मको समस्या भोग्नु परेको स्थानीय बेदनाथ पोखरेलले सुनाउँछन्।

सञ्चालनको तयारी अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ घरको छतबाट हेर्दै पोखरेल दम्पती बेदनाथ र मेनकाले विमानस्थल निर्माणका लागि आफ्नो ३६ रोपनी पहेँले धान झुल्ने खेत अधिग्रहणमा परेको सुनाए।

अहिले विमानस्थल भएको क्षेत्र यसअघि स्थानीयका गाई, भैंसी, बाख्राको चरन क्षेत्र थियो। हिउँदमा जाडो छल्न हिमालपारिको जिल्ला मुस्ताङदेखि पोखरा ल्याइएका घोडा, खच्चड पनि यहीँ चर्थे। चरन क्षेत्रको रूपमा गाईं, भैंसी, घोडा, खच्चडको हिउँदमा बाक्लै उपस्थिति हुन्थ्यो। सवारीसाधनको पहुँच नहुँदासम्म मुस्ताङमा घोडा, खच्चडले पोखराबाटै खाद्यान्न, लत्ताकपडा र विभिन्न आवश्यक सामान बोकेर पुर्‍याउँथे।हिउँदमा पोखरा ल्याएका घोडा, खच्चड चरनकै क्रममा बूढा भएर वा चोटपटक लागेर मर्थे। यसरी मरेका घोडा, खच्चड र स्थानीयका गाई, भैंसी र गिद्धले छिनभरमै डेढ दुई सयभन्दा बढीसम्मले मिलेर खान्थे। सञ्चालनको तयारीमा रहेको विमानस्थलदेखि दक्षिणतर्फ रहेका भरतपोखरी, निर्मलपोखरी क्षेत्रका सिमलका रूखमा अहिले पनि विश्वमै संकटापन्न अवस्थामा रहेका सानो खैरो, डंगर प्रजातिका गिद्धले गुँड बनाउने र बस्ने गर्छन्।

सेतो गिद्धको झन् बाक्लो बसोबास छ त्यस क्षेत्रमा। विमानस्थल गाई, भैंसी, घोडा खच्चडको मात्र होइन, गिद्धको पनि चरन क्षेत्र थियो। स्थानीयले हिउँदमा घाम ताप्दै अहिले विमानस्थल बनेको क्षेत्रमा गुन्द्री बुन्थे। घोडा र खच्चड खाली जमिनमा कुदाएर स्थानीय बालबालिका रमाउँथे।

अब भने पहिलेका यस्ता दृश्य यस विमानस्थल क्षेत्रमा देख्न पाइने छैन। विमानस्थल क्षेत्रमा पहिले विभिन्न प्रजातिका गिद्ध, चिललगायत चरा अवतरण र उडान भर्थे। अब भने गिद्धको ठाउँ चिलगाडीले लिँदै छ। चिलगाडीले देशभित्र मात्र होइन, मान्छे बोकेर अन्तर्राष्ट्रिय उडान पनि भर्ने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.