बालबालिकामा साइकल मोह

बालबालिकामा साइकल मोह

काठमाडौं : साइकल चलाउने बालबालिका बढ्दै गएका छन्। सानैदेखि साइकल चलाएर स्कुल जानेको संख्या बढ्दै गएको जानकारहरू बताउँछन्।

काठमाडौं सहर साइकलमैत्री नभए पनि पछिल्लो समयमा साइकल चलाउने बालबालिका तथा युवाको जमात बढ्दै गएको छ। बालबच्चादेखि युवाले साइकल चलाउन रहर गर्छन्। आफ्नो अनुकूल ठाउँमा साइकल चलाउँछन्। प्रायःजसो बालबालिका सोख र रहर पूरा गर्न साइकल चलाउँछन्।

अन्नपूर्ण पोस्ट्ले शनिबार आयोजना गरेको क्यान्सरविरुद्ध साइकल र्‍यालीमा बालबालिकाको पनि उल्लेख्य सहभागिता थियो। बालबालिकाले र्‍यालीमा रमाइ–रमाइ सहभागिता जनाए। सानो उमेर समूहका बालबालिका पनि साइकल र्‍यालीमा सहभागी भए।

साइकल प्रायः बालबालिकाको रहरको विषय हो। साइकलले स्वस्थता प्रदान गर्ने भएकाले अभिभावकले पनि बालबालिकालाई साइकल किनिदिन्छन्। आफ्नो घर वरिपरि साइकल चलाउने बालबालिका प्रायःजसो भेट्न सकिन्छ।

तीनकुनेका १२ वर्षीय युवराज जैसवाल अन्नपूर्णले आयोजना गरेको साइकल र्‍यालीमा उत्साहित भएर सहभागी भए। पहिलोपटक सहभागी भएका जैसवाल हर्षित देखिन्थे। उनले बिहान, बेलुका सधैंजसो साइकल चलाउँछन्। उनले २ वर्षदेखि साइकल चलाउन थाले। त्यस्तै, तीनकुनेकै १२ वर्षीय आयुश कार्की पनि र्‍यालीमा सहभागी हुन पाउँदा आनन्दित देखिन्थे। उनी कहिलेकाहीँ साइकल चलाउँछन्। तर, साइकल चलाउन सधैं रहर लाग्ने गरेको उनी सुनाउँछन्।

तीनकुनेका १६ वर्षीय स्वर्णिम खत्री विगत ५ वर्षदेखि साइकल चलाउँदै आएका छन्। ९ कक्षामा अध्ययनरत खत्री भीडभाडमा साइकल चलाउँदा डर लाग्ने गरेको बताउँछन्। ‘मुटु धुकधुक हुन्छ, दुर्घटना होला भन्ने डर लाग्छ’, उनले भने। २÷३ जनाको समूह बनाएर उनी साइकल यात्रा गर्छन्। त्यसैगरी, चौमती स्वंम्भुका ९ वर्षीय युनिक महर्जन शनिबार र्‍यालीमा आधा रुट साइकल चलाए। उनले एक घण्टा साइकल चलाउँदा थाकेपछि फर्केको सुनाए। ‘साइकल चलाउँदा आनन्द आउँछ। रमाइलो लाग्छ। तर, र्‍यालीमा पूरा समय चलाउन सकिनँ’, उनले भने। उनले गत वर्ष जन्मदिनका अवसरमा साइकल उपहार पाएका थिए। उनी घरबाट पसल जाँदा सधैं साइकल चलाउँछन्। ‘साइकल नियमित चलाउँछु। साइकल चलाउँदा धेरै आनन्द आउँछ।’

चतस्बिर : सुनिता डंगोल।

झण्डै १६ सय साइकल र्‍यालीमा सहभागी हुँदा १० वर्ष मुनिका बालबालिका पनि उत्साहित भएर साइकल चलाए। ११ वर्षदेखि २० वर्ष उमेर समूहका पनि साइकलमा रमाए। युवा पुस्तामाझ साइकलको लोकप्रियता बढ्दै गएको छ। २१ वर्षीय राजेन्द्र बडुवाल पनि साइकल र्‍यालीमा पहिलोपटक सहभागी हुन पाउँदा हर्षित देखिए। सुरुमा गाह्रो भए पनि विस्तारै सहज भएको उनले अनुभव सुनाए। उनले २ वर्षदेखि साइकल चलाउन थाले। बडी एक्ससाइज हुने भएकाले साइकल चलाउने गरेको उनले सुनाए। स्वास्थ्य राम्रो हुने भएकाले उनले नियमित साइकल चलाउने गरेको अनुभव सुनाउँछन्।

त्यस्तै, साइकलले दिमाग फ्रेस हुने भएकाले सधैंजसो चलाउने गरेको २३ वर्षीय जीवन श्रेष्ठ बताउँछन्। कोरोनाअघिदेखि साइकल चलाउन थालेको उनले सुनाए। ‘कोरोनापछि नियमित साइकल चलाउँछु। साइकलले मलाई स्वस्थ बनाएको छ’, उनले भने। फिटनेस बनाउने भएकाले साइकल चलाउनु उपयोगी भएको उनको बुझाइ छ। ‘साइकल चलाएर हरेक दिनजसो हामी घुम्न जान्छौं। जंगलमा यात्रा गर्दा औधी आनन्द आउँछ।’ उनी साइकल चलाएर काठमाडौंबाट ककनीसम्म पुग्छन्।

२४ वर्षीय सरोज तामाङ साइकल र्‍यालीमा पहिलोपटक सहभागी हुन पाउँदा निकै हर्षित देखिएका थिए। यसरी ठूलो समूहमा र्‍यालीमा सहभागी हुन पाउँदा मन प्रफुल्ल भएको सुनाए। ‘आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुने आशा जागेको छ’, उनले भने, ‘साइकल चलाउँदा सोच्ने शैलीमा फरक पर्छ,सिर्जनशीलता बढाउँछ।’ स्वस्थ भएपछि मनोबल बढ्नुका साथै आत्मविश्वास बढ्ने गरेको उनले बताए। ‘साइकल चलाउँदा आफै मोटिभेट भइन्छ। नकारात्मक कुरा मनमा आउन पाउँदैन’, उनले भने, ‘धेरै फाइदा हुने भएकाले नियमित साइकल चलाउँछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.