कवितामा श्रमको वकालत

समीक्षा

कवितामा श्रमको वकालत

 ‘शाश्वत आकृति’ नामक कविता संग्रह राधा कार्कीको तेस्रो साहित्यिक कृति हो। झापा दमककी उनले सबै विधामा कलम चलाए पनि कवितालाई न्याय गरेकी छन्। शाश्वतमा नेपाली लोकजीवन, श्रमको सौन्दर्य र नारी पीडा र चेतनाको लय उन्ने र बुन्ने कर्मले प्राथमिकता पाएको छ। ५२ वटा गद्य कवितामार्फत उनले समाजका विभिन्न तह र तप्काको वर्णन विवेचना गरेको पाइन्छ। जसमा कवि राधाले आफूलाई गद्यलयभित्र पनि पर्याप्त परिकार प्रस्तुत गरेको देख्न सकिन्छ।

सस्ता प्रेमको विषयमा बर्खामा च्याउ उम्रेसरि प्रकाशित कविता कृतिमाझ उनले काव्यिक कर्ममार्फत आफ्नो पृथक् उपस्थिति जनाएकी छन्। उनको लक्ष्य समतामूलक समाजको निर्माण र न्यायको सही ढंगले निरूपण हुनुपर्ने विषयमा केन्द्रित छ। प्रकृतिलाई पुज्नु भनेको प्रकृतिको रक्षा गर्दै जीवनस्तर र चेतनास्तरमा गुणात्मकता ल्याउनु हो भन्ने ठहर उनका कवितामा पाइन्छ। मान्छे प्रकृतिबिना एकैछिन पनि अस्तित्वमा रहन नसक्ने जिकिर गर्दै उनी भन्छिन् :

रम्छु म प्रकृतिकै काखमा

जहाँ सपनाहरू फुलुन्
मनहरू सुसेल्दै लुकामारी खेलुन्
झुसिल्किराले काँचुली फेरुनन्।
र जिन्दगीले गाउन सकोस्
प्रितका मीठा गीत। (पृ. ३१)

कवि कार्की आफूजस्तै देश र देशजस्तै आफू भएको विचार विवेचना गर्छिन्। प्रकृतिको पूजा होइन, संरक्षण गर्न सके मानिसले प्रकृतिबाट धेरै लाभ लिन सकिनेतर्फ उनको ध्यान पुगेको देखिन्छ। मान्छेलाई उनी भिन्न देख्दिनन्। उनी दृढतापूर्वक भन्छिन्, ‘मान्छेले प्रकृतिको नियममा रहेर चल्ने कुरा नै साँचो कुरा हो।’ प्रकृतिको गीत गाउँदागाउँदै आफैंलाई नै प्रकृतिको उदारहण पेस गर्न पुग्छिन् कवि।

करोडौंको भीडमा पनि
म त्यही धुनको खोजीमा हुन्थें
खुसीहरू सर्सेला खेल्दै
कोरस थप्थे उसकै लयमा। (पृ. ३६)

आखिर हावा, पानी, सूर्यको ताप मान्छे निर्मितको पर्याय नै त हो। मान्छेको आयु यसैमा निर्भर छ। मान्छे पनि त सन्तानको सुखमा रमाउँछ। प्रकृतिमैत्री बने प्रकृतिले मान्छेप्रति अन्याय थोपर्दैन। मान्छे–मान्छेबीच नारी र पुरुष, धनी र गरिब, दलित र गैरदलित, पहाडी र मधेसी, सुदूर र केन्द्र आदिको नाममा हुने विभेदले मान्छेलाई थिलथिलो बनाएको छ।

लैंगिक विभेद र जातीय विभेदको जरा तल–तलसम्म पुगेर मान्छेको मस्तिष्कमा विभेदकारी चेतना जीवित तुल्याइरहेको छ भन्ने कवि राधा कार्कीको निष्कर्ष छ।

नेपाली समाजमा रहेको विभेद वर्गीयमात्र छैन, यहाँ त लैंगिक विभेद र जातीय विभेदको जरा तल–तलसम्म पुगेर मान्छेको मस्तिष्कमा विभेदकारी चेतना जीवित तुल्याइरहेको छ भन्ने कविको निष्कर्ष छ। नारीले पुरुषसरह अधिकार प्राप्त गरेको भनिए पनि वास्तविक जीवनमा सग्लो चित्र देख्न नपाएकोतर्फ उनको कटाक्ष छ :

आजकल, लाग्न थालेको छ कान्छीलाई
सल्काउनु पर्छ डढेलो
ती कुरूपता ओढेको दृष्टिहरूमा। (पृ. ४१)

शाश्वत आकृतिले मानवीय प्रेम र मानव श्रमको गाथा गाएको छ। श्रमिकप्रति गरिने विभेदपूर्ण व्यवहारको विरोध उनका रचनाको मूल क्षेत्र हो। श्रमको सम्मानमा राज्यले अभिभावक भएर भूमिका निर्वाह गर्न नसकेकोप्रति उनको आक्रोश कलात्मक कविता बनेर उत्रिएको छ। पसिनाले शरीर भिजाउने आधा पेट खाएर श्रम गर्न बाध्य रहेको र शोषण गर्नेहरूको जीवनशैली दिनप्रतिदिन उचालिएको प्रमाण उनले पेस गरेकी छन् :
ए समय !

तैंले त बुझ्नुपर्ने पसिनाको मूल्य !
कान्छाको शरीरबाट
कत्रो भेल बग्यो होला पसिनाको !
कत्रो दह बन्यो होला रगतको ! (पृ. ४३)

कवि जीवनयात्रामा भोगिएको वा व्यहोरिएको पीडालाई कलाको सहाराले काव्य निर्माण गर्न तम्सिएको महसुस पाठकलाई हुन्छ। सत्तारूपी शक्तिको आडमा मान्छे मान्छेमाथि शासन गर्छ, प्रशासन चलाउँछ, शक्तिहीनहरूलाई लुट्छ र लुटिरहन्छ। के त्यो हामीले हेरिबस्ने हो र ! उनका शाब्दिक बाँणले त्यस्ता गतिविधिको उच्छेद गरेको छ।

कविको लक्ष्य समतामूलक समाजको निर्माण र न्यायको सही ढंगले निरूपण हुनुपर्ने विषयमा केन्द्रित छ। प्रकृतिलाई पुज्नु भनेको प्रकृतिको रक्षा गर्दै जीवनस्तरमा गुणात्मकता ल्याउनु हो भन्ने ठहर उनका कवितामा पाइन्छ।

मान्छे मान्छे भएर बाँच्न पाएको छैन। मान्छे आफ्नै अज्ञानताले पनि पछाडि परेको छ भने शोषण र दमनको चक्रले मान्छेले गरेका प्रयास असफल बनाइदिएको छ। श्रम गर्नेहरू भोकै पर्ने परिपाटीको अन्त्य नभएसम्म हाम्रो समाजले परिवर्तनको महसुस गर्न सक्दैन भन्ने यथार्थमा कविताले वकालत गरेका छन्। समाजमा सुरक्षा, न्यायमा रहेको असमानताले आज पनि सभ्य समाज बन्न अवरोध पुर्‍याइरहेकोतर्फ पनि उनी विद्रोह बोल्छिन्।

राज्य र सरकारमाथि जनताको शंकायुक्त दृष्टिकोण छ। राज्य अभिभावक बन्न सकेको छैन। सरकार असल व्यवस्थापक बन्न सक्दैन, सिक्दैन पनि। युवाहरू पढेका छन् तर सभ्य बन्न सकेका छैनन्। शासकहरू आलोपालो सत्ता भोगमा लिप्त छन्। यही र यस्तो परिस्थितिले सर्जकलाई आक्रोशित तुल्याएको छ। दशकौंदेखिको यो असमानताको स्वर दबाउने अभ्यास आज पनि भइरहेको छ। कविको कलम विद्रोहको आवाज उराल्न लागिपरेको छ। 
एकठ्ठा भएर अब
जुट्ने छन् खाना, नाना र छानाका निम्ति
श्रमको भूगोलभरि ती वीर नायकहरू। (पृ. ९९)

प्राप्त उपलब्धिलाई उल्टाउने र पुरानै लुटको साम्राज्य खडा गर्ने केही व्यक्तिको लहडलाई राजनीति भन्न नहुने र सत्य न्यायको पक्षमा लागिरहनु पर्ने अठोट कविको छ। कवि आफूलाई अपरिचित यात्रीका रूपमा उभ्याउन चाहन्छिन्। जीवनभित्रका भोगाइको परिस्थिति निकाल्न नसक्ने र व्यक्तिअनुसार दुःखको परिधि हुने संघर्षमय तथ्य कविताहरूमा प्रस्तुत भएको छ। अस्पष्ट आकृतिभित्र पनि स्पष्टता खोज्नुपर्ने वर्तमान सन्दर्भ श्रममैत्री छैन। शोषणको जालोमा परेर, अन्यायको जाँतोमा पिसिएर बाँच्नु परेको यथार्थ जीवनभित्र पनि आशाको सञ्चार गराउन उनका कविता अग्रसर देखिन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.