सगरमाथाको इतिवृत्तान्त

सगरमाथाको इतिवृत्तान्त

१ सय ७३ वर्षअघि (सन् १८४८) सगरमाथाको चुली पहिलोपटक नापियो। गणितिज्ञ राधानाथ सिग्दर प्रमुख गणकका रूपमा भारतमा कार्यरत थिए। उनले देहरादुनमा रहँदा सन् १८४९ सम्म फिल्ड सर्भे गरेका थिए। सन् १८५२ मा पहाडहरूको उचाइ ‘थियोडो लाइट’ यन्त्रको प्रयोगबाट मापन गरिरहेको भारतको सर्भे विभागको टोलीका सदस्यमध्येका राधानाथ सिग्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे।

सगरमाथालाई रोमन संकेतचिह्न ‘पिक १५’ नाम प्रदान गरियो। सन् १८५२ मा १५औं चुली संसारकै अग्लो रहेको सर्भेयर जनरल वागले थाहा पाएका थिए। यसरी १ सय ७३ वर्षे सगरमाथाको इतिहासमा थप अर्को इतिहास निर्माण गरे, खिमलाल गौतमले। नेपाल सरकारको जागिरे ‘सर्भेयर’ रहेका उनले आफ्नै नेतृत्वमा २०७६ मा सगरमाथाको नापजाँच गरे। दोस्रोपटक सगरमाथा आरोहण गरेर सगरमाथाको नापजाँच गरेका गौतमद्वारा लिखित पुस्तक ‘पन्ध्रौं चुली’मा उनले सगरमाथाको नालीबेली कोरेका छन्।

अध्ययन र इतिहासले भरिपूर्ण पुस्तकमा सगरमाथाबारे मात्रै पनि होइन, उनले सगरमाथाको इतिहासबारे मिहिन ढंगले अध्ययन गरी त्यसको व्याख्या गरेका छन्। ‘सबै प्राप्ति र उपलब्धि निजी हुँदैनन्, सामूहिक मात्र पनि हुँदैनन्।’ पुस्तकमा खिमलालले भनेजस्तै उनको सगरमाथा आरोहण निजीमात्रै बनेन। उनको सगरमाथा आरोहणले फेरि एकपटक नेपाललाई विश्वसामु नै पुनः परिचित गरायो।

पहिलोपटक २०६८ जेठमा सगरमाथा आरोहणमा निस्किएका उनले त्यसको आठ वर्षपछि दोस्रोपटक सगरमाथा आरोहण गर्दा एक आरोही मात्रै नभई सगरमाथा नाप्ने सर्भेयरको रूपमा रहे। थोरै मात्रै मानिसले दुईपटक सगरमाथा आरोहण गरेका छन्। जसमध्ये एक रहेका खिमलाल लेख्छन्, ‘कुनै पनि प्राप्तिका लागि अर्को कुरा त्याग गर्नुपर्छ। त्यागबिना प्राप्ति थोरै भाग्यमानी मानिसलाई मात्र हुन्छ। कर्मयोगी मानिसलाई थोरै कुरा प्राप्त गर्न पनि धेरै मिहिनेत गर्नुपर्छ।’ आफूले सगरमाथा आरोहणसँगै सगरमाथाको सर्भे गर्दा भोगेको समय, चुचुरोमा पुग्न लिएको अनेकौं जोखिम र मृत्युलाई पटकपटक जितेर सगरमाथाको सफल आरोहण गरेका कथा कलात्मक ढंगले पुस्तकमा छ।

१ सय ७३ वर्षअघिको इतिहासलाई नेपालले पनि स्वीकार गरेर त्यही पाठ पढाइरह्यो। तर, खिमलालले भने आफैं सर्भेयर बनेर एकपटक सगरमाथा नाप्ने इच्छा राखे। र, त्यो इच्छा उनकै नेतृत्वमा पूरा भयो। तसर्थ, सगरमाथा नापे। एकपटक एक विद्यार्थीलाई जलस्रोतको पहिलो धनी देश ब्राजिल हो भने दोस्रो धनी देश कुन हो ? भनेर सोधिएछ। ती विद्यार्थीले दोस्रो धनी देश नेपाल भनेछन्। तर, शिक्षकले न त तेस्रो र चौथो धनी देशबारे पढाए, न त विद्यार्थीले नै जिज्ञासा राखे।

हेटौंडाका कवि छवि अनित्यले ‘शिक्षकको भाषा’ पुस्तकमा उक्त प्रसंगमा रोचक ढंगले लेखेका छन्। छविले लेखेजस्तै हामीले पनि सगरमाथा विश्वको सबैभन्दा सर्वोच्च भनिरह्यौं। तर, कसले, कहिले र कसरी पत्ता लाग्यो भनेर खोजी नै गरेनौं। र, नेपालले किन हालसम्म सर्भे गरेन भनेर कौतुहल नै बनेनौं। यही कौतुहलताले छटपटी भएर खिमलालले सगरमाथा आरोहण गरे। र, उनले दोस्रोपटकको यात्रामा आफैं सर्भेयर बनेर सगरमाथा नापे। र, पुष्टि भयो कि सगरमाथाको उचाइ– ८,८४८.८६।

‘पन्ध्रौं चुली’ पुस्तक सगरमाथाबारे जान्न चाहनेका लागि एउटा दस्तावेज नै हो। सगरमाथाको नालीबेली समेटिएको पुस्तकमा सगरमाथाबारे जान्न मात्रै पनि होइन, सगरमाथा चढ्न चाहेनहरूका लागि पनि बलियो हस्ताक्षर हुन सक्छ। पुस्तकमा लेखक खिमलाल लेख्छन्, ‘हिमालबारे जान्नु र हिमालमा जानु नितान्त फरक कुरा हुन्। म हिमालमा जान होइन, हिमालबारे जान्न जन्मेको मान्छे, हिमाल चढ्न होइन, हिमाल पढ्न जन्मेको मान्छे।’

तीन खण्डमा विभाजन गरिएको पुस्तकको पहिलो खण्डमा ‘पहिलो आरोहण’ छ। आठ शीर्षक रहेको उक्त खण्डमा ‘माछापुच्छ्रेलाई प्रेमपत्र’देखि ‘तीन आयाम’सम्म समेटिएको छ। यस्तै, दोस्रो खण्डमा ‘दोस्रो आरोहण’ छ। जसमा ३२ शीर्षक छन्। उनले यो खण्डमा भने सगरमाथा आरोहणका क्रममा गर्नु परेका काम, भोगाइ, पीडा, जोखिम, मृत्युको मुखैबाट जिन्दगी बाँचेको कथा, खुसी र दुःखसँगै सगरमाथा आरोहणपछि सगरमाथालाई लेखेको प्रेमपत्रसमेत समावेश गरेका छन्। तेस्रो खण्डमा भने उनले ‘इतिहास खण्ड’ शीर्षक दिएका छन्। जसमा ३३ शीर्षक छन्। उक्त खण्डमा सगरमाथा इतिहासको नालीबेली समावेश छ।

विशेषतः सगरमाथा आरोहण गर्ने व्यक्तिले हदै लेखे एउटा संस्मरण सम्म लेख्लान्। कतिले पुस्तक पनि लेख्लान्। तर, उनले भोगाइको संस्मरणमात्रै होइन, एउटा पुस्तक पनि लेखे। इतिहासदेखि भोगेको समय सबै व्याख्या गरेका छन्। पुस्तकमा कविता, गीत, निबन्ध, उपन्यासमात्रै उनले समेटेका छैनन्, विज्ञान, प्रविधि र गणितका कुरालाई पनि मिहिन ढंगले लेखेका छन्। पुस्तक पढिसकेपछि भन्न सकिन्छ कि एउटा पुस्तक पढ्न धेरै पुस्तक अध्ययन गर्नुपर्ने रहेछ। एक यात्राका लागि धेरै पाइला हिँड्नु परेजस्तै एक पुस्तकका लागि लेखक खिमलालले धेरै पुस्तक अध्ययन गरेर उक्त दस्तावेज तयार पारेको महसुस गर्न सकिन्छ। सगरमाथाको नालीबेलीसँगै एउटा बलियो दस्तावेजका रूपमा उनले उक्त पुस्तक तयार पारेका छन्।

सगरमाथालाई सम्बोधन गर्दै उनी लेख्छन्, ‘धरतीको सबै ठाउँमा जीवको सृष्टि गर्नु हुँदैन भनेर प्रकृतिमाताले तिम्रो सृष्टि गरेकी होलिन्। सबै ठाउँमा मानिस तथा जीवजन्तु पुग्नु हुँदैन भनेर तिमीलाई दुर्गम बनाएकी होलिन्। त्यसैले त तिम्रो छातीमा कुनै जीवजन्तु र वनस्पतिको सृष्टि हुँदैन। तर, मानिसले आफ्नो नाम राख्न तिमीलाई आरोहण गरिछाड्यो।’ उनले भोगेको जीवन, हिमदरारहरूमा चालेका पाइला र पाइलैपिच्छे मृत्युले पछ्याइरहेको कुरालाई सरल ढंगमा प्रस्तुत गरेका छन्। जसले पाठकलाई कौतुहल बनाउँछ। धेरैजसो ठाउँमा बिम्बको प्रयोग र सरल भाषाले पनि पुस्तक वजनदार बनेको छ। प्रतिष्ठित लेखकले लेखेको उपन्यासजस्तै उनले बिम्बको प्रयोग गरेका छन्। ती बिम्बहरूको प्रयोगले लोभिएर एकदिन लेखकलाई म्यासेज नै गर्नुपर्‍यो, ‘तपाईं त आरोही मात्र होइन, सर्भेयरमात्र होइन, लेखक नै हुनुहुँदो रहेछ।’

सोचेको थिएँ, सगरमाथाको सर्भेयर हुन्। गहुँगो जवाफ आउँला। तर, उनले पुस्तकको जस्तै सरल भाषामा प्रतिक्रिया दिए। घरपरिवारमा कठिन समस्या पर्दा पनि देशको शिर सगरमाथाजस्तै उभो पार्न उनले गरेको अदम्य साहस र जोखिम प्रशंसायोग्य छ। ज्योतिषशास्त्रमा विश्वास गर्ने उनी आफैं पात्रो हेरेर यात्राको तय गर्छन्। जसले पाठकलाई कौतुहलसँगै आश्चर्यमा पनि पार्छ। यसरी अनेकन कुरा समेटेर तयार पारेको ‘पन्ध्रौं चुली’ पुस्तक ३४८ पृष्ठको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.