सोलुखुम्बुमा सालको अवैध काठसहित युवक पक्राउ
![सोलुखुम्बुमा सालको अवैध काठसहित युवक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20230106191951_m2ZYvCGayV.jpg)
सोलुखुम्बु : सोलुखुम्बुमा अवैध चिरान काठसहित एक युवक पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय सोलुखुम्बुले बिहीबार जोरबौद्ध क्षेत्रबाट सालको २३ थान अवैध चिरान काठ, ३० थान बाँससहित ट्याक्टर र चालकलाई पक्राउ गरेको हो।
ट्याक्टरमा अवैध काठ ढुवानी भइरहेको सूचनाका आधारमा वन कार्यालयबाट प्रहरीसहित खटिएका टोलीले सोलुदुधकुण्ड नगरपालिका-७ जोरबौद्धबाट ना ६ त १९२८ नम्बरको ट्याक्टरसहित चालक थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुका सुरेश तामाङ पक्राउ गरेको फरेष्टर खेचरबाबु बास्तोलाले जानकारी दिए।
तामाङले थुलुङ दुधकोशी गाउँपालिका-३ बाट उक्त सामग्री सल्लेरी ल्याएको प्रारम्भिक बयान दिएको फरेष्टर बास्तोलाले बताए।
उनका अनुसार उक्त सामग्रीहरू वन कार्यालयको नियन्त्रणमा छ भने चालक तामाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। उनीविरुद्ध अवैध वन पैदावर ओसारपसारको मुद्दा चलाइने डिभिजन वन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)