मिनिट्रकसहित आठ सय क्युफिट काठ नियन्त्रण, पाँच जना पक्राउ
नुवाकोट : नुवाकोटमा विभिन्न स्थानबाट अवैध रूपमा कटान गरिएका सयौं क्युफिट सालको काठसहित पाँच जना पक्राउ परेका छन्।
उनीहरूलाई शिवपुरी र सुर्यगढीबाट नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ।
शिवपुरी गाउँपालिका–८ मा बा४ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए। उनका अनुसार सो स्थानबाट बरामद गरिएको सालको काठ एक सय आठ कयुफिट रहेको छ।
सालको काठ, मिनिट्रकसहित काजिवहादुर तिवारी, शोभित थपलिया र वसन्त तामाङलाई पक्राउ गरिएको अधिकृत कोइरालाले बताए।
यस्तै, सूर्यगढी गाउँपालिका–३ फलाटे नजिकै २६ थान सालको रुखको २१० गोलिया अर्थात सात सय क्युविट सालको काठसहित नन्दबहादुर तामाङ र चन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ।