खुम्बुमा अफसिजनमा पनि पुग्न थाले पर्यटक
सोलुखुम्बु: हिमपात नभएपछि सगमारमाथा क्षेत्रमा फाट्टफुट्ट मात्रामा विदेशी पर्यटक आउन थालेका छन्।
पछिल्लो तीनदिनमा ९५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। जसमा विदेशी पर्यटक ७१ जना, नेपाली पर्यटक २ जना, पोटर १८ जना र गाईड ४ जना खुम्बु पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिए।
उनीहरूबाट २ लाख १५ हजार १५० रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ। हिँउ पर्दा चिप्लने तथा पदमार्ग समेत पुरिने भएकाले विगतका वर्षमा अफसिजनमा पर्यटक खुम्बु क्षेत्र जाँदैनथे।
अहिले हिउँ नपरेकाले सोलुखुम्बुको टाक्सिन्दु हुँदै पर्यटक क्रमश: खुम्बु क्षेत्र गईरहेको अधिकृत उपाध्यायले बताए। कतिपय भने तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं आवजावत गर्ने गरेका छन्। अहिले खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जाडो छल्न बाहिरी जिल्ला तथा राजधानी काठमाडौं गएका छन्। जसले खुम्बु क्षेत्रको अधिकांश होटलबन्द छन्।