जरायो शिकार प्रकरण : प्रदेश सांसदसहित ४९ विरुद्ध मुद्दा
सिमरा : पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते निकुञ्ज क्षेत्रभित्र भएको जरायो शिकार प्रकरणमा ४९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। झण्डै डेढ महिना लामो अनुसन्धानपछि निकुञ्जले वन्यजन्तु शिकार प्रकरणमा ४९ जना संलग्न देखिएको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।
निकुञ्जले मुद्दा दर्ता गरेको ४९ जनाको सूचिमा दुई प्रदेशसभा सदस्यसमेत छन्। जसमा पर्सा ३(१) बाट निर्वाचित प्रमोद जयसवाल र काठमाडौं ५(२) बाट निर्वाचित श्यामबहादुर खड्का छन्।
सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित प्रकाश केसी, संजिब शाही, सखुवा प्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, दामोदार अधिकारी, म्लाङदोङ तामाङ, सुलन मियाँ अंसारी र भोलाबहादुर पुन मगरविरुद्ध मुद्दा दर्ता गरिएको छ।
फरार रहेका कुमार लामा, बिकास सहनी र उपेन्द्र यादवसहित पहिचान नखुलेका अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले बताए । जयसवाल र खड्का, पूर्व गाँउपालिका अध्यक्ष जयसवाल, शाहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम सजाय माग गरिएको छ। उक्त दफामा कसुर ठहरिने अपराध गर्ने व्यक्तिलाई सहयोग गर्ने मतियारले कसुरदारलाई दिइने सजायको आधा सजाय हुने व्यवस्था छ।
यसैगरी, प्रकाश केसी, बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, दामोदर अधिकारी, म्लाङदोङ तामाङ, सुलन मियाँ अंसारी र भोलाबहादुर पुन मगरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (३) बमोजिम सजाय माग गरिएको छ। उक्त दफामा २० हजारदेखि ५० हजारसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।