आधुनिक गीतमा चम्किएकी पूर्णिमा

आधुनिक गीतमा चम्किएकी पूर्णिमा

काठमाडौं : गीतसंगीत भनेपछि कसको मन नरमाउला र ? पीडा भुलाउन होस् या खुसी साट्न, गीतसंगीत अपरिहार्य नै हुन्छ। अझ धेरैले त यो क्षेत्रमा नै आफ्नो भविष्य देखेका हुन्छन्, मेहनत गरेका हुन्छन। यसरी नै आधुनीक गीतसंगीमा आफ्नै मेहनतले उदाएको एउटा नाम हो पूर्णिमा लामा। 

तिम्रो मनमा खै कुन्नी को छ को ?
मलाई माया लाग्ने त तिम्रै हो।

यतै माया र प्रेमका शब्दले भरिएका सयौं गीत गएर चन्द्रमाले झै सांगीतिक दुनियाँमा विगत एक दशकदेखि शीतलता छरिरहेकी छिन् गायिका पूर्णिमा। सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्ने उनी पहिले त आफ्नै सन्तुष्टिका लागि गीत गाउँथिन्। विद्यालय होस् या गाउँघरमा लाग्ने मेला, महोत्सव मधुर स्वरमा गाउन पछि नपर्ने उनको स्वरले धेरैको मन छोयो, अनि उनी आफ्नो लागि मात्रै होइन दर्शक र श्रोताको मनसम्म पुगिन्। पूर्णिमा विगत सम्झँदै भन्छिन्, ‘सानुमा विद्यालयमा त धेरै गीत गाएँ। मेला, महोत्सवमा धेरैले रुचाउनुभयो। मेरा नजिकका शुभचिन्तक र आफन्तले पनि तिम्रो भविष्य गीतसंगीतमा नै छ भन्नुभयो। मेरो रुचि र अरूको पनि प्रेरणाले गर्दा गीत गाउन थालें। अझै यो क्षेत्रमा धेरै गर्न मन छ।’

सबैको सपनाको सहर हो काठमाडौं। गायिका पूर्णिमा पनि आफ्नो रुचिलाई अझै तिखार्न धादिङबाट काठमाडौं आइन्। उच्च शिक्षा र साथमा गीत संगीतको औपचारिक शिक्षा त लिनु नै थियो। काठमाडौं आएको केही समयमा नै लेखक र संगीतकारको मनलाई उनको मधुर स्वरले जित्यो। र, आधुनिक सांगीतिक दुनियाँमा एउटा गर्विलो नामका रूपमा परिचय दिलाउन सफल बनिन् उनी। पूर्णिमा भन्छिन्, ‘आधुनिक गीतसंगीतले मनलाई शान्त मात्रै होइन, जीवनमा सन्तुष्टि पनि दिलाउने रहेछ।’
फूल भनौं जिन्दगीलाई फुल्नै नपाई झरी सक्यो,
दीप भनौं जिन्दगीलाई जल्नै नपाई मरी सक्यो...

पीडाले भरिएका यस्ता शब्दलाई पनि न्याय दिन पछि नपर्ने उनको जादुमय स्वरले ६ सय बढी गीत बनेका छन्। जुन सुने त्यही मीठो लाग्ने पूर्णिमाका गीतले नेपालमा मात्रै होइन विश्वभर छरिएर रहेका नेपालीको मन जित्न सफल भएको छ। के भनौं जिन्दगी, डाँडा पारि मेरो माया, मुटु जली खरानी भो, कस्ले बुझ्ने ? लगायतका उनका धेरै गीत करोडभन्दा बढीले हेरेका र सुनेका छन्। युट्युबलगायतका सामाजिक सञ्जालमा उनको जादुमय स्वरको तारिफ कम छैन। धेरैले लेखेका छन्, ‘यस्तो स्वरको धनी पूर्र्णिमा कतै हराएको त होइन् ?’ पूर्णिमा यो प्रश्नलाई स्वाभाविक मान्छिन्। किनकि उनी विगत तीन वर्ष स्वास्थ्य समस्याले गीत गाउन न त स्टेज चढिन्, न रेकडिङ स्टुडियो नै छिरिन्। तर, गीतसंगीतको अध्ययन र चिन्तनमा भने लागि नै रहिन्। भन्छिन्, ‘अब ठीक छु। दर्शक र श्र्रोतामाझ अब झनै मीठा गीत लिएर आउँछु।’ 

गीत राम्रो हुन सबैभन्दा पहिले शब्द राम्रो हुनुपर्ने बताउने गायिका लामा पछिल्लो समय ‘भाइरल’ हुन अपाच्य शब्दहरूका गीत पनि लेख्ने र बन्ने गरेकोमा भने चिन्तित देखिन्छन्। ‘गीतका शब्दले मन छुन सक्नुपर्छ। अनि मात्रै सबै गीत सदाबहार बन्छन्, सधैं सबैको मन छुन सक्छन्। अहिले चाँडो भाइरल हुन जे लेख्ने र गाउने प्रतिस्पर्धा नै चल्यो। यो राम्रो होइन,’ उनी भन्छिन्। 

सांगीतिक क्षेत्रबिना धागोको चंगाजस्तो उडेकोमा उनको असन्तुष्टि पनि छ। भन्छिन्, ‘यो क्षेत्रको पनि नियमन आवश्यक छ। कस्तो गाउने, कस्तो लेख्ने र कस्तो विषय दर्शकमाझ पुर्‍याउने भन्ने कुराको त नियम हुनुपर्‍यो नि। बरु यो क्षेत्रमा पनि परीक्षा जस्तो होस्। म पनि फेल भए हुँ तर, राम्रो शब्द राम्रै आवाज भएकोमा पुग्ने वातावरण त बन्नुपर्छ।’ शब्द, संगीत र स्वरको छनोट गर्न नसक्दा गीतहरू सदाबहार बन्न नसकेको उनको अनुभव छ। 

आफ्नो क्षेत्र र रुचिको विषयलाई यो क्षेत्रका सबैले माया गर्नुपर्ने बताउने पूर्णिमा आपूmले भने रुचिकै पेसा अँगालेकाले कहिल्यै पछाडि फर्कनु नपरेको सुनाउँछिन्। काठमाडौं आएर पहिलोपटक एउटा गीत गाउँदा पाएको पारिश्रमिकबापतको दुई हजार रुपैयाँलाई वर्षौंसम्म सँगालेर राखेको अनुभव साट्ने उनी मेहनत गरे यो क्षेत्रबाट गज्जबले जीवन चलाउन सकिने बताउँछिन्। ‘यो क्षेत्रले नाम, दाम र सम्मान सबै दिन्छ,’ उनी भन्छिन्, ‘तर, मेहनत भने चाहिन्छ।’ 

सानै उमेरदेखि आवाजको कदर गर्दै सम्मान र पदक पाएकी उनले सर्वोत्कृष्ट नवगायिका विधाबाट पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, सर्वोत्कृष्ट नवगायिका विधाबाट प्रथम नेपाल म्युजिक अवार्ड २०७५, सर्वोत्कृष्ट गायिका विधाबाट ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ र सर्वोत्कृष्ट गायिका विधाबाट नौ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सहित राष्ट्रियस्तरका दर्जनौं अवार्डहरू पाएकी छिन्। उनी विगत सम्झँदै भन्छिन्, ‘सानैमा विशिष्ट व्यक्तित्वहरूको हातबाट सम्मानित भएर हातभरि सम्मान बोकेर घर फर्कंदाको खुसी आज पनि मानसपटलमा ताजै छ। परिवारले पनि मलाई सधैं साथ दिएकाले आज पनि धेरै अवार्ड पाएकी छु।’

आधुनिक गीतसंगीतमा अनवरत रूपमा नै लागेर चर्चा बटुल्न सफल भएकी गायिका लामा नेपाली आधुनिक गीतसंगीतकै क्षेत्रमा थप योगदान गर्ने योजनामा सुनाउँछिन्। ‘अब त मेरो रगतमै आधुनिक गीतसंगीत बगेको छ। जीवन धान्न सकुँ वा नसकुँ गीतका शब्दलाई न्याय दिएरै यो क्षेत्रमा रहन्छु।’ उनको एउटै सपना छ, ‘आफूले गाएका गीतहरू कालजयी बनुन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.