बैतडीमा चितुवा मृत फेला
बैतडी : बैतडीमा चितुवा मृत फेला परेको छ। पाटन नगरपालिका-४ को रातामाटा जंगलमा चितुवा मृत फेला परेको हो।
बिहीबार स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। ६ फिट २ इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए।
‘अन्दाजी ६ वर्ष उमेरको पोथी चितुवा मृत फेला परेको छ, पोष्टमार्टमबाट चितुवाको मृत्युको कारण खुल्ने छ,’ कँडेलले भने।
प्रारम्भिक अनुसन्धानका क्रममा घाँटीमा कसिएको घाउ भेटिएकाले पासोमा परी मृत्यु भएको हुनसक्ने उनले बताए।
‘पासोबाट मृत्यु भएको होला भन्ने आशंका छ, घाँटीमा कसिएको घाउ भेटिएको छ, त्यहाँ नजिक पासो भने भेटिएन, विस्तृत रिर्पोटपछि थाहा हुन्छ,’ कँडेलले भने।
डिभिजन वन कार्यालयका अनुसार हालसम्म बैतडीमा १३ वटा चितुवा मृत फेला परेका छन्। बढीजसो पासोमा परेर चितुवाको मृत्यु हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
खाद्यान्न बाली जोगाउन जंगली जनावरका लागि थापेको पासोमा परेर चितुवा मर्ने गरेको प्रमुख कँडेलले बताए। बैतडी चितुवा प्रभावित क्षेत्र हो।