बढ्दै उद्यमशीलता

बढ्दै उद्यमशीलता

काठमाडौं : सहकारीका सदस्य सामूहिक उद्यमशीलतामा जोडिन थालेका छन्। बचत तथा ऋणमा मात्रै सीमित हुँदै आएका सदस्य पछिल्लो समयमा आयआर्जनमा जोडिन थालेका हुन्। 

गर्जो टार्न मात्रै सहकारीमा कारोबार गर्ने सदस्यको बाहुल्य भइरहेको बेला खासगरी उपत्यका बाहिरका सदस्यहरू उत्पादन तथा सेवा क्षेत्रमा जोडिन थालेका छन्। पोखराका रोयल बचत तथा ऋण सहकारी संस्थाका ९९ महिला मिलेर तीन वर्षदेखि ‘रोयल दिदीबहिनी किचन’ सुरु गरेका छन्। गत वर्षदेखि रेस्टुरेन्ट फस्टाउँदै गएको छ। व्यापार बढाउनका लागि सदस्यहरू नै किचनमा खाना खान, कार्यक्रम ल्याएर आउने गरेका छन्। ९९ जनाले प्रतिव्यक्ति २ लाख ५० हजार लगानी गरी रेस्टुरेन्ट सुरु गरेका हुन्। 

पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्धचोकमा साढे दुई करोड लगानीमा खुलेको रेस्टुराँ सहकारीकर्मीका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ। रोयल पोखरा उत्कृष्ट सहकारीअन्तर्गत पर्छ। उक्त सहकारी भिजिट गर्न देशका विभिन्न भागबाट सहकारीकर्मी आउने गर्छन्। उनीहरूलाई लक्षित गरी महिला सदस्यहरूले रेस्टुरा सुरु गरेका हुन्। सहकारीकी अध्यक्षसमेत रहेकी रुद्रकुमारी गुरुङ (मैना)को नेतृत्वमा ९९ दिदीबहिनीले किचन स्थापना गरेका हुन्। आगामी दिनमा होटल स्थापना गर्ने उनीहरूको तयारी छ। 

देशभर ३० हजार सहकारी छन्। पोखरा पर्यटकीय गन्तव्यस्थल पनि हो। यसका साथै रोयल सहकारी देशकै उत्कृष्टमध्ये एक भएकाले प्रायःजसो सहकारीकर्मी भिजिट गर्न आउने भएकाले किचनको अवधारणाको विकास भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ बताउँछन्। 

‘सहकारीकर्मीलगायत अध्ययन अवलोकन भ्रमणमा आउने भएकाले कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महसुस भएकाले रेस्टुराँ सुरु गरेका हौं’, गुरुङले भनिन्, ‘आगामी दिनमा अझै बास बस्ने व्यवस्था गराउन सकिन्छ।’

लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आउने नियम बनाइएको छ। यसले व्यवसाय बढाउन सघाउनुका साथै आफ्नो रेस्टुराँको गुणस्तरबारे जानकारी पाउन सहज हुने उनीहरू बताउँछन्। उनीहरूले १० प्रतिशत छुट पाउँछन्। रेस्टुराँमा एक सय जनालाई एकैसाथ सेवा र कार्यक्रम गर्न पनि सकिने भएकाले सहकारी जोडिएका धेरै कार्यक्रम हुने गरेको सञ्चालकहरू बताउँछन्। 

रेस्टुराँमा २० जनाले रोजगारी पाएका छन्। रेस्टुराँले गत आर्थिक वर्षमा लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिएको थियो। रेस्टुराँमा मासिक २० लाख आम्दानी हुने गरेको छ। सहकारीको भवन नजिकै रहेको उक्त रेस्टुरेन्ट दुई रोपनीमा फैलिएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले यस्ता परियोजना अरू पनि तयार गर्न सकिने बताउँछन्। संस्थाबाट १ हजार ५ सय १२ जनाले १ अर्ब ८२ करोड ३७ लाख ऋण लगेका छन्। गत वर्ष १ हजार ४४ जनाले ऋण लगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.