नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाइयो
नुवाकोट : माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाईको आयोजना गरिएको छ।
यसपटक तारुकामा १६ हल गोरु जुधाइएको छ। यहाँ ३५ वर्षदेखि गोरु जुधाई मेला आयोजना हुने गरेको छ। तारकेश्वर गाउँपालिका-३ चन्दनीमा यस पटक महोत्सवका रूपमा गोरु जुधाई मेला गरिएको हो।
नुवाकोटमा माघे सङ्क्रान्तिमा सदियौं पुरानो पहिचान, नमूना, पर्व र पहिचानका रूपमा गोरु जुधाइने गरिएको छ। गोरु जुधाई सोमबार पनि हुने महोत्सव आयोजक समिति अध्यक्ष तथा गोरुपालक किसान मदनकुमार श्रेष्ठले बताए।
पन्चकन्या गाउँपालिका- ३ पिपलडाँडामा ११ हल गोरु जुधाइएको आयोजक समितिका संयोजक गणेश खनालले बताए। विदुर नगरपालिका- १० बेत्रावतीमा यस वर्ष ९ हल गोरु जुधाइएको छ।
मेला अवलोकन गर्न नुवाकोटसहित रसुवा, काठमाडौं, धादिङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेबाट समेत आएका छन्।