अन्त्यहीन अन्त्य
कफीको नशामा
प्रिय लेखकसँग हराउँदै थिएँ,
उसको काल्पनिक संसारमा मिस्सिँदै थिएँ।
सम्बन्धको जालो भुलेर
एक्ला–एक्लै हुनुको मादकतामा
साहित्यिक गफ मिसिएको थियो
काल्पनिक संसारको अकाल्पनिक पात्रले
बेलाबेला मन उडाई लैजान्थ्यो टाढा कतै
मोबाइलको रिङटोनले
बिथोलिएको कफीको चुस्की एक्लियो
त्यसैले,
चरम उत्कर्षमा पुग्न नपाउँदै
समय चिसिएर स्खलित भैगयो।
झ्यालबाहिर देखिन्थ्यो,
शिशिरको दुःखाइले पहेंलिएको प्रकृति
बिचरा, पात झरेर नाङ्गै थियो ऊ
झ्याल छेउमा उभिएका रूखहरू
चिसोले डसेर मरेतुल्य देखिन्थे।
लेखक सोचाइमा डुब्यो,
उपन्यास र कविताको समायोजन गर्दै
समयले भेटाएको सम्बन्धलाई उसले
कथा बनाएर समाधीस्थ गर्यो पृथ्वीको गर्भमा।
सुखभोगको मोहले
क्षणभंगुर जगत्मा
अतिथि बनेर आएको त्यो धुमिल चित्रलाई
मनको मझेरीमा सजाउँला भन्ने थियो
तर कफीको अन्तिम चुस्कीसँगै
अतृप्त मेरो मन
अतृप्त पात्रहरू
माहोल बिग्रिने गरी बिथोलिए।
अन्ततः
लेखकको असीमिततालाई
मेरो सीमित ज्ञानले बुझ्नै नसक्दा
कथाले मुजुरा देख्नै नपाई मृत्युवरण गर्यो।