वीरगन्जमा अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।
महानगरले विभिन्न वडामा नक्सा पास बेगर र नक्सा पासविपरीत बनाइएका पक्की संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिएको हो।
शुक्रबार महानगरले शुक्रबार सडक अतिक्रण र मापदण्डविपरीत निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको दुईवटा संरचना हटाएको छ।
वडा नम्वर १२ स्थित बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माणाधीन संरचना महानगरले हटाएको हो।
वडा नम्वर १२ मा रहेको कित्ता नम्बर १३६ मा विनोद अग्रवालले सडक नै अतिक्रमण गरेर नक्सा पासविना नै पक्की घर निर्माण गरिरहेको पाइएपछि शुक्रबार महानगरले डोजर लगाएर उक्त निर्माणाधीन संरचना हटाएको हो।
यस्तै वडा नम्बर १४ लिंक रोड नजिकै शरण यादवले सडक अतिक्रमण गरी निर्माण गरेको पर्खाल पनि महानगरले शुक्रबार हटाएको छ।
नक्सा पास भए पनि यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरीत वाउण्ड्री वाल (पर्खाल) महानगरले डोजरले भत्काएर हटाएको हो।
यादवको नाउँमा रहेको कित्ता नम्बर ३६३ र ३६५ मा बनाइएको घरको वाउण्ड्री वाल मापदण्डविपरीत रहेकाले हटाएको मेयर राजेशमान सिंहले बताए।
यादवले मापदण्ड विपरीत निर्माण गरेको पर्खाल हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्दा दायर गरेपछि महानगरले हटाउन सकेको थिएन।
तर पर्सा जिल्ला अदालतले वादी यादवको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्दा खारेज गरेपछि महानगरले शुक्रबार डोजर लगाएर वाल हटाएको हो।
महानगरका विभिन्न वडामा मापदण्ड विपरीत बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको मेयर सिंहले बताए।
यसअघि बिहीबार पनि महानगरले वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको डोजर लगाएर भत्काएर खाली गराएको थियो।