'स्लेट' खानी बन्द गर्न निर्देशन आएपछि थामी समुदाय चिन्तित
!['स्लेट' खानी बन्द गर्न निर्देशन आएपछि थामी समुदाय चिन्तित](https://annapurnapost.prixacdn.net/media/albums/Sleet1_20230128185918_slj46jxkwb.jpg)
दोलखा: गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखा विगु गाँउपालिका वडा नम्बर ७ आलम्पुको थामी समुदायले पुख्यौली पेशाकै रुपमा उत्खनन् गर्दै आएको स्लेट खानी बन्द गर्न भनेपछि उनीहरू चिन्तित भएका छन्।
आम्दानीको मुख्य स्रोतको रुपमा रहेको स्लेट खानी दर्ता गरेरमात्र चलाउनु भन्दै संरक्षण क्षेत्रले बन्द गरिदिएपछि समस्यामा परेको स्थानीय कालुमान थामीले बताए। स्लेट खानीको ढुङ्गा निकालेर घर छाउन मिल्ने बनाएर बेच्ने र त्यसैको आम्दानीले परिवार पाल्ने गर्दै आएको कालुमानले बताए। अब खानी नै बन्द भएपछि परिवार कसरी पाल्ने भन्ने पीरले कालुमानलाई सताउन थालेको छ।
वडा नम्बर ७ आलम्पुका ७४९ घरधुरीमा दुई सय थामी परिवारले स्लेट निकाल्ने ठाँउ छुट्टाएर सोही अनुसार बिक्री वितरणको लागि स्लेटलाई आकार दिदै आएका छन्। उनीहरूले स्लेट निकालेपछि जिल्लाका बिभिन्न ठाँउबाट आवश्यकता अनुसारको स्लेट खरीद गर्न मानिसहरू गाँउमै पुग्ने गरेका थिए।
खानीबाट दैनिक २५/३० फिट स्लेट निकालेर घरमा छाउन मिल्ने बनाएर प्रति फिट ३५ रुपैयाँसम्ममा बेच्ने गरेको कालुमानको भनाइ छ। खानी दर्ता गरेर चलाउन आफ्नो आर्थिक हैसियत नपुग्ने उनी बताउँछन्।
आलम्पु गाग्रोफुटेको स्लेट खानीबाट २०१३ सालदेखि थामी समुदायका मानिसले स्लेट निकालेर घर छाउन थालेको र २०१७ सालदेखि आर्थिक उर्पाजनको स्रोत बनाएको स्थानीयले बताए।
गौरीशङ्कर संरक्षण क्षेत्रले खानी सञ्चालनमा रोक लगाएपछि मानिसहरू स्लेट लिन गाँउमा आउन छोडेकोले अहिले सबै परिवारको झण्डै डेढ करोड बराबरको स्लेट अलपत्र अवस्थामाछ। वर्षमा सात महिना सञ्चालन हुने खानीबाट स्लेट निकालेर वर्षदिन परिवारको गुजारा हुनेको गरेको थियो। अहिले संरक्षण क्षेत्रले दर्ता गर्नुपर्ने निर्देश जारी गरेपछि स्लेट बिक्री नभएर आर्थिक सङ्कटमा परेको थामी समूदायका मानिस बताउँछन्।
अहिले पनि गाँउमा स्लेट लिन आउने मानिसले प्रति स्क्वायर फिट ३० रुपैया संरक्षण क्षेत्रलाई राजश्व बुझाएरै लाने गरेका छन्। खानीनै दर्ता गर्नुपर्छ भन्नु सिमान्तकृत थामी समुदायलाई स्लेट निकाल्न नदिने षडयन्त्रमात्र भएको स्थानीय बताउछन्। स्लेट खानीमा काम गर्न नपाईने भयो भने स्थानीय स्तरमा उत्पादन हुने आलु, कोदो र गहुँले परिवारको गुजारा तीन महिना पनि नचल्ने मकर थामीको भनाइ।
गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख मधु क्षेत्रीले स्थानीय थामी समुदायका मानिसलाई स्लेट निकाल्न बन्देज लगाउन नचाहेको तर खानी सम्बन्धि नयाँ कानुनअनुसार दर्ता गरेरमात्र उत्खनन् गर्न भनेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)