‘प्रचण्डको अन्तिम तर कठोर अवसर’

‘प्रचण्डको अन्तिम तर कठोर अवसर’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई हराएर प्रतिनिधिसभा सदस्य हुनुभयो। कस्तो अनुभूति भइरहेको छ ? 

म विगत एक वर्ष निर्वाचन शिलशिलामा प्युठानमा थिएँ। उम्मेदवार हुने टुंगो थिएन। तर, पार्टी जिताउनुपर्छ भनेर जिल्लामै खटिएको थिएँ। यो एक वर्षदेखि निरन्तर खटेको परिणाम हो। म एक वर्षअघि नगएको भए मैले पनि जित्ने थिइनँ। पार्टी पनि सफल हुने थिएन। प्रतिनिधि सभा सदस्य भएर आउँदा गौरवबोध त हुन्छ नै मलाई पनि भएको छ।

 पाँचदलीय गठबन्धन तोडेर नयाँ गठबन्धन कसरी बन्यो ? 

मैले स्थानीय निर्वाचनमा चमत्कारिक अभ्यास प्युठानको झिमरुकमै गरेको थिएँ। त्यहाँ पनि तत्कालीन पाँचदलीय गठबन्धनभित्र काउन्टर गठबन्धन बनाएर सफलता हासिल गरेका थियौं। पाँचदलीय गठबन्धनभित्र माओवादी र हाम्रो गठबन्धन भएको थियो। त्यहाँ पनि हाम्रो माओवादीसँग गठबन्धन असम्भवजस्तै थियो। त्यसरी नै एमालेको सहयोगमा नयाँ शक्तिसहितको गठबन्धन बन्ला भन्ने कसैले पनि सोचेका थिएनन्।

अझ प्रचण्डसहित गठबन्धनतिर कसैको ध्यानै गएको थिएन। राजनीतिमा सबै विषय सोचिएका, ठानिएका मात्रै हुँदैनन्। राजनीतिक विज्ञानमा दुई मा दुई जोड्दा चार मात्र हुँदैन। कहिले पाँच त कहिले तीन पनि हुन्छ। भएको त्यही हो। 

यो गठबन्धन सरकार बनाउनको लागि मात्र हो कि, पार्टी एकीकरणसम्म जान्छ ? 

म चाहिँ सन्तुलित र सही विश्लेषण अनि व्यवहार गरिनुपर्छ भन्छु। कतिपय नेताहरू लङजम्प, हाइजम्प गर्नुपर्छ भन्नुहुन्छ। सम्बन्ध सन्तुलित ढंगबाट अघि बढ्नुपर्छ। यो शुद्ध सरकार केन्द्रित गठबन्धन हो। यसले परीक्षणका क्रममा सफलता हासिल गर्‍यो। माहोल बन्यो। अविश्वास हट्यो भने अगाडि जाला तर पनि अहिले योभन्दा अगाडि लानु हुन्न भन्ने पक्षमा म छु। यो गठबन्धन तहमै सीमित राख्नुपर्छ भन्ने मेरो धारणा हो।

विगतमा कति आरोपप्रत्यारोपको चुली थियो। पहिला त्यो हटाउँदै जानुपर्छ । यो सरकार न क्रान्तिबाट आएको कम्युनिस्ट सरकार हो न वाम सरकार नै हो। यो बदनाम पाँचदलीय गठबन्धनलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनको सरकार हो। बदनाम गठबन्धनको गर्भबाट विकल्प खोजेर अस्तित्वमा ल्याएको नयाँ गठबन्धन हो। कतिपय मान्छे भन्छन् निषेध गरिरहँदा सहकार्यको सम्बन्ध हुन्छ सहकार्य गरिरहँदा निषेधको सम्बन्धन हुन्छ। 

त्यसो भए वाम एकताको कुरा मात्रै हो ?

म स्वयं तथाकथित वामएकतालाई पराजित गरेर आएको मान्छे हुँ। म सबैलाई वाम ठान्दिनँ। यहाँ नक्कली, सक्कली वाम हुन्छन्। वाम नाम भएका केके गरेर हिँडेका छन्। वाम भन्नेबित्तिकै अकबरी सुनजस्तै हुन्छन् भन्ने पक्षमा छैन। तथाकथित वामएकता, गठबन्धन समस्या समाधान होइन। बदनाम गठबन्धनलाई विस्थापित गरेर, एमालेलाई निषेध र घेराबन्दी गर्छौ भन्ने कित्ताबाट सम्बन्धविच्छेद गरेर आएको छ। यो राम्रो भएको छ।

पार्टी एकता पहिलाजस्तो रातारात छापामार शैली हुने वाला छैन। नीति सिद्धान्त, व्यवहार, विश्वासको परीक्षण गरेर मात्रै छलफल हुनुपर्छ। हिजो जस्तो एकता हुँदैन। हाम्रो नेतृत्वले त्यो सोचेको हुनुपर्छ। दाउपेच, नोकझोक तोड्नुपर्छ। परस्पर विश्वास र सहकार्य गरेर सफल बनाउनुपर्छ। यो गठबन्धनलाई विश्वासको जगमा उभ्याउनुपर्छ। व्यवहारको कसीमा सफल हुँदै जाँदा परिस्थिति अनुकूल भएमा सोच्न, छलफल गर्ने विषयमा गएमा खुला भएरै जान सकिन्छ। 

एमालेकै नेता वामगठबन्धनका पक्षधर छन् ? 

म प्रधानमन्त्री सल्लाहकार थिएँ। २०७४ मा एमाले र माओवादी मिलाउँदा झण्डै २ तिहाइको सरकार थियो। बाहिरबाट हेर्दा असाध्यै ठूलो प्रचारको विषय थियो। देशीविदेशी प्रतिक्रियावादी शक्तिले वामवर्चश्वको सरकार भन्दै प्रहार गर्न बाँकी राखेनन्। विश्वासको जगमा थिएन, पार्टी कब्जाको ध्याउन्नमा थियो। आफ्नै पार्टीको सरकार असफल पार्ने, नेतृत्वविरुद्ध लाग्ने काम भएको थियो। सम्मानजनक बिदाइको कुरा पनि थिएन।

बाहिर भनेजस्तो वामवर्चश्वको कुरा मात्रै थियो। एमालेको अल्पमतको सरकार २०५२ भदौ १२ जस्तै सेटिङमा पारे झै केपी ओलीको विघटनपछि संविधानको बर्खिलाप अदालतले प्रधानमन्त्री बनाउने कामसम्म भयो। देशीविदेशी प्रतिक्रियावादीका षड्यन्त्र भएका थिए। सारमा वाम भएर काम गर्नुपर्छ। देखावटी काम केही छैन। विपक्षी उत्तेजित बनाउने गरी वाम गठबन्धन हुनुको के अर्थ छ र ? सामाजिक न्याय, लोककल्याणकारी राज्य, राष्ट्रिय स्वाभिमानको पक्षमा काम गर्नुपर्छ। जनताको जनजीवनमा थोरै भए पनि काम हुनुपर्छ। 

माधव नेपालको पार्टीसँग एकता गर्ने कुरा चाहिँ के हो ?

उहाँको पार्टी नै छैन। केको एकीकरण ? माधव नेपालसँग एकीकरण हुँदैन। यो निर्वाचनमा जम्मा २ लाख ९१ हजार भोट आएको छ। वैधानिक रूपमा उहाँको पार्टी राष्ट्रिय पार्टी पनि होइन। माधव नेपालको भन्दा बढी योगदान सीपी मैनालीको छ।

  • यो सरकार न क्रान्तिबाट आएको कम्युनिस्ट सरकार हो न वाम सरकार नै हो। यो बदनाम पाँचदलीय गठबन्धनलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनको सरकार हो।
  •  राजनीतिक विज्ञानमा दुईमा दुई जोड्दा चार मात्र हुँदैन। कहिले पाँच त कहिले तीन पनि हुन्छ। भएको त्यही हो। 
  • पाँच वर्ष लैजाने गरी गठबन्धन भएको छ। आलोपालो प्रधानमन्त्री हुने गरी सहमति भएको छ।
  • माधवलाई पार्टी ल्याउने कुरामा १० चोटी सोच्नुपर्छ। उहाँले इतिहासको कालो टिका लगाउनु भएको छ। 

नख्खु जेल तोडेको, कोअर्डिनेसन केन्द्र, मालेको नेतृत्व गरेको, झापा आन्दोलनका नेता। २०३१ देखि २०३९ सम्मको तिलस्मी नेतृत्व गरेका सीपी हो नि। सीपी जत्तिको इमान, निष्ठा, वैचारिक, सैद्धान्तिक कुरा माधव नेपालको पार्टीमा छैन। हिजोको गरिमा माधव नेपालसँग छैन। अहम, कुण्ठा, मान–अपमानबाट ग्रसित हुनुहुन्छ। हुँदा खाँदाको पार्र्टी फुटाएर कहाँ पुर्‍याउनु भयो। 

त्यसो भए माधव नेपालको राष्ट्रपतिको विषय चर्चा बेकारको हो ? 

माधव नेपाललाई राष्ट्रपति बनाउन सम्भव छैन। पार्टीलाई धोका नदिने व्यक्तिलाई बनाउनुपर्छ। राष्ट्रको सबैभन्दा सम्मानित र उच्च पद हो, राष्ट्रपति। हिजो माधव नेपाल पार्टीको नेता हुनुहुन्थ्यो। विराट इतिहास र योगदान थियो। विरासत थियो। दुश्मनको सिखन्डी नहुनु भएको भए उहाँ राष्ट्रपति नहुन सक्ने व्यक्ति पनि होइन। २०७४ मा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव नै गर्नु भएको हो तर मान्नु भएन्। अनि विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभएको हो। तर, निष्ठाच्युत भएर, स्खलित भएपछि राष्ट्रपति पद फर्केर हेर्नु पनि अपमान हो। अहिले उहाँ कसरी हुनुहुन्छ, कसले उहाँलाई बनाउँछ। अहिले उहाँ राष्ट्रपति बन्ने कुरा असम्भव हो।

माधवलाई पार्टी ल्याउने कुरामा १० चोटी सोच्नुपर्छ। उहाँले इतिहासको कालो टिका लगाउनु भएको छ। अन्य नेता हकमा भने गल्ती स्वीकार गरेर आउनेलाई स्वागत गर्ने हो। पार्टी एकता चाहिँ हुँदैन। उहाँहरू मात्र समाहित हुने हो। 

नेपाल सरकार कसरी अघि बढ्छ त अब ? 
गठबन्धन जसरी बनेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिन्छ भनेर पहिले नै हल्ला गरेको भए यो गठबन्धन नै बन्ने थिएन। म स्वयं प्युठान, बुटवलदेखि काठमाडौंबाट आएर प्रचण्डलाई किमार्थ ल्याउनु हँुदैन भनेर भने। हाम्रो जोड कांग्रेस एमाले मिलेर जानुपर्छ भन्ने नै थियो तर एमाले सबै विकल्पमा जान सक्छ भनेर मैले भनेको थिएँ।

अध्यक्ष ओली प्युठान सम्पर्क मञ्चकै कार्यक्रममा प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना टुट्यो भन्नु भएको थियो। त्यसले देउवा हौस्यायो। उहाँ गैरकम्युनिस्ट सरकार बनाउनतिर लाग्नुभयो। देउवाले बतासमा हावा लागेको पनि थाहा पाउनु भएन। हाम्रो नेतृत्वले सुझबुझसहित जानिबुझिकन गैरकम्युनिस्ट र विदेशी रिमोटमा चल्ने सरकार बन्न रोक्यो र प्रचण्ड प्रधानमन्त्री बन्नुभो। अब प्रधानमन्त्री प्रचण्डले ६८ वर्षमा हासिल गरेको आरोहअवरोहले सिक्नुपर्‍यो, शिक्षा हासिल गर्नुपर्‍यो। उहाँ जीवनको आखिरी समयमा असाध्यै राम्रो अवसर पाउनु भएको छ। असफल हुनु भयो भने खलपात्र हुनुहुन्छ। यो उहाँको गल्ती सच्याउने अवसर पनि हो। अन्तिम र कठोर अवसर हो। जनताको मन जितेर काम गर्नुपर्‍यो। विकासको लहर ल्याउनुपर्‍यो। उहाँको नाम स्वर्ण अक्षरमा लेखिन्छ। 

यो निर्वाचनमा नयाँ शक्तिको उदय भयो नि ? यसलाई के भन्नुहुन्छ ? 

नयाँ इमर्जिङ शक्तिका रूपमा आउनु भएको छ। मैले यसलाई नकारात्मक रूपमा लिएको छैन्। तर, खहरे र वर्षाको भेलका रूपमा आउनु भएको भए सिँचाइ हुन्न, बाली राम्रो बनाउन त नहर वा कुलो बनेर आउनुपर्छ। भेल र खहरे बन्नुभयो भने २÷४ दिनको पाहुना मात्रै हुनुहुन्छ। नहर र कुलो बनेर जनता र देशको निम्ति राम्रो काम गर्नुभयो भने त सत्ता सहयात्री भएको चित्त दुखाउनुपर्ने कुनै कारण छैन।

विदेशी शक्तिको चलखेलमा यो सरकार बनेको हो ?

भारतीय संस्थापनको बढी हिस्सा चीनलाई ‘ड्रागन’ भन्दै आतंकित हुन्छ। चीनलाई देखाएर आतंकित हुनुपर्ने केही छैन। हाम्रो दुवै देशसँग अन्यायोश्रित सम्बन्ध छ। भारत पक्षीय भएर चीन विरोधी र चीन पक्षधर भएर भारत विरोधी हुनुहुँदैन। एकपक्षीय हुने बारेमा सोच्नु पनि मूर्खता नै हो। नेपाल न भारत न चीन पक्षधर भएर अगाडि बढ्नुपर्छ। नेपाल राष्ट्रियहित पक्षधर भएर अगाडि बढ्नुपर्छ। हामी राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ, स्वाभिमान केन्द्रित भएर जानुपर्छ। 

यो गठबन्धन पाँच वर्षसम्म टिक्छ त ? 

पाँच वर्ष लैजाने गरी गठबन्धन भएको छ। आलोपालो प्रधानमन्त्री हुने गरी सहमति भएको छ। हिजो जस्तो उपयोग र कब्जाको दाउपेचको काम लाग्दैन। प्रधानमन्त्री प्रचण्ड असाध्यै अस्थिर, चञ्चल, अविश्वसनीय हुनुहुन्छ। सर्पले काँचुली फेरे झै उहाँको स्वभाव छ। उहाँले यसलाई गतिशिल व्यक्तित्वका रूपमा प्रस्तुत गर्नु हुन्छ। 

उहाँको गतिशिलता स्थिरता, स्थायित्व, विकास, समृद्धिको लागि उपयोग होस्। अस्थिरता बढाउने गरी तासको पत्ति फेरिरहने जस्तो गरी दुरुपयोग नहोस्। यो उहाँको अन्तिम मौका हो। उहाँले सहमतिमा इमानदार र वचनबद्ध छु भन्नु भएको छ। पहिले ओलीभन्दा देउवा सहमतिमा प्रतिबद्ध हुनुहुन्छ भन्नुहुन्थ्यो। त्यो विगतमा जे भए अब देखिनुपर्छ। प्रचण्ड इमान्दारिताले गठबन्धन भर पर्छ। यो प्रचण्डको कोर्स करेक्सन हो। 

उहाँ सहमति र समझदारीमा प्रतिबद्ध हुनुभयो भने यो सरकार पाँच वर्ष नै चल्छ। इतिहासले पनि उहाँलाई नराम्रो भन्ने छैन। प्रचण्डले प्रधानमन्त्री बन्न जसरी कोसिस गर्नुभयो आधा घण्टामा बालुवाटारबाट बालकोट टर्न हुनुभयो। बार्दलीमा गएर अभिवादन गर्नुभयो। यो गतिशीलताको म प्रशंसा गर्छु। अब यसको दुरुपयोग नगर्नुहोस्। जनताको मुहार फेर्ने काममा लाग्नुहोस्।

सांसद भएर आइसक्नुभयो मन्त्री बन्ने इन्छा छ कि छैन ? 

हाम्रो पार्टी विशाल छ। यहाँ धेरै किसिमका व्यवस्थापन गर्नुपर्छ। पार्टी नेतृत्वलाई राम्रो जानकारी छ। म सांसद हुुनुपर्छ भन्ने प्युठान गएको हैन। पाएको हरेक जिम्मेवारी पूरा गर्छु। एउटा निरक्षर बाबु–आमाको छोरो, बाँदर लखेट्दालखेदै यहाँ आइपुगेको छ। मन्त्री नै हुनुपर्छ भन्ने छैन। मन्त्री नहुँदै पनि धेरैले नाम राखेर जानुभयो। पुष्पलाल, मदन भण्डारी मन्त्री हुनु भयो र ? दलले गर्ने निर्णय अन्तिम हो। दलको निर्णय सिरोपर गर्छु। 

अन्तिममा केही ? 

२ सय टोलमा गएर भोट मागेको थिएँ। जितेपछि ३ सय टोलमा पुगें। म यो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउनेमा टप टेन, पार्टीभित्र टप फोर हुँ। मैले जित्ने कुरा धेरैका लागि यो अकल्पनीय हो। तर, जितेर आएँ। त्यसको लागि प्युठानी जनतालाई धेरै–धेरै धन्यवाद छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.