असल शिक्षक

शिक्षकको एउटा बोलीले उनीहरूमा जादुको काम गरिदिन्छ र गहिरो छाप छोडिदिन्छ।

असल शिक्षक

केही दिनअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो। जसमा तराईको कुनै ठाउँका जनप्रतिनिधिले एकजना शिक्षकलाई भोजपुरी भाषामा निक्कै गाली गरिरहेका थिए। उनले भन्न खोजेको कुरा मैले राम्ररी नबुझे पनि उनको हाउभाउ र चर्काे बोलीले उनी निक्कै रिसाएका थिए भनेर बुझ्न नसक्ने अवस्था थिएन। एकजना गाली गरिरहेका थिए अर्का गाली खाइरहेका थिए। त्यहीँ अगाडि टुलुटुलु हेरिरहेका थिए अबोध बालबालिकाहरू। मैले त्यो भोजपुरी भाषा नबुझे पनि ती बालबालिकाको त्यो मातृभाषा थियो उनीहरू सहजै बुझ्न सक्थे त्यो भाषा। होला ती शिक्षकको केही गल्ती थियो होला र नै ती जनप्रतिनिधि त्यसरी चिच्याएका थिए।

तर, बालबालिकाको अगाडि नै त्यसरी कराउनु, गाली गर्नु कतिको जायज थियो ? आफ्नो गुरुलाई कसैले आफ्नै अगाडि त्यसरी अपराधी बनाइदिँदा ती कलिला मस्तिष्कहरूले के बुझे होलान् ? भोलि तिनै शिक्षकबाट पाठ घोकिरहँदा वा नयाँ कुरा सिक्दा उनीहरूको सोचाइ कस्तो रहँला र उनीप्रति बालबालिकाको विश्वास कस्तो रहँला ? अहिले हामी सबैलाई ‘हिरो हुनु परेको छ। सबैको आँखा अगाडि पर्नु परेको छ यसो भन्दैमा हाम्रो अगाडि भएका अरू कोही अझ भनांै बालबालिकाहरू छन् भने उनीहरूलाई कस्तो असर पर्ला ? के उनीहरूले आफ्नो अगाडि गाली खाएका जो कसैलाई सहजै स्विकार र विश्वास गर्लान् ? बच्चाहरूले आफ्नो शिक्षकलाई जहिलै हिरो ठानेका हुन्छन्। उनीहरूलाई आफ्ना गुरुले भनेका कुरा नै सत्य लाग्छन्।

मेरो छोरो एक कक्षामा पढ्दा कुनैे शब्दलाई गलत तरिकाले उच्चारण गरिरहेको थियो। दुई, चार, पाँच पटकसम्म गलत उच्चारण गरेको सुनेपछि मैले भने ‘बाबु त्यो त्यस्तो होइन यस्तो हो तिमी गलत उच्चारण गर्दैछांै।’ तर उसले मैले भनेको कुरै मानेन ऊ भन्दै थियो ‘फलानो शिक्षकले यही भन्नु भएको छ यही सही हो।’ मैले दुईचार पटक सम्झाउँदा पनि ऊ मान्दै मानेन। उसको रटान थियो ‘शिक्षकले भनेको कुरा कसरी गलत हुन्छ ?’ अनि मैले उस्लाई स्कुलमा गएर शिक्षकलाई मामुले त यस्तो पो भन्नु भयो मामुलाई केही कुरा थाहै छैन भनेर सुनाउनु है ? भनेर पठाएँ। बेलुका उस्ले त्यो वाक्यलाई सही उच्चारण गर्‍यो। मैले पछि केही सोधिन स्कुलमा उस्ले भन्यो कि अर्थात् ती शिक्षकले नै सच्याए।

यो उदाहरणबाट प्रस्ट हुन्छ आफ्नो गुरुलाई बालबालिकाले कति भरोसा गर्छन्। शिक्षकको एउटा बोलीले उनीहरूमा जादुको काम गरिदिन्छ र गहिरो छाप छोडिदिन्छ। बालबालिकाहरूको सिकाइ घेरै प्रतिशतसम्म उस्ले शिक्षकलाई हेर्ने दृष्टिकोणमा पनि भर पर्छ। बालबालिकहरू जुन शिक्षकसँग खुसी छन्। जसलाई मन पराउँछन् उनै शिक्षकसँग छिटो सिक्छन् र गहिराइमा डुबेर सिक्छन्। तर, आफ्नै अगाडि आफ्नो, आफूले सुपर हिरो मानिरहेको शिक्षकले गाली खाइरहँदा कतिको प्रभावित हुन्छन् होला ती बालबालिका ?

यो एउटा पाटो रह्यो। अर्काे पाटो छ कतिपय शिक्षकहरू गुरुको नाममा कलंक नै छन्। विद्यार्थीलाई यातना दिनेदेखि लिएर यौन दुव्र्यवहार गरिरहेका घटनाहरू हामीले बारम्बार सुनि नै रहेका छौं। आँखा फोडिदिनेदेखि लिएर छात्राहरूलाई होटलको कोठासम्म पुर्‍याउने शिक्षकका कहालीलाग्दा समाचारहरू प्रायः पढी नै राखिएको हुन्छ। भर्खरै मात्र राजधानीकै एउटा स्कुलका एक शिक्षकको यस्तै कर्तुत बाहिर आइरहेको छ। तर, जसरी समाचार आउँछ। त्यसरी नै घटना सामसुम पारिन्छ। कति पीडकहरू राजनैतिक संरक्षणमा रहेका हुन्छन्। कति पीडितलाई डर धम्की दिइन्छ र प्रलोभनमा पारिन्छ। गुरुलाई समाजले बुवाआमा भन्दा माथिल्लो दर्जा दिएको छ। तर, जब स्कुलमै गुरुको रूपमा यस्ता राक्षस भएपछि जो असल गुरु छन् उनीहरूसमेत बदनाम भएका छन्। गुरु शब्दप्रतिको विश्वास घटेको छ। कम्तीमा एउटा गुरुले म गुरु हुँ भन्ने मात्र सोचिदिए मात्र पनि यस्ता घटनाहरू घट्ने थिएनन् कि ?

कोही यस्ता शिक्षक पनि छन् जसले नाम र दामको ख्यालै नगरी आफ्नो सम्पूर्ण समय बालबालिकालाई पढाउन र स्कुललाई सुधार्नमा लगाएका छन्। मैले मेरै स्कुले जीवनमा पनि कति मेरा आदर्श शिक्षकलाई नियाल्न पाएँ। जसले नयाँ तरिकाले पढाउनेदेखि स्कुलको सरसफाइमा उत्तिकै ध्यान दिएका थिए। अहिलेसम्म उहाँहरूलाई भेट्दा फोन गर्दा उत्तिकै ऊर्जा मिल्छ जुन ऊर्जा स्कुले जीवनमा मिल्थ्यो। उसो त हेर्दै दिक्क लाग्ने र क्लासै बहिष्कार गर्न मन लाग्ने शिक्षकहरू नभएको होइनन्। उनीहरू भने अहिले कोही पनि मेरो सम्पर्कमा छैनन्। सम्झिने भनेको असल कामलाई नै हो रहेछ।

अमेरिकी शिक्षाविद् एवं कलाकार जुलिया वेबर गर्डनले अमेरिकाको सुदूरवर्ती पहाडी ग्रामीण बस्तीको एकल शिक्षकीय स्कुल स्टोनी ग्रोभमा चार वर्ष बिताउँदा लेखेको डायरी पुस्तकका रूपमा आएपछि मेरो हात परेको थियो। गर्डनको त्यो पुस्तक यति प्रेरणदायी छ। सो पुस्तक पढ्दा उनीजस्ता असल शिक्षकहरूप्रति श्रद्धाले यसै शिर झुक्छ। गर्डन असल शिक्षक मात्र नभएर उत्प्रेरणाकी खानी पनि रहिछन्। असल शिक्षक र असल शिक्षाले बालबालिकाको जीवनमा महत्त्वपूर्ण सुधार ल्याउन सक्छ भन्नेमा उनको अप्रतिम विश्वास रहेछ। उनको स्कुल डायरी पढ्दा रचनात्मक शिक्षणको रोमाचक अनुभव हुन्छ। यसमा आम विद्यार्थी, अभिभावक र शिक्षकको मनोविज्ञानमात्रै नभएर सामाजिक कौशल र व्यावहारिक जीवनका पाटाहरू पनि खोतलिएको छ। नेपालका सार्वजनिक विद्यालयहरूका लागि गर्डन रोलमोडल नै हुन सक्छिन् यदि सरकारी स्कुलका शिक्षकले उनको यो कार्यलाई अनुशरण गर्ने हो भने।

उनी त्यो स्कुलमा पुग्दा स्कुल विरक्तलाग्दो थियो। एउटै पुस्तक बालबालिकाहरूले पटकपटक पढिसकेका थिए। शिक्षकप्रति विद्यार्थीहरू विरक्तिएका झैंदेखिन्थे। तर गर्डनले बालबालिकाहरू माँझ घुलमिल भएर। साथी जस्तै बनेर जादुमय तरिकाले त्यो स्कुल र बालबालिकाको मुहार फेरिदिइन्। फेरि अरू धेरै बालबालिकाको रोजाइमा यो स्कुल पर्‍यो। यो सबै गर्डनको कामप्रतिको लगावको नतिजा थियो। एक असल शिक्षकले बालमनलाई जितेको थियो।  नेपालको सन्दर्भमा हेर्ने हो भने धेरैजसो शिक्षकलाई बालबालिकासँग कस्तो व्यवहार गर्ने भन्ने नै थाहा छैन। उनीहरूलाई कसरी आफ्नो नजिक राखेर अध्यापन गराउने नै थाहा छैन। मेरो बुझाइमा भन्नुपर्दा शिक्षकहरूलाई तालिमको नै अभाव देखिन्छ। केही अगाडिसम्म बच्चाहरूलाई थर्काएर र कुटेर पढाउने चलन थियो। अहिले आएर यो क्रम भने घटेको छ। बालबालिकाका विषयमा आवाजहरू उठ्ने गरेका छन्। यसलाई सकारात्मक सुरुवातको रूपमा हेर्न सकिन्छ।

अर्काे महत्त्वपूर्ण कुराचाहिँ अहिले जोसुकै बच्चालाई सोधे पनि उ भन्छ म डाक्टर, इन्जिनियर, हाकिम बन्छु भन्छ। तर म शिक्षक बन्छु भनेको मैले कहिले कतै सुनेको छैन। यो के कारणले होला ? हामीले कहिले सुन्न पाउने होला बालबालिकाले गर्वका साथ भनेको ‘म असल शिक्षक बन्छु !’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.